राजविराज, ५ जेठ । सर्वसाधारणलाई कानुनको पालना गराउने प्रहरी नै कानुन उल्लंघनका घटनामा संलग्न भएपछि आव ०६९/७० मा सप्तरीका २४ जना प्रहरी कारबाहीमा परेका छन् । पदीय मर्यादाविपरीत काम गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षमा पदको दुरुपयोग गरी गलत क्रियाकलापमा संलग्न दुई इन्स्पेक्टर, तीन सइ, दुई असइ, तीन हवल्दार, १३ जवान र एक परिचरलाई कारबाही गरिएको छ । जसमध्ये एक सइ, तीन जवान र एक परिचरलाई नोकरीबाटै हटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी, दुई सइ, एक हवल्दार र दुई जवानको पदोन्नति रोक्का र एक जवानलाई बरखास्त गरिएको छ ।
त्यस्तै, एक हवल्दार तथा एक जवान निलम्बनमा परेको र ६ जवानलाई नसिहत दिइएको छ । दुई इन्स्पेक्टर, दुई असइ र एक हवल्दारलाई चेतावनी दिइएको कार्यालयले जनाएको छ । विभागीय नीति निर्देशन नमान्ने, अनुशासनहीन काम गर्ने र मादक पदार्थ सेवन गर्ने प्रहरी अधिकृतदेखि जवानसम्मलाई कारबाही गरिएको डिएसपी श्यामसिंह चौधरीले बताए । अन्य प्रहरी जवानको काममा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै कारबाही गरिएकाको नाम खुलाउन नचाहेका डिएसपी चौधरीले गैरकानुनी हतियार राखेको र चन्दा संकलनको आरोपमा पक्राउ परेका एक प्रहरी हवल्दारको नाममा समेत लिस्टमा समेटिएको बताए ।
त्यसैगरी, संगठनको मर्यादाभित्र रहेर राम्रो काम गर्ने ४९ जना पुरस्कृत भएका छन् । जसमा तीन इन्स्पेक्टर, तीन सइ, ६ असइ, १६ हवल्दार, २० जवान र एक परिचर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्वसाधारणको शान्ति–सुरक्षाका काममा अहोरात्र खटिने प्रहरीलाई हौसला प्रदान गर्न र गलत कामलाई निरुत्साहित गर्न दण्डसजाय र पुरस्कारको व्यवस्था गरिएको एसपी सञ्जयसिंह बस्नेतले बताए ।
प्रतिक्रिया