एक महिनाभित्र सुरुङमार्ग निर्माण सुरु गरिने

हेटौंडा, ८ जेठ । हेटौंडा–कुलेखानी–काठमाडौ सुरुङमार्गको निर्माणकार्य एक महिनाभित्र सुरु हुने भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष एवं सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताए ।
सरकारले वैशाख ३० गते निजी क्षेत्रको स्वामित्वमा रहेको नेपाल पूर्वाधार विकास कम्पनीलाई स्वीकृति दिएपछि सुरुङमार्ग निर्माणको बाधा फुकेको भन्दै सञ्चालक लामिछानेले सरकारले मंगलबार हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने अनुमति दिए पनि अनुमतिपत्र भने मंगलबारसम्म दिने बताए । उनले भने, ‘आगामी साता अनुमतिपत्र पाउनेबित्तिकै हामी कानुन विभागको कम्पनी ऐनअन्तर्गत सर्वसाधारणमा सेयरका लागि आह्वान गर्छौं, त्यसबाट नपुग रकम हामी बैंकबाट ऋण लिन्छौँ र जसरी भए पनि समयावधिमै निर्माण पूरा गरिछाड्छौँ ।’
स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले सरकारले जिविस मकवानपुरलाई संस्थागत सदस्यमा जान र आफैँले कमाएको रकमबाट सुरुङमार्गमा लगानी गर्न पाउने अनुमति दिएकाले यसअघिकै जिल्ला परिषद्बाट २० लाख  रुपियाँ छुटयाइएको बताए । सुरुङमार्ग निर्माणका लागि जिविस मकवानपुरसहित संस्थागत रूपमा एक सय ५९ र २ सय जना सर्वसाधारणले नेपाल पूर्वाधार विकास कम्पनीको सेयर खरिद गरिसकेको कम्पनीले जनाएको छ । सर्वसाधारणतर्फको सेयर सदस्यमा काठमाडौं र मकवानपुरका स्थानीयलगायत प्रवासी नेपाली(एनआरएन) रहेका छन् भने उनीहरूको सेयरमा १० हजारदेखि १० लाख रुपियाँसम्मको हदबन्धी रहेको कम्पनीले जनाएको छ ।
लामो समयसम्म निर्माण कम्पनीलाई नेपाल सरकारले अनुमति नदिँदा चिन्तित बनेका सर्वसाधारणसँगै मकवानपुरका सरोकारवालाले सरकारको यो निर्णयको स्वागत गरिरहेका छन् । उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष भुवनलाल श्रेष्ठले सरकारले सुरुङमार्ग निर्माणका लागि दिएको स्वीकृतिको प्रशंसा गर्दै अब निर्माणमा जुट्ने समय आएको बताए ।
यसैगरी, नारायणी यातायात व्यवसायी संघले समेत सरकारको पछिल्लो कदमलाई विकासप्रेमीका रूपमा व्याख्या गरेको छ । संघका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले सुरुङमार्गले मकवानपुरवासीको मात्र नभएर देशकै मुहार फेर्ने भएकाले इन्धन खरिदको रकममा बिदेसिने गरेको नेपाली पँुजी जोगिने बताए । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले सुरुङमार्गले यहाँको विकास हुनुका साथै मकवानपुरका निर्माण व्यवसायी र मजदुरले समेत सहजै काम पाउने भन्दै सरकारले यो मार्ग निर्माणमा दिएको स्वीकृति सबै क्षेत्रका लागि फलदायी रहेको बताए । यद्यपि, हाल सोही रुट हुँदै (हेटौंडा–कुलेखानी–काठमाडौं) ३५० भन्दा बढी साना सवारीसाधन सञ्चालनमा छन् । तर, यो रुटमा चल्ने सुमोलाई ५८ किलोमिटरको दूरी पार गर्न साढे तीनदेखि चार घन्टाको अवधि लाग्ने र सुरुङमार्ग निर्माणपछि मात्र एक घन्टामा हेटौंडाबाट राजधानी पुगिने भएकाले पनि सर्वसाधारण खुसी भएका हुन् ।

प्रतिक्रिया