सरकार दलप्रति वफादार छैन: अर्थमन्त्री

Shankar-Koiralaकाठमाडौं, ८ जेठ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान मन्त्रिपरिषद्लाई कुनै पनि राजनीतिक दलप्रति वफादार हुनुपर्ने वाध्यता नरहेको दाबी गरेका छन् ।
उनले राजनीतिक दलहरुप्रति वफादार हुन नपरे पछि सरकाले वित्तिय अनुशासनको मुद्दालाई प्रमुख रुपमा उठाउने बताए ।
युवा स्वरोजगार कोष सञ्चालक बोर्डको आज (बुधबार) राजधानीमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले कोषप्रति सर्वसाधारणको बुझाई नकारात्मक रहेकाले पारदर्शितालाई आफ्नो प्राण बनाउन सुझाव दिए ।
कोषबाट ऋण लिने व्यक्तिको तीनपुस्ते र सहकारी संस्थाहरुको पृष्ठभूमि वेभसाईटमा राख्न निर्देशन दिँदै उनले कोषको पाँच वर्षे गतिविधिको समीक्षा गर्ने बेला आएको बताए ।
‘बैंकर्सहरुको दादागिरीबाट कोषलाई मुक्त पार्नुपर्छ ।’ मन्त्री कोइरालाले भने, ‘आगामी दिनमा कोषले गर्ने कामको रोडम्याप लिएर आउनुस् । म जस्तो पनि सहयोग गर्न तयार छु ।’
उनले वातावरण विगार्ने काममा सहायक नबन्न पनि कर्मचारीलाई निर्देशन दिए । ‘आमाको दूध खाएर आमालाई नै सराप्ने काम  नगर्नुस,’ उनले भने ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले अरबौंको लगानी गर्ने संस्थाको धरातललाई थप मजबुत बनाउनु पर्ने बताए । उनले भने, ‘कोषको पैसा लिएपछि तिर्नु पर्दैन भन्ने अफवाहबाट कोषका पदाधिकारी मुक्त हुनु पर्छ ।’
अर्थ सचिव शान्तराज सुवेदीले एक वर्षमा ५० हजार युवालाई स्वरोजगार बनाउने उद्देश्यबाट शुरु भएको कोष बीचमै अलमलिएको बताए ।

प्रतिक्रिया