‘समाचार संकलनमा रोक नलगा’

Suprim Cort Of Nepalकाठमाडौ, ८ जेठ । सर्वोच्च अदालतले टेलिभिजन, रेडियो तथा अनलाइनमा कार्यरत पत्रकारलाई नियमित रिपोर्टिङ गर्न सञ्चार प्रवेश पास नदिएको भन्दै संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आपत्ति जनाएको छ । मंगलबार मञ्चले पत्रकार सम्मेलन गरी पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु अन्तरिम संविधान र लोकतन्त्रविरोधी कार्य भएकाले तत्काल सबै पत्रकारलाई समाचार संकलनका लागि सहज वातावरण बनाउन सर्वाेच्च अदालतसँग माग गरेको छ ।
मञ्चका अध्यक्ष यम विरहीले अन्तरिम संविधान र लोकतन्त्रविरोधी कार्य नगर्न सर्वोच्च अदालतलाई आग्रह गरे । पत्रकारलाई रिपोर्टिङमा अवरोध गरे अन्तर्राष्ट्रिय जगत्लाई गुहार्ने चेतावनी उनले दिए । ‘समाचार संकलनका लागि सहज वातावरण भएन भने हामी अन्तर्राष्ट्रिय जगत्सँग गुहार माग्छौँ तर हाम्रो अपेक्षा छ सर्वोच्चले आफ्नो निर्णय सच्याउनेछ,’ अध्यक्ष विरहीले भने ।
सर्वाेच्च अदालतले केही दिनअघि १६ जना पत्रकारलाई इजलासमा प्रवेश गरी समाचार संकलन गर्नलाई प्रवेश पास उपलब्ध गराएको सार्वजनिक सूचना गरेको थियो ।
त्यसको विरोधमा मञ्चले सबै पत्रकारलाई समाचार संकलनको सहज वातावरण बनाउन माग गरेको हो ।
उता, सर्वाेच्च अदालतले भने कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक नलगाएको दाबी गर्दै आएको छ । ‘यतिबेला नियमित रिपोर्टिङ गर्ने पत्रकारलाई ६ महिनाका लागि प्रवेश पास उपलब्ध गराइएको छ र आवश्यकताअनुसार रिपोर्टिङमा आउनेलाई तत्कालका लागि प्रवेश पास उपलब्ध गराउने गरेका छाँ,’ सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले भने, ‘समाचार संकलनमा रोक लगाएको भन्ने कुरामा सत्यता छैन ।’

प्रतिक्रिया