दश हजार नपाउँदा क्यान्सर

उदयपुर, ७ जेठ । ‘हुनेलाई जहीँतहीँ, नहुनेलाई कहीँ न कहीँ’ यो उखान अजयको जीवनमा वास्तविक भएको छ । निर्माणको काम गर्दागर्दै लडेर घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका–११ देउरीका १७ वर्षीय अजय पंजियार उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दश हजार रुपियाँ जम्मा गर्न नसक्दा क्यान्सरको सिकार बन्न पुगेका हुन् ।
६ महिनाअघि लडेर घुँडामा चोट लागेका पंजियार उपचार अभावकै कारण क्यान्सरको सिकार बनेका हुन् । स्कुल छाडेर बिहान बेलुका छाक टार्न मजदुरी गर्दै आएका पंजियार यति बेला उपचारका लागि सबैसँग याचना गरिरहेका छन् । ‘उपचारका लागि धरान पुग्दा आफूसँग पैसा नभएकै कारण डाक्टरले फर्काइदियो,’ पीडित पंजियारले भने, ‘के अब म यतिकै मरौँ ? चाँडो उपचार नगरे क्यान्सर हुन्छ भन्दै डाक्टरले पठाइ दियो केही समयभित्र उपचार पाइन भने मेरो खुट्टा काट्नु पर्छ अनि मैले पेट कसरी पाल्नु,’ पंजियारले थपे ।
उपचार खर्च जुट्न नसकिरहेको अवस्थामा नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन उदयपुरले आर्थिक सहयोग गरेको छ ।     युनियनले आफ्नै कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका साथ क्युपेक नेपालले २५ सय रुपियाँ सहयोग गरेको छ । युनियनकै अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरिएको १९ हजार आठ सय २४ सहित २३ हजार तीन सय २४ रुपियाँ युनियनका सदस्य पर्शुराम चौधरीलाई हस्तान्तरण गरियो ।
पीडितका आफन्त भए पनि क्युपेककै निगरानीमा कोसी अञ्चल अस्पताल लैजाने तयारी भइरहेकाले चौधरीलाई रकम हस्तान्तरण गरिएको क्युपेक उदयपुरका अध्यक्ष हर्क विकले जानकारी दिए ।

प्रतिक्रिया