सचिव छुटाउन कर्मचारी संगठनहरु आन्दोलित

citizen ship indianराजविराज, ७ जेठ । एकीकृत घुम्ती सेवा मार्फत गैरनेपालीलाई नागरिकता दिन सिफारिस गरेको आरोपमा पक्राउ परेका गाविस सचिव छुटाउन आधा दर्जन कर्मचारी संगठनहरु आन्दोलित भएका छन् ।
भारतीय नागरिकलाई नेपाली नागरिकता दिन सिफारिस गरेको आरोपमा सोमबार प्रहरीले शम्भुनाथ गाविस र पातो गाविसको जिम्मेवारी सम्हालेका सचिव डम्वरवहादुर कार्कीलाई पक्राउ गरेको थियो ।
उनलाई छुटाउन स्थानीय निकायसँग सम्वद्ध सप्तरीका आधा दर्जन बढि कर्मचारी संगठनहरु आज (मंगलबार) देखि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका कर्मचारी संगठनहरुले पाँच बुँदे माग पुरा नभएसम्म स्थानीय निकायका कार्यालयहरु बन्द गर्ने चेतावनी दिए ।
गृहमन्त्रालयलाई पठाईएको ज्ञापन पत्रमा गाविस सचिव कार्कीलाई प्रहरीले हतकडी लगाएकोमा आपत्ति जनाईएको छ । आन्दोलित कर्मचारीहरुले राष्ट्रसेवक कर्मचारीलाई हत्कडी लगाउन नपाईने जनाएका छन् ।
भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने सचिव कार्कीलाई २४ घण्टा भित्र विनासर्त रिहा गर्न पनि उनीहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन् ।
भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्न सिफारिस गर्ने सचिवलाई रिहा गर्न दवाव दिने संगठनहरुमा गाविस सचिव हकहित संरक्षण केन्द्र, स्थानीय निकाय कर्मचारी संघ, डीन सप्तरी, गाविस कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन एकाई समिति राजविराज, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी कर्मचारी मञ्च र नेपाल राष्ट्रिय कर्मचारी संगठन रहेका छन् ।

प्रतिक्रिया