एकमुष्ट भर्नाले किचलो

काठमाडौं : नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले  एकमुष्ट रूपमा गरिएका भर्ना खारेज नभएसम्म स्ववियु चुनाव हुन नसक्ने बताएको छ । अखिल क्रान्तिकारीले २ जेठदेखि दुई दिन भएको  एकमुष्ट भर्ना खारेज नभएसम्म चुनाव नहुन नदिने चेतावनी दिएको हो ।
अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले  एकमुष्ट भर्ना खारेज नभएसम्म चुनाव हुन नसक्ने बताएका छन् । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्याल केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, महेन्द्ररत्न ताहाचल, पब्लिक युथ, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा भएका  एकमुष्ट भर्ना खारेज नभएसम्म चुनाव हुन नदिने रसाइलीले बताए । ‘ एकमुष्ट र अवैध भर्ना खारेज नगरेसम्म चुनाव हुन दिइन्न र चुनावमा भाग पनि लिन्नौँ,’ उनले भने ।
अखिल क्रातिकारीले  एकमुष्ट भर्ना खारेजीको माग गर्दै आइतबार त्रिवि केन्द्रीय क्याम्पस र आरआर क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । सोमबार पनि अन्य क्याम्पसमा ज्ञापनपत्र बुझाइने अखिल क्रान्तिकारीका अनुशिल न्यौपानेले जानकारी गराए ।
स्ववियु चुनावको परिणाम आ–आफ्नो पक्षमा पार्नका लागि एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी, एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघले शुक्रबार विभिन्न क्याम्पसमा रातारात एकमुष्ट विद्यार्थी भर्ना गरेका थिए ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले स्ववियु चुनावका लागि एकमुष्ट रुपमा गरिएका भर्ना खारेज गर्न आफू तयार रहेको बताएका छन् । ‘ एकमुष्ट रुपमा गरिएका भर्ना खारेज गरौ,’ ढुंगेलले भने, ‘अनि मात्र स्वच्छ र निष्पक्ष चुनाव हुन्छ । त्यसमा हामी तयार छौ ।’
उनले त्यस्ता भर्ना खारेज गरेर नियमित विद्यार्थीलाई मात्र मताधिकार दिने ब्यवस्था गर्न आफू तयार रहेको उल्लेख गर्दै अन्य संगठनलाई पनि सहमतिमा आउन आब्हान गरे ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले स्ववियु चुनावलाई जित्न गरिएका  एकमुष्ट गर्ना खारेजी हुनुपर्ने बताए । ‘ एकमुष्ट भर्ना चुनाव जित्नका लागि गरिएको छ,’ कर्णले भने–‘त्यसबाट जितेर आएको स्ववियुले कस्तो काम गर्ला ? त्यसैले स्ववियुलाई बचाउन पनि त्यस्तो भर्ना खारेजी गर्नुपर्छ ।’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने एकमुष्ट भर्ना खारेज गर्न आफू तयार नरहेको बताए । उनले कानुनसम्मत नभएका मात्र खारेज गर्नुपर्ने बताए । ‘एकमुष्ट भर्ना कानुनसम्मत गरिएका भए खारेजी हँुदैन,’ उनले भने, ‘विधि नपुर्‍याएका भर्ना खारेजी गरौँ ।’

प्रतिक्रिया