थ्रेसहोल्डमा कांग्रेस एमालेको अडान कायमै

umlकाठमाडौं, ८ जेठ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आसन्न संविधान सभा निर्वाचनमा थ्रेसहोल्डको प्रावधानलाई कायमै राख्ने सहमती भएको छ । एमाले मुख्यालय बल्खुमा दुई दलबीच भएको छलफलमा लोकतान्त्रिक प्रणालीमा थ्रेसहोल्डको व्यबस्था हुने गरेको भन्दै दुइ दलले यसबाट पछाडि नहट्ने सहमती गरेका हुन् । थ्रेसहोल्डको व्यबस्थालाई लिएर एमाओवादीसहित अन्य साना दलहरुले विरोध गरिहेका बेला कांग्रेस एमालेले भने यसको पक्षमा उभिने निर्णय गरेका हुन् । यस्तै फौजदारी अभियोग लागेको व्यक्तिलाई ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगको प्रस्तावलाई समेत यी ठूला दुई दलले समर्थन गर्ने निर्णय गरेका छन् । आयोगको यो प्रस्तावको एमाओवादीले विरोध गर्दै आएको छ ।
प्रमुख चार राजनीतिक दलहरुबीच भएको ११ बुँदे सहमती र २५ बुँदे बाधा अड्काउ फुकाउ सहमतिको अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनाए । बैठकका बारेमा जानकारी दिदै उपसभापति पौडेलले भने, ‘मंसिरभित्रै निर्वाचन सम्पन्न गराउन असन्तुष्ट राजनीतिक दलहरुबीच छलफल गर्दै चुनावी माहौल बनाउछौं ।’
एमाले नेता रघुजी पन्तले उच्चस्तरीय राजनीतिक संयन्त्र बाहिर रहेका बैद्य नेतृत्वको नेकपा माओवादी र मधेशी जनाधिकार फोरमलाई समेत समितिमा ल्याउनुपर्ने दुई दलबीच सहमति भएको जानकारी दिए । बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज हुनुपर्ने माग दुबै दलले गरेका छन् ।
दलहरुबीचको असमझदारीका कारण निर्वाचनसम्बन्धि ऐन निर्माणमा ढिलाई भईरहेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ऐनका बारेमा दलका शीर्ष नेताहरुसंग छुट्टाछुट्टै वार्ता गरेपनि सहमति हुन सकेको छैन । ऐन निर्माणमा सहमति नहुदा निर्वाचन मिति घोषणामा पनि ढिलाई हुँदै गएको छ ।

प्रतिक्रिया