काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले जेठ १९ गतेबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । बैंकले ६९ करोड ९० लाख रुपियाँ बराबरको सेयर जारी गर्ने भएको हो । गत साता नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको बैंकले बिहीबार आह्वान पत्र प्रकाशित गरी जेठ १९ गतेबाट सेयर जारी गर्ने घोषणा गरेको हो । सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
धितोपत्र निष्कासन नियमावलीअनुसार सामूहिक लगानी कोषलाई कुल निष्कासित सेयरको ५ प्रतिशतले हुन आउने ३ लाख ४९ हजार कित्ता ५ सय र बैंक कर्मचारीलाई ५ प्रतिशतले हुन आउने ३ लाख ४९ हजार ५ सय कित्ता छुट्याएर बाँकी रहेको ६२ लाख ९१ हजार कित्ता सेयर मात्र सर्वसाधारणमा बाँडफाँड हुनेछ । सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी २ अर्ब ३३ करोड रुपियाँ पुग्नेछ । बैंकले यो वर्ष प्रति सेयर आम्दानी ४ रुपियाँ ४१ पैसा हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार भने बैंकले १३ करोड रुपियाँ खुद मुनाफा गरेको छ । पुँजी कोष १४ दशमलव ८२ प्रतिशत र खराब कर्जा अनुपात १ दशमलव ८४ प्रतिशत मात्रै रहेको छ । बैंकले आफ्नो पुँजी लागत ५ दशमलव २२ प्रतिशत देखाएको छ भने आधार व्याज दर ९ दशमलव ८० प्रतिशत तोकेको छ । यसको मतलव मेगा बैंकबाट ग्राहकले यो दरभन्दा बढीमा कर्जा सुविधाको उपयोग गर्न पाउनेछन् ।
सेयर आवेदनका लागि छिटोमा बिक्री बन्दको म्याद जेठ २२ गतेसम्म रहेको छ । धेरै सर्वसाधारण मेगाको सेयरको प्रतिक्षामा रहेको हुनाले आवश्यकभन्दा बढी आवेदन पर्ने निश्चित देखिएको छ । देशभरका विभिन्न बैंक र मर्चेन्ट बैंकरका ६९ कार्यालयबाट मेगाको सेयर आवेदन फारम लिन र फारम भरेर बुझाउन सकिनेछ । ५ हजारदेखि २ करोड रुपियाँको सेयर किन्न आवेदन दिन सकिनेछ । आवश्यकभन्दा बढी आवेदन परेमा आवेदकलाई समानुपातिक अनुपातमा घटाएर सेयर बाँडफाँड गरिनेछ । समानुपातिक रूपमा सेयर बाँडफाँड गर्दा १० कित्ताभन्दा कम सेयर पर्ने देखिएमा यस समूहलाई भने पुरानै चिठ्ठा प्रणालीअनुसार सेयर बाँडफाँड गरिनेछ । कमर्ज एन्ड ट्रस्ट बैंकको सेयर आवेदन गर्दा ९ हजारसम्म सेयर आवेदन गर्ने आवेदनकर्तालाई चिठ्ठा प्रणालीमार्फत सेयर बाँडफाँड गरिएको थियो भने एनएलजी इन्स्योरेन्सको सेयर आवेदन गर्दा २६ हजारसम्म सेयर आवेदन हाल्ने आवेदनकर्तालाई चिठ्ठा प्रणालीअनुसार सेयर बाँडफाँड गरिएको थियो ।
यसवर्ष सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये तीन वाणिज्य बैंकले सेयर निष्काशन गरेर सूचीकृत गरिसकेका छन् । जनता बैंकको सेयरको लागि करिब ३ गुणा, सिभिल बैंकको लागि सात गुणा र कमर्ज एन्ड ट्रस्टको सेयर निष्काशन हुँदा करिब १४ गुणा आवेदन परेको थियो । नबिल बैंकमा लामो समय प्रमुख कार्यकारी भएर मेगा बैंकमा प्रमुख कार्यकारी हुन पुगेका अनिल शाहका कारण लगानीकर्ताहरूमाझ मेगा बैंकको सेयर चर्चित छ ।
प्रतिक्रिया