नियम मिच्ने पब्लिकेसनमाथि नाम मात्रको कारबाही

काठमाडौं, १० जेठ । मापदण्डविपरीत पुस्तक छाप्ने तथा चर्को मूल्यमा बिक्री गर्ने निजी पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले कारबाहीको नाममा सचेत मात्र गराएर झारा टारेको छ । मापदण्डविपरीत पुस्तक बिक्री गर्नेहरूको अनुमति खारेज गर्ने व्यवस्था भए पनि केन्द्रले त्यस्ता पब्लिकेसनलाई कारबाही नगरी सचेत मात्र गराएको पाइएको छ ।
केन्द्रले एक महिनाअघि स्पष्टीकरण सोधे पनि नियम मिच्ने पब्लिकेसनहरूले चित्तबुझ्दो जवाफ दिएका थिएनन् । ती पब्लिकेसनले नयाँ मूल्यबारे थाहा नभएको, पुरानो स्टक जस्ता जवाफ केन्द्रलाई दिएका थिए । चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्ने भने पनि केन्द्रले सचेत मात्र गराई झारा टार्ने काम गरेको हो । केन्द्रले त्यस्ता पब्लिकेसनलाई लिखित र मौखिक रूपमा सचेत मात्र गराएको पाइएको छ । केन्द्रले १८ वटा पब्लिकेसनलाई स्पष्टीकरण सोधेको थियो । केन्द्रका कार्यकारी निर्देशक बालकृष्ण रंजितले सुधारका लागि ती पब्लिकेसनलाई सचेत मात्र गराइएको जानकारी गराए । ‘एकैचोटी कारबाही गर्न भएन । अहिले सचेत गराएका हौँ,’ रञ्जितले भने, ‘एकपटक सुध्रन मौका दिएका छौँ ।’
केन्द्रले नियमविपरीत काम गर्ने पब्लिकेसनको अनुमति पत्र रद्दसम्मको कारबाही गर्ने व्यवस्था छ । तर, कारबाही नगरेर केन्द्रले जेबिडी र सिर्जना इन्टरपब्लिकेसनलाई लिखित र अन्यलाई मौखिक रूपमा सचेत मात्र गराएको छ ।
वैशाख पहिलो साता अनुुुुुुुुुगमन गर्दा ती पब्लिकेसनले तोकेभन्दा बढी मूल्य लिने, मूल्यमा स्टिकर टास्ने गरेको, प्रकाशन मिति नराखेको, पुस्तकको साइजअनुसार नछापेको पाइएको थियो । तर, मापदण्डविपरीत काम गरेको पाउँदा पनि केन्द्रले कारबाही नगरी त्यतिकै छाडेको छ ।
एसिया पव्लिकेसन, मेघा, एकता, जय, क्याम्ब्रिज, एरावती, रिडमोर, संगम स्टेन्डर्ड, युनाइटेड, प्याब्सन, बुद्ध, आठराई, जेविडी र विद्यार्थी पब्लिकेसनलगायतले मापदण्ड मिचेर पुस्तक छापेका थिए । कुनै पब्लिकेसनले डबल कलरको किताब छापेर मल्टिकलरको पैसा लिएको फेला परेको थियो । एसिया प्रकाशनले कक्षा ३ को जिके पुस्तकको आधा सादा र आधा मल्टिकलरमा पुस्तक छापेको भेटिएको थियो । विद्यार्थी र संगम प्रकाशनले कक्षा ९ र १० को पुस्तकमा केन्द्रले तोकेको साइजमा छापेका थिएनन् ।
केन्द्रले पुसदेखि  प्रतिपेज सादा ९४.५ पैसा, डबल कलर एक रुपियाँ १० पैसा र मल्टिकलर एक रुपियाँ ३१ पैसा निर्धारण गरेको छ । त्यस्तै साइज १८ गुणा २४ र ७० ग्रामको कागज प्रयोग गर्न भनिएको थियो । अनुगमनका क्रममा एरावती, रिडमोर र संगम पब्लिकेसनले डबल कलरको किताब छापेर मल्टिकलरको पैसा लिएको फेला परेको थियो । ती पब्लिकेसनले कक्षा ६ र ७ का पुस्तकमा डबल कलर राखेर मल्टिकलरको पैसा लिएका थिए । रिडमोरले कक्षा ८ को लेखा विषयको मूल्यमा स्टिकर टास गरेको छ ।
अनुगमनमा जेबिडी र क्याम्ब्रिजले कक्षा ९ को गणितमा बढी मूल्य लिइएको देखिएको थियो । उनीहरूले एक सय ९६ हुनुपर्नेमा दुई सय २५ रुपियाँ लिएका थिए । एसिया प्रकाशनले कक्षा ३ को जिके पुस्तकको आधा सादा र आधा मल्टिकलरमा पुस्तक छापेको भेटिएको छ । विद्यार्थी र संगम प्रकाशनले कक्षा ९ र १० को पुस्तकमा केन्द्रले तोकेको साइजमा छापेका थिएनन् । संगम प्रकाशनले कक्षा ८ र ९ का कुनै पनि  पुस्तकमा मिति नराखी छापेको छ ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी कारबाही नगरी त्यतिकै छाडेर झन् पब्लिकेसनकै अनियमित कामलाई सघाउ पुर्‍याएको बताउँछन् । ‘नियम मिच्नेलाई कारबाही नगरेर केन्द्रले उन्मुक्ति दिएको छ,’ भण्डारी भन्छन्, ‘यसले  पब्लिकेसनलाई बचाएर उल्टो अभिभावक र विद्यार्थीविरुद्ध लागेको देखिन्छ ।’

प्रतिक्रिया