सचेतना अभियान सकियो

देउखुरी, ७ जेठ । कुलत तथा लागु औषध दुव्र्यसनीविरुद्ध थालिएको विद्यालय स्तरीय सचेतनाअभियान सकिएको छ । जिल्ला विकास समिति दाङ र जिल्ला खेलकुद विकास समितिको सहयोगमा दलित सचेतनाअभियान दाङले थालेको अभियान सोमबारबाट सकिएको हो ।
देउखुरीका विभिन्न आठवटा उच्च माध्यमिक विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई जनचेतना दिइएको छ । युवा तथा विद्यार्थीलाई कुलतबाट टाठा राख्न अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत गढवाको जनता उच्च मावि, गोवरडिहाको सरस्वती उच्च मावि, लमहीको सनलाइट उच्च मावि, टाइनिटस उच्च मावि, रोजी उच्च मावि, देउपुरको आदर्श उच्च मावि, वनगाउँको बालजनता उच्च मावि र सिसहनीयाको सर्वाेदय उच्च माविमा कार्यक्रमको आयोजना गरिएको थियो । अभियानको सोमबारअन्तिम दिन सिसहनीयाको सर्वाेदउ उच्च माविमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
आयोजक संस्थाका अध्यक्ष गोपाल विकको अध्यक्षता एवं इलाका प्रहरी कार्यालय भालुवांगका प्रहरी प्रमुख होमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय र समाजलाई कुलत मुक्त बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका सदस्य खिमबहादुर चौधरी, जिल्ला युवा सञ्जाल दाङका अध्यक्ष किरण शाह, युवा कार्य नेपालका जिल्ला कार्यक्रम संयोजक पुष्पराज अधिकारी, विद्यालयका सहायक प्राचार्य खोपिराम आचार्य, पत्रकार ओमप्रकाश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार दशरथ घिमिरे र गोपाल विकले लागु औषध दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिएका थिए । ठगेन्द्र परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अजय विकले गरेका थिए ।

प्रतिक्रिया