जुडोमा भविष्य खोज्दै बालगृह

judoकाठमाडौं, ६ जेठ । थोरै खेलाडी भएको र सीमित क्षेत्रमा मात्र प्रभाव रहेको मार्सल आर्ट जुडो पछिल्लो समय बलगृहमा प्रभाव जमाउँदै आएको छ । भलाद्मी मार्सल आर्टका रूपमा पनि चिनिने जुडो खेललाई बालगृहले नै नयाँ उचाइ प्रदान गर्ने सम्भावना पनि देखिएको छ । जुडो खेलमा सक्रिय अनुहारहरू यत्तिखेर समाज सेवा र खेलकुदलाई सँगसँगै लैजाने सोचमा छन् । यसैको परिणाम हो थुप्रै जुडो कर्मीहरू बालगृहमा पनि सक्रिय छन् । उनीहरूको सक्रियता आफ्नो आबद्ध खेलको स्वर्णिम भविष्य र संकटामा परेका बालबालिकाको जीवनमा केन्द्रित छ ।
उनीहरूको यो सक्रियताको परिणाम पनि देखिइसकेको छ । काठमाडौंमा भएको क्याडेट जुडोमा बालगृहको उत्पादनले गरेको उत्कृष्ट प्रदर्शनकै कारण दोस्रो भएको नेपाल ढाकामा भएको अर्को संस्करणमा पहिलो भएको थियो । पछिल्ला वर्ष नेपाल खेलकुदले पाएको महत्त्वपूर्ण सफलतामध्ये ढाका क्याडेट जुडो च्याम्पियनसिप पनि एक हो ।
जुडो र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय नेपाल जुडो संघका सचिव धर्म श्रेष्ठ पछिल्लो समय बालगृहमा प्रभाव जमाएको जुडोले समाजलाई रूपान्तरण गर्न नै ठूलो सहयोग गरिरहेको बताउँछन् । उनले सडक बालकका लागि सञ्चालन गरेको बाल वातावरण केन्द्र पनि जुडो खेलमा परिचित छ । राष्ट्रिय खेलकुदमा समेत उनकै संस्थाकी चेली प्रमिला रोकाले रजत पदक पाइसकेकी छिन् । धर्म मात्र होइन, पूर्वमुख्यप्रशिक्षक मनोज केसी, मोहन बम र बाबुराजा महर्जन बालगृहमा पनि सक्रिय छन् । जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्य पनि बालगृहको भूमिका सकारात्मक भएको बताउँछन् ।
बालगृहमा जुडो खेलको सक्रियता र पछिल्लो समय प्राप्त नतिजाले अन्तर्राष्ट्रिय क्षेत्रसमेत प्रभावित भएको छ । यसै कारण अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने क्रम पनि बढिरहेको छ । यसै क्रममा हालै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित ६ वटा बालगृहलाई जुडोको ‘गी’ र म्याट उपलब्ध गराइएको छ । ती सामग्री फिनल्यान्ड जुडो सपोर्ट संघका अध्यक्ष तथा अस्ट्रेलियाका जुडो ओलम्पियनले उपलब्ध गराएका हुन् ।
फिनल्यान्ड जुडो सपोर्ट संघका अध्यक्ष कोर्भाले ‘गी’ तथा अस्ट्रेलियाबाट जुडो खेलबाट सन् २००८ को ओलम्पिकमा सहभागी एक्विनोले म्याट उपलब्ध गराएका हुन् ।
दुवै जनाले उक्त सामग्री माउन्ट एभरेस्ट जुडो रिसर्च केन्द्रलाई उपलब्ध गराएका थिए । उपलब्ध सामग्रीलाई रिसर्च केन्द्रले एक कार्यक्रमबीच ६ वटै बालगृहलाई हस्तान्तरण गर्‍यो । कन्सिन नेपालका अध्यक्ष गणेशभक्त श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य तथा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले उक्त सामग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र होइन, देशभित्र पन विभिन्न स्थान र समाजिक क्षेत्रमा बालगृहमा रहेका जुडो खेलाडीको प्रभाव बढ्दो छ । क्याडेट जुडोको प्रभावका कारण ओसिडका पूर्वअध्यक्ष गणेश श्रेष्ठ चेस खेलालाई पनि व्यवस्थित ढंगले अघि बढाउने सोचमा रहेका छन् । जुडोका परिचित खेलाडी रञ्जु राईलाई प्रशिक्षणको जिम्मा दिएपछि राम्रो नतिजा पाएपछि ओसिडले चेसका लागिपनि नियमित प्रशिक्षणको सोचाइ अघि ल्याएको हो । यसअघि ओसिड चेसका बालगृहस्तरीय प्रतियोगिातमा मात्र सीमित थियो । जुडोले दिलाएको सफलताकै कारण अन्य खेलमा ध्यान दिँदा राम्रो नतिजा पाउन सकिन्छ भन्ने विश्वास भएको गणेश बताउँछन् ।

प्रतिक्रिया