सहकारीबाट दश अर्बको कारोबार

दमक, १० जेठ । झापामा सहकारीले बर्सेनि कारोबार बढाउँदै गएका छन् । सहकारी खुल्ने क्रम बढेसँगै सहकारी संस्थाहरूमा कारोबार बढेको छ । जिल्लामा अहिले वार्षिक १० अर्ब रुपियाँभन्दा बढीको आर्थिक कारोबार भइरहेको छ ।
सहकारी डिभिजन कार्यालय झापाका अनुसार सहकारीहरूमा बढ्दै गएको आकर्षण र लगानीका कारण कारोबारको परिणाम बढ्दै गएको हो । ‘अहिले झापामा १० अर्ब रुपियाँभन्दा बढीको कारोबार छ’ डिभिजन अधिकृत नेत्रप्रसाद घिमिरेले भने, अधिकांश सहकारी संस्थाले सहकारीका आधारभूत सिद्धान्तलाई समेत मानेका छैनन् । सहकारीमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण जोखिमसमेत बढ्दै गएको उनको भनाइ छ ।
जिल्लाका कुल ७ सय २ वटा सहकारी रहेको डिभिजनको तथ्यांकमा छ । चालु वर्षको अहिलेसम्म १ सय २५ वटा सहकारी संस्थाले अनुमति पाएका छन् । यसअघि जिल्लामा ५ सय ७७ वटा सहकारी सञ्चालनमा रहेको डिभिजन प्रमुख घिमिरेले बताए ।
तीमध्ये दमक, विर्तामोडमा मात्र करिब २ सयको हाराहारीमा सहकारीले कारोबार गरिआएका छन् । जिल्लाका क्षेत्रगत आधारलाई हेर्ने हो भने दमक, बिर्तामोड, काँकडभिट्टाबाहेक अन्य धेरैजसो सहकारी ग्रामीण क्षेत्रमा खुलेका छन् । पछिल्लो समयमा बचत तथा ऋण बाहेकका अन्य उत्पादनमूलक सहकारी थपिनेक्रम बढेको छ । तर, विभिन्न कृषि प्रयोजनमा खुलिएका त्यस्ता सहकारी संस्थाहरूले मूल कार्यनीतिभन्दा वचत तथा ऋणलाई प्राथमिकता दिँदै आएका छन् । डिभिजन प्रमुख घिमिरेका अनुसार सहकारी आफ्ना उद्देश्य अनुरूप सञ्चालन हुनुपर्छ । सहकारी क्षेत्रमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा रोकिनु पर्छ ।
उत्पादनमुखी सहकारी थपिादै
जिल्लामा कृषिबाहेक अन्य क्षेत्रमा सहकारी थपिँदै गएका छन् । पछिल्लो तथ्यांकमा कृषिमा २ सय २० वटा सहकारी दर्ता छन् । त्यस्तै दुग्धमा २०, सुपारीमा १५, जडीबुटीमा २० र चियामा ६ वटा छन् । बहुउद्देश्यीय सहकारीको संख्या १ सय २० पुगेको छ ।
त्यसैगरी २ सय ६० वटा सहकारीले वचत तथा ऋणको कारोबार गर्ने भनी दर्ता गराएका छन् । ती सबै सहकारीले बचत तथा ऋणको कारोबार भने जारी राखेका छन् ।
अनुगमन संयन्त्र फितलो
जिल्लामा बढ्दै गएको सहकारिताको अस्वस्थ्य प्रतिस्पर्धाबारे सरकारी संयन्त्र फितलो देखिएको छ । सहकारी डिभिजन प्रमुख घिमिरेले सहकारीको जोखिम बढ्न नदिने सहकारीकर्मीको दायित्व भएको प्रस्ट्याए । उनले भने, ‘संस्थालाई नियम संगत ढंगबाट चलाउन सहकारीका सबै सदस्यहरूको जिम्मेवारी हुनुपर्छ ।’
सहकारी क्षेत्रमा बढेको जोखिम हटाउन खाँचो रहेको उनको भनाइ थियो । ‘हामी एक्लैले सबै सहकारीको ढोका चाहार्न सक्दैनौँ, उनले भने, ‘अहिले सहकारीमा देखिएको असुरक्षाले समेत हामीलाई काम गर्न समस्या भएको छ । उनले सहकारीको अनुगमन गर्न आफूहरूसँग स्रोतसाधन नै पर्याप्त नभएको बताए । ’
अहिले देशभरि करिब २७ हजारका हाराहारीमा सहकारी छन् । डिभिजनसँग ६ सय कर्मचारी रहेको छ । घिमिरेका अनुसार  ६ सय जनशक्तिले यतिका संख्यामा थपिँदै गएका सहकारीलाई अनुगमन गर्न ठूलो चुनौती छ । एक अधिकृतले देशभरिका तीन हजार सहकारी संस्था हेर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया