चार बैंकको नाफा एक अर्बभन्दा बढी

काठमाडौं, ५ जेठ । सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये ४ वटाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा १ अर्बभन्दा बढी नाफा गरेका छन् । नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकले अर्बभन्दा बढी नाफा गरेका हुन् । ३२ वाणिज्य बैंकमध्ये किस्ट बैंक करिब साढे ५ करोड घाटामा गएको छ भने नेपाल बंगलादेश बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा केही गिरावट आएको छ । विदेशी साझेदारलाई सेयर बिक्री प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंकको नाफा गत आवको चैत मसान्तको तुलनामा ३५ दशमलव २४ प्रतिशतले घटेर ३१ करोड ८ लाख रुपियाँ पुगेको छ भने कुनै समय सेयर बजारमा सबैभन्दा महँगो कम्पनीको सेयरका रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा भने झिनो शून्य दशमलब २२ प्रतिशतले गिरावट भएर ८४ करोड ८० लाख रुपियाँ पुगेको छ ।
औसतमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ प्रतिशतले नाफा बढाएका छन् । बैंकहरूको नाफा १२ अर्ब ९० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष बैंकहरूको नाफा ८ अर्ब ८५ करोड रुपियाँ थियो । गत वर्ष नाफा वृद्धि दर घटेको बैंकहरूले यो वर्ष भने नियमित नाफा बढाइरहेका छन् । गत असोजमा बैंकहरूले ४१ प्रतिशत र गत पुसमा ५० प्रतिशतले नाफा बढाएका थिए । बैंकहरूले धमाधम धितो सम्पत्ति लिलाम गरेर पैसा उठाउने तथा निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो गरेका कारण नाफा बढेको हो । नाफाको वृद्धिदर उच्च भएकाले यस वर्ष सेयरधनीले समेत उच्च लाभांशको अपेक्षा गर्न सक्नेछन् । वाणिज्य बैंकहरूको नाफामा उच्च वृद्धि भए पनि त्यसको प्रत्यक्ष असर भने सेयर बजारमा देखिएको छैन । बैंकहरूले तरलता अभावका कारण निक्षेपमा दिने ब्याज बढाएर कर्जामा समेत विस्तारै ब्याज बढाउन थालेका कारण लागत बढ्न गई सेयर बजार घटेको विश्लेषक बताउँछन् ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नबिल बैंकको नाफा १ अर्ब ५३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको १ अर्ब ३४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ३ करोड र एभरेष्ट बैंकको १ अर्ब ३ करोड नाफा रहेको छ । सरकारी स्वामित्व बढी रहेको कृषि विकास बैंकले भने ९४ करोड ५३ लाख रुपियाँ नाफा गरेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई करिब ५ प्रतिशत नगद लाभांश बाँड्ने घोषणा गरेको थियो ।
त्यस्तै, नेपाल एसबिआई, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ५० करोड नाघेको छ । गत वर्ष घाटामा रहेको सेन्चुरी कमर्सियल बैंकले २ करोड ३९ लाख रुपियाँ नाफा गरेको छ । सेन्चुरी कम नाफा गर्ने बैंक हो । यसपछि कम नाफा कमर्ज एन्ड ट्रस्ट बैंक नेपालको ५ करोड ७४ लाख र माछापुच्छ्रे बैंकको ९ करोड ८३ लाख रुपियाँ रहेको छ ।

प्रतिक्रिया