‘कब्जा’मा राजधानी दैनिकका सबै अंक

Rajdhani Dailyकाठमाडौं, ५ जेठ । नेकपा–माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ उत्सर्ग इकाइ कमिटीले राजधानी दैनिकका आज (आइतबार)का सबै अंक कब्जामा लिएको छ ।
संघले सम्पूर्ण राजधानी दैनिक कब्जामा लिएर राखेको नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका सचिव दीवाकर मैनालीले जानकारी दिए । ‘वैशाख–३१ गते देखि कुपण्डोलस्थित राजधानी दैनिकको मुल गेटमा धर्ना बसेका संघका कार्यकर्ताले राजधानी दैनिकका आजका सबै प्रति कब्जामा लिएर राखेको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।
सचिव मैनालीले माग पूरा गराउने नाममा भएका गतिविधिका घटनालाई दु:खलाग्दो भनेका छन् ।
‘कानूनी व्यवस्था हुँदाहुँदै त्यसको बर्खिलाप हुने गरी भए/गरेका गतिविधिप्रति कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विभिन्न पेशागत मागसहित आन्दोलनरत संघले आफूहरुले अघि सारेका माग व्यवस्थापनले पुरा नगरे पछि राजधानी दैनिकका आजका सबै अंक कब्जामा लिएको जनाएको छ ।

प्रतिक्रिया