गर्मीले जुस कारोबारमा वृद्धि

धनगढी :  गर्मी मौसमसँगै यस क्षेत्रमा अहिले उखुको जुसको कारोबार बढेको छ । निरन्तर बढ्दै गएको गर्मीका कारण सास्ती खेप्न बाध्य स्थानीय सर्वसाधारण जुस पिउन बढी रुचाउन थालेका हुन् ।
जुसको माग बढ्दै जाँदा घरमा बेरोजगार भई बसेका युवायुवतीका लागि अहिले उखुको जुस आम्दानीको मुख्य स्रोतसमेत बन्न थालेको छ । कैलालीको धनगढी, अत्तरिया, लम्की, सुख्खड, टीकापुरलगायतका सहरी क्षेत्रमा झन्डै दुई सयभन्दा बढीले जुस पेल्ने मेसिन सञ्चालनमा ल्याई जुस बिक्री गर्न थालेका छन् ।
‘ग्राहकहरू जुस खान लाइनमा बस्छन्, कहिलेकाहीँ उखुको अभाव भएर पुर्‍याउनै सकिँदैन’, स्थानीय बजारमा जुस बेच्दै गरेकी रञ्जु चौधरीले भनिन्, ‘दैनिक एक सयदेखि एक सय २० गिलाससम्म जुस बिक्री हुने गर्छ ।’
जुसको व्यापार गर्न उनले कैलालीको गेटा गाविसका एक किसानसँग प्रत्येक दुई/तीन दिनमा पाँच क्विन्टल उखु खरिद गर्छिन् । किसानसँग प्रतिक्विन्टल ६ सय रुपियाँमा उखु खरिद गर्दै आएका जुस बिक्रेताले उखु पेलेर तयार हुने जुस प्रतिगिलास १५ रुपियाँमा बिक्री गर्दै आएका छन् ।
जुस बिक्रीबाट दिनभर एउटा व्यापारीले कम्तीमा एक हजारदेखि बढीमा तीन हजार रुपियाँसम्म कमाउन थालेको सम्बन्धित व्यापारीले बताएका छन् । गर्मी मौसममा जुसको खपत बढ्दै जाँदा सहजरूपमा उखु पाउन नसकिने समस्या भने व्यापारीले झेल्दै आएका छन् । उखुबाली काट्ने समय माघ/फागुन महिना भएको र फागुन अन्तसम्म सबै किसानले आफूसँग रहेको उखु बिक्री गरिसक्ने भएको हुँदा वैशाख/जेठमा जुस तयार गर्न उखु सहजरूपमा पाउन सकिँदैन ।
यसैबीच सिरहाबाट प्राप्त समाचारमा बढेको गर्मीका कारण चिसो पेयपदार्थको बिक्री बढेको छ । फ्रुटी, फ्यान्टा, स्प्राइट, मिरिन्डा, रेडबुल, बदाम जुस, रेड टाइगरलगायतका चिसो पेयपदार्थको बिक्री बढेको व्यवसायीहरू बताउँछन् ।
सिरहा धनगढीका व्यापारी मदन साहका अनुसार दुई सातायता बढेको अत्यधिक गर्मीले चिसो पेयपदार्थको बिक्री बढाएको हो । उनले भने, ‘मेरो पसलमा दैनिक पाँच हजार रुपियाँभन्दा बढीको चिसो पेयपदार्थ बिक्छ ।’ पेयपदार्थसँगै बियर र प्रशोधित पानीको माग पनि अत्यधिक रहेको उनको भनाइ छ ।
गर्मीका कारण पेयपदार्थको माग बढेपछि व्यवसायीहरू मनोमानी गर्न थालेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । इँटाटारका धर्मेन्द्र पासवान भन्छन्– पेयपदार्थ फ्रुटीको बट्टामा खुद्रा मूल्य २२ रुपियाँ लेखिएको हुन्छ । तर, व्यापारीले विभिन्न बहाना बनाएर ३० रुपियाँमा बिक्री गर्दै आएका छन् ।
व्यापारीले पेयपदार्थको बट्टामा लेखिएको मूल्यभन्दा बढी लिएर बिक्री गरे पनि सम्बन्धित निकाय मौन देखिएको छ । सिरहाका बजारहरूमा लामो समयदेखि अनुगमन भएको छैन । अनुगमन नहुँदा व्यापारीहरू आ–आफ्नो पसलमा मूल्यसूचीसमेत नराखी कारोबार गरिरहेको उपभोक्ता बताउँछन् । (सौस)

प्रतिक्रिया