एकता महाधिवेशनको अपेक्षा

पूर्वपञ्चहरूको पार्टी राप्रपा र राजपाको एकता महाधिवेशन काठमाडौंंमा सम्पन्न हुँदै छ । राजाको नेतृत्वमा पञ्चायतकाल र २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्र अन्तर्गतको प्रजातान्त्रिक कालमा समेत सत्ता समाल्न भ्याएका यी दुई पार्टी अहिले गणतन्त्रको पक्षमा देखिएका छन् । महाधिवेशनको उद्घाटनसत्रमा दुवै पार्टीका अध्यक्षले अब राजतन्त्रतर्फ फर्कन नसक्ने स्पष्ट पार्दै परिवर्तनलाई स्वीकार गरेर अगाडि बढ्ने घोषणा गरे । वास्तवमा राजतन्त्र इतिहासमा परिणत भइसकेको अवस्थामा त्यसकै वकालत गर्नु सान्दर्भिक हुँदैन । २०६२/०६३ को जनआन्दोलनले राजतन्त्रलाई अस्वीकार गर्दै गणतन्त्रलाई आत्मसात गरेको कुरा कसैले बिर्सन मिल्दैन । तर, राप्रपा र राजपाभित्र राजतन्त्रको वकालत गर्नेहरूको कमी भने छैन । अध्यक्षद्वय सूर्यबहादुर थापा र पशुपतिशमशेर राणाको भन्दा भिन्न विचार महाधिवेशनको उद्घाटनसत्रमा प्रस्तुत भएका थिए । विद्वान् मानिएका राजेश्वर देवकोटाले राजतन्त्र फालिएको विषयमा निकै नराम्रोसँग चित्त दुखाउँदै तीतो पोखे । यसबाट के स्पष्ट हुन्छ भने राप्रपा र राजपाभित्र गणतन्त्र स्वीकार गर्न नसक्ने समूह पनि विद्यमान छ । यो एकताको महाधिवशेनले स्पष्ट नीति र विचार दिन सकेन भने यसले अर्को विग्रह निम्त्याउन सक्छ । यसतर्फ भने नेताहरूले ध्यान
दिन जरुरी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीभन्दा फरक विचार बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सशक्त रूपमा अगाडि बढिरहेको छ । उसले स्पष्ट रूपमा राजासहितको प्रजातन्त्र अर्थात् संवैधानिक राजतन्त्र र सनातन धर्मको वकालत गर्दै आइरहेको छ । राप्रपा नेपालको उद्देश्य पूरा हुने नहुने बेग्लै कुरा हो तर उसको विचार भने स्पष्ट भएको मान्नै पर्छ । राप्रपा र राजपाले लोकतन्त्र, बहुलवाद, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता स्वीकारेको अवस्था छ । यति हुँदाहँुदै पनि कतिपय दलले यी दुवै पार्टीलाई राजावादीहरूको पार्टी भनेर चिन्ने गरेका छन् । यो भनाइको जवाफ उनीहरूले व्यवहारबाट दिन जरुरी छ । यदि आफ्नो छविमा सुधार ल्याउने हो भने जनचाहना अनुरूप समयसापेक्ष नीति अंगाल्न चुक्नु हुँदैन । एकता महाधिवशेनले कुनै प्रकारको एकतन्त्रीय तानाशाही शासनपद्धति राप्रपा र राजपाको हुन सक्तैन भन्ने सन्देश दिएको छ । वास्तवमा यो दल एकताबद्ध भएर अगाडि बढ्ने हो भने नेपालमा अर्को सशक्त दलको उदय हुने निश्चित छ । तर, विचार, नीति व्यवहार र पार्टीको संगठनमा यसले आफूलाई खरो उतार्न सक्नुपर्छ । अबको राजनीति संगठित शक्तिद्वारा मात्र चल्ने देखिन्छ । त्यसका लागि अनुशासित कार्यकर्तापंक्तिको आवश्यकता पर्छ । यसलाई दुवै दलले स्वीकारेर कार्यान्वयन गर्न जरुरी छ ।
अहिले नेपालको राजनीति निकै संकटपूर्ण मोडमा उभिएको छ । लगभग ६ वर्षको समयावधी चुनिएका पार्टीका शीर्ष नेता भनाउँदाहरूले खेर फाले । उनीहरूलाई पछि पारेर नेतृत्व लिने योग्य, सक्षम र भरपर्दो नेता जनताले पाएका छैनन् । जसले गर्दा अझ निकै लामो समयसम्म मुलुकको राजनीतिक अवस्थामा सुधार आउने देखिँदैन । अप्ठ्यारो अवस्था छ । चार दलका नेताहरू ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्नबाहेक अरू विषयमा प्रवेश गर्न चाहँदैनन् । एमाओवादी सबैलाई आफ्ना एजेन्डामा आउन धम्की दिँदै छ भने नेपाली कांग्रेस र एमाले थोरै भए पनि आफूहरूले पाउनुपर्ने माग गर्दै छन् । जसले गर्दा निर्वाचनको मिति तोक्न बाधा पुर्‍याइरहेको छ । राप्रपा र राजपाको एकता महाधिवशेनबाट बनेको शक्तिले सबैलाई मिलेर अगाडि बढ्ने बाटो औँल्याउन सक्यो भने त्यही नै ठूलो काम हुनेछ । र, यी दुवै दलले यसतर्फ गम्भीर भएर सोच्न जरुरी छ । अन्यथा महाधिवेशन र दलकै औचित्य रहने छैन ।

प्रतिक्रिया