धनगढीमा पनि छाउपडी गोठ

Chhaupadiधनगढी, ५ जेठ । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यमान छाउपडीगोठ (महिला महिनावारी भएका बेला सुत्ने ठाउँ) बनाउने प्रचलन धनगढीमा समेत रहेको छ । बजारछेउमा रहेको धनगढी नगरपालिका–१ शान्तिटोलका दर्जनौँ घरमा छाउपडीगोठ भेटिएका हुन् । अधिकांश पहाडी जिल्ला डोटी, अछामका मानिस बसोवास गर्ने यो टोलमा उनीहरूले आºना छोरी–बुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडीगोठ बनाएका हुन् ।
धेरैजसो दलित समुदाय रहेको शान्तिटोलमा महिला छाउ (महिनावारी) भएका बेला घरमा राखे देवी/देउता रिसाएर अनिष्ट हुने भन्दै आफूहरूले छोरी–बुहारीलाई छाउको समयमा बस्न अलग्गै छाउपडीगोठ बनाएको उनीहरूको भनाइ छ । साँघुरा र असुरक्षित यी छाउगोठमा छाउ भएकी महिलालाई ५/६ दिनसम्म राख्ने गरिएको छ । धनगढी बजारछेउमै कुरीतिका रूपमा रहेको छाउपडीगोठ भेटिएपछि महिलाअधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन् । एक्काइसौँ शताब्दीमा आइपुग्दासमेत शान्तिटोलमा अझै महिला महिनावारी भएका बेला छाउपडीगोठमा राखेर पशुवत् व्यवहार गरिएको महिला पैरवी मञ्च कैलाली अध्यक्ष सपना भण्डारीले बताइन् । उनले धनगढीजस्तो ठाउँमा समाजको कुप्रथाका रूपमा छाउपडीगोठ भेटिनुले महिलाको दर्दनाक स्थिति देखाएको बताइन् ।
मुस्किलले बाहिर–भित्र गर्न मिल्ने यहाँका अधिकांश छाउपडीगोठमा ढोकासमेत छैनन् । छाउगोठ घरभन्दा अलि टाढा गाईभैँसी बाँध्ने गोठसँगै बनाइएका छन् । छाउ भएका बेला छोरी–बुहारीलाई यसरी असुरक्षित ठाउँमा नराख्न र घरमै बस्ने वातावरण बनाउन भन्दा गाउँका भद्रभलाद्मीले उल्टै बढी जान्ने भइस् भन्दै हप्काउने गरेको टोली महिला स्वास्थ्य स्वयंसेविका तथा सक्रिय महिला सशक्तीकरण केन्द्रकी अध्यक्ष सुशिलादेवी विकले बताइन् ।
‘छाउ भएका बेला अलग्गै छाउपडीगोठमा राख्ने कथित चलनका कारण धेरै महिला बलात्कृत र सर्पदंशबाट असुरक्षित हुने गरेका छन्,’ विकले भनिन्, ‘शिक्षित घरपरिवारले पनि छोरी–बुहारीलाई छाउपडीगोठमा नराख्नुस् भन्दा उल्टै हाम्रो परम्परा छाड्दैनौँ भन्छन् ।’ महिनावारी भएका घरभित्र बसेमा देवी/देउता रिसाउने भएकाले अलग्गै छाउगोठ बनाएको स्थानीय धना विष्टले बताइन् । उनले महिनावारी भएका बेला घरभित्र बसे तथा छोएमा देवी/देउता रिसाउने बालबालिका कामेर अनिष्ट हुने परम्परागत मान्यता भएकाले विभिन्न दु:ख–कष्ट सहेर छाउगोठमा बस्ने गरेको बताइन् ।
छाउ भएका बेला ५/६ दिनसम्म असुरक्षित छाउगोठमा बस्नु रहर नभई बाध्यता भएको ९ कक्षामा अध्ययनरत स्थानीय रेश्मा कोलीले भनिन् । ‘अभिभावकले छाउ भएका बेला घरमा बस्न र छुन हुँदैन, घरमा बसे तथा छोए देवी/देउता रिसाउँछन् भन्छन्,’ कोलीले भनिन्, ‘त्यही भएर आफूहरू बाध्य भई असुरक्षित भए पनि छाउ भएका बेला छाउपडीगोठमा बस्ने गरेको गुनासो गरिन् ।’ आफूहरूले छोरी–बुहारी महिनावारी भएका बेला सफासुग्घरसँग घरमै राख्न र आफूहरू पनि महिनावारी भएका बेला घरमै बस्ने गरेको बताउँदा समाजकै शिक्षित समुदायले बढी जान्ने भइस् भनेर झगडा गर्ने गरेको स्थानीय सरिता विकले बताइन् ।
जिल्लाका महत्त्वपूर्ण कार्यालय मानिने जिल्ला प्रशासन, प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयनजिकै रहेको शान्तिटोलमा छाउगोठमा राख्ने प्रचलनका कारण महिलालाई ठूलो सास्ती खेपेर असुरक्षित हुनुपरेको बताउँदै अध्यक्ष भण्डारीले छाउगोठ अन्त्यका लागि आफूहरूले अब विशेष अभियान थाल्ने बताएकी छन् ।    यहाँ महिला महिनावारी भएका बेला गाईभैँसी, पानीपधेँरा, मन्दिर, पाटीपौवा छुन नहुने तथा दूध–दही, मही पनि खान नहुने र घरपरिवारदेखि अलग्गिएर बस्नुपर्ने प्रचलन छ । घर–घरमा छाउपडीगोठ भेटिएपछि जिल्लाका केही अगुवा महिला अधिकारकर्मीको पहलमा पहिलो चरणअन्तर्गत शुक्रबार नारा–जुलुस र व्यानरसहित छाउपडी प्रथा र छाउगोठ अन्त्यको माग गरी शान्तिटोलको परिक्रमा गरिएको छ ।

प्रतिक्रिया