संगठन दर्तामा किचलो

TUकाठमाडौं, १० जेठ । यही २३ जेठमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि संगठन दर्तामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले अवरोध पुर्‍याएको छ । संगठन दर्ताको अन्तिम दिन बिहीबार केन्द्रीय क्याम्पसमा नेकपा–माओवादीनिकट विद्यार्थीको कुटाइबाट एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी गम्भीर घाइतेसमेत भएका छन् ।
नेकपा–माओवादीनिकट क्रान्तिकारीले लगाएको ताला खोल्न खोज्दा झडप भएको थियो । ताला जवरजस्ती खोल्न खोज्दा नेकपा–माओवादीनिकट विद्यार्थीको कुटाइबाट एमाओवादीनिकट क्रान्तिकारीका त्रिवि इकाइ सदस्य मोहन भण्डारी गम्भीर घाइते भएका हुन् । बिहान ८ बजेतिर त्रिविको निर्वाचन कार्यालयतिर जाँदै गरेका बेला नेकपा–माओवादीनिकट विद्यार्थीले कुटपिट गरेको अर्का क्रान्तिकारीका इकाइ अध्यक्ष भीम भूर्तेलले जानकारी गराए । टाउकोमा गम्भीर चोट लागेका भण्डारीको काठमाडौं मोडेल अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
‘आज (बिहीबार) संगठन दर्ता गर्ने अन्तिम दिन भएकाले ताला खोलेर दर्ता गर्ने कुरा थियो,’ भूर्तेलले भने, ‘अनि उनीहरूले एक्कासी आएर भण्डारीमाथि कुटपिट गरे ।’
कुटपिटको घटनापछि त्रिवि परिसर बिहीबार दिनभर तनावग्रस्त बनेको थियो । दुवै संगठनका समर्थक तथा वाइसिएल कार्यकर्ता ठूलो मात्रामा त्रिविमा जम्मा भएका थिए ।  एकीकृत माओवादीनिकट विद्यार्थी ठूलो संख्यामा निर्वाचन कार्यालय वरिपरि रहेका थिए भने अर्को क्रान्तिकारीका विद्यार्थी मानविकी भवनमा थिए । दुई पक्षबीच झडप हुन नदिन ठूलो मात्रामा सुरक्षा फौज त्रिविमा दिनभरि नै तैनाथ थियो । नेकपा–माओवादीनिकट एक विद्यार्थीलाई नाइनस्टिकसहित त्रिविबाट पकाउ गरिएको कीर्तिपुरका इनिस्पेक्टर गोविन्द थापाले जानकारी गराए ।
सोमबारदेखि नै संगठन दर्ता सुरु भए पनि नेकपा–माओवादीनिकट क्रान्तिकारीले चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि एकमुष्ट रूपमा गरिएका भर्ना खारेजीको माग गर्दै ४ गतेदेखि तालाबन्दी गरेका कारण प्रभावित बनेको छ । तालाबन्दीका कारण संगठन दर्ताको म्याद शुक्रबारसम्म लम्ब्याइएको त्रिविले जनाएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले एकमुष्ट विद्यार्थी भर्ना खारेज नगरेसम्म ताला नखोलिने बताए । ‘त्रिविले आधिकारीक रुपमा एकमुष्ट भर्ना खारेजीको लागि प्रक्रिया अगाडि बढाउनुपर्‍यो,’ उनले भने । सहमतिअनुसार एकमुष्ट भर्ना खारेज नगरिएकाले ताला नखोलिएको उनले जानकारी गराए ।
बागबजारस्थित पद्मकन्या क्याम्पस दिनभरी कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका दुई कार्यकर्ताका कारण तनावग्रस्त बन्यो । दुई गुटमा देखिएको संघले अर्को पक्षलाई संगठन दर्ता गर्न अवरोध पुर्‍याएका कारण स्थिति तनावग्रस्त बनेको थियो । संघको आधिकारीक पत्र लिएर गएकी चन्द्रा अधिकारीलाई स्ववियु सभापति स्वस्तीका पोखरेल पक्षले संगठन दर्ता गर्न दिएनन् । पोखरेलले एक पक्षीय रूपमा संघको लेटरप्याड प्रयोग गरी इकाई अध्यक्षको नाममा कौशिला भट्टमा संगठन दर्ता गराएकी छन् । पोखरेल पक्षका विद्यार्थी दिनभर निर्वाचन कार्यालयमा बसी अधिकारीलाई संगठन दर्ता गर्न दिएनन् । बुधबार संगठन दर्ता गर्न खोज्दा पत्र च्यातेर अधिकारीलाई कुटपिटसमेत गरेका थिए । ‘मलाई संगठन दर्ता गर्ने जिम्मेवारी दिइएको थियो,’ उनले भनिन्, ‘तर अर्को पक्षले दर्ता गर्न दिएनन् । दर्ता गर्न जाँदा पत्रै च्यातेर फालिदिए ।’
इकाई अध्यक्ष अधिकारीले संघका अध्यक्ष केन्द्रीय रंजित कर्णको हस्ताक्षर भएको पत्र लिएर तीन दिनदेखि संगठन दर्ता गर्न खोजेकी थिइन् । अधिकारीलाई संगठन दर्ता गर्न नदिएपछि  अध्यक्ष कर्णले कौशिला भट्टलाई समर्थन गरेको पत्र क्याम्पसमा बुझाएका थिए । कर्णले संगठनको आधिकारीक दर्ता भट्टले गरेको जानकारी गराए ।
ठमलेस्थित सरस्वती बहुमुखी क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दीका कारण संगठन दर्ता हुन सकेनन् । सरस्वतीमा अनेरास्ववियु र नेविसंघका तालाबन्दीका कारण संगठन दर्ता हुन नसकेको हो । अनेरास्ववियु र नेविसंघले प्रक्रिया नपुर्‍याई गरिएका भर्ना खारेज नभएसम्म ताला नखोल्ने भएपछि संगठन दर्ता हुन सकेको छैन ।
आरआरमा पनि तालाबन्दीका कारण संगठन दर्ता हुन सकेन् । अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको कारण संगठन दर्ता हुन नसकेको हो । विद्यार्थी संगठनबीच ताला खोल्ने विषयमा छलफल भए पनि सहमति हुन सकेको छैन । राजधानीका अन्य क्याम्पसमा भने संगठन दर्ताको काम सुचारु भएको थियो ।

प्रतिक्रिया