एमाले युवालाई डन भनियो : ओली

पाँचथर, ७ जेठ । एमाले स्थायी समिति सदस्य केपी ओलीले पार्टीका युवालाई ‘डन’को संज्ञा दिएर बद्नाम पार्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । एमाले युवा नेतासमेत रहेका पर्शुराम बस्नेतलगायतसँग अवैध सम्पति रहेको भन्दै सोमबार प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका हुन् । प्रेस चौतारी, पाँचथरले सोमबार गरेको पत्रकार सम्मेलनमा नेता ओलीले यस्तो बताएका हुन् ।
ओलीले लोकतान्त्रिक संविधान निर्माणका लागि निर्वाचनको विकल्प नभएको बताए । त्यसैले यो वा त्यो बहानामा निर्वाचन गर्न नदिने कार्य गर्नु नहुनेमा उनले जोड दिए । देश चुनावी माहोलमा होमिएको बताउँदै नेता ओलीले यसलाई अवरोध गर्ने खालका राजनीतिक विवाद चाँडै टुंगिने जिकिर गरे । कानुनी परिस्थितीका कारण केही ढिलो भइरहेको चुनावी मिति तोक्ने कार्य पनि चाँडै हुने उनको भनाइ थियो । आगामी चुनावमा एमालेको दुई तिहाई बहुमतले जित हुने पनि दाबी गरे ।
नेता ओलीले यसअधिको संविधानसभा चुनाव द्वन्द्व आतंकको छायाँमा भएकाले गर्दा संविधानसभा बन्न नसकेको बताए । ओलिले भने, ‘चुनावमा जनताले निर्धक्क, स्वतन्त्र र निडरताका साथ मतदान गर्न पाउनुपर्छ । यसअघिको संविधानसभा निर्वाचन आतंकको छायाँमा भएको थियो । त्यसैले त्यो चुनाव चुनावै थिएन ।’ चुनिनुपर्ने खालका व्यक्ति चुनिन नसक्दा संविधानसभा नबनेको ओलीले दाबी गरे । त्यसैले अबको संविधानसभाको चुनावमा त्यस्तो हुन नदिन सबैले खबरदारी गर्नु पर्ने बताउँदै नेता ओलीले कात्तिकमा चुनाव हुनेगरी मिति तोक्नुपर्ने बताए ।
पार्टी छाड्ने नेताहरूलाई लक्षित गर्दै ओलीले भने, ‘उनीहरू निकाल्नु पर्ने व्यक्ति थिए । किन भनेर मायाँ गरेर राखेको मात्रै थियो । अहिले उनीहरूले पार्टी छाड्दा संगठनलाई असर पुगे जस्तो देखियो । यसले एमालेलाई केही फरक पार्दैन ।’

प्रतिक्रिया