भोटका लागि विद्यार्थी भर्नामा तँछाड–मछाड

काठमाडौं, ४  जेठ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिँदै जाँदा चुनावको परिणाम आफ्नो पक्षमा पार्नका लागि विद्यार्थी संगठन विद्यार्थी भर्नामा तँछाड–मछाड गर्न थालेका छन् । विद्यार्थी संगठनबीच पढाइ होइन, भोटका लागि विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हँुदा कतै कुटाकुट त कुनै क्याम्पसमा तालाबन्दीसम्म हुन थालेको हो ।
भक्तपुरको सानोठिमीस्थित सानोठिमी क्याम्पसमा शुक्रबार भर्नाका क्रममा अनेरास्ववियुका नेता कुटिएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)ले शुक्रबार दिउँसो २ बजे अनेरास्ववियुका नेतालाई विद्यार्थी भर्ना गर्ने क्रममा कुटपिट गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी)ले आफूले भर्ना गरिसकेपछि अनेरास्ववियुलाई भर्नामा अवरोध पुर्‍याई कुटपिट गरेको हो ।
अनेरास्ववियुका विद्यार्थी भर्नाका लागि क्याम्पस प्रशासनतिर जान खोज्दा अखिल क्रान्तिकारीका विद्यार्थीले कुटपिट गरेका थिए । कुटपिटबाट अनेरास्ववियु केन्द्रीय सदस्य कुमार पौडेल र प्रारम्भिक कमिटी सदस्य खड्ग थापा घाइते भएका छन् । कुटपिटबाट घाइते भएका दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।
अखिल (क्रान्तिकारी) समर्थकले प्रशासनको चेनगेट लगाएर अखिललाई भित्र जान दिएका थिएनन् । विद्यार्थी भर्नाका लागि जाँदै गर्दा अखिल क्रान्तिकारी समर्थकले कुटपिट गरेको घाइते पौडेलले बताए । ‘हामी भर्नाका लागि डकुमेन्ट लिएर प्रशासनतिर जाँदै थियौँ,’ पौडेलले भने, ‘उनीहरूले चेनगेट लगाएर हामीलाई जान दिएका थिएनन् । भित्र जान खोज्दा कुटपिट गरे ।’ कुटपिटपछि अखिल (क्रान्तिकारी)ले डकुमेन्ट पनि लगेको उनले बताए । उनका अनुसार अखिल क्रान्तिकारीले दिउँसो क्याम्पस प्रशासन कब्जामा लिई तीन सय नयाँ भर्ना गरेका थिए ।
विद्यार्थी भर्नाबारे विवाद हुँदा लैनचौरस्थित सरस्वती बहुमुखी क्याम्पसमा अनिश्चिकालीन तालाबन्दी गरिएको छ । अखिल (क्रान्तिकारी)ले आवश्यक  प्रमाणपत्र पूरा नगरी विद्यार्थी भर्ना गर्न थालेपछि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले अनिश्चितकालीन भर्नाप्रक्रिया रोक्दै क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सुदेश पराजुलीले आवश्यक कागजात नपुर्‍याई विद्यार्थी भर्ना गरेपछि क्याम्पस बन्द गरिएको बताए । ‘क्याम्पस प्रशासनमा आवश्यक कागजात पूरा नगरी भर्ना गरिएको देखियो,’ पराजुलीले भने, ‘त्यसैले रोकेका हौँ । जबसम्म अनधिकृत रूपमा भर्ना गरिएको रद्द गरिँदैन तबसम्म ताला खुल्दैन ।’
शुक्रबार बिहान अखिल (क्रान्तिकारी) पुन: भर्नाका लागि आए पनि नेविसंघ र अनेरास्ववियुले अवरोध पुर्‍याएका थिए । उनीहरूले अनधिकृत रूपमा भर्ना भएका विद्यार्थीको छानबिन गरी रद्द भएपछि मात्र भर्ना खोल्नुपर्ने अडान लिएका छन् ।
अखिल (क्रान्तिकारी)ले प्रक्रिया नपुर्‍याई भर्ना गर्न थालेको नेविसंघ र अनेरास्ववियुको आरोप छ । पराजुलीले अखिल (क्रान्तिकारी)ले चुनाव जित्नका लागि प्रक्रिया नै नपुर्‍याई भर्ना गरेको बताए । नेविसंघ र अनेरास्ववियुले प्रक्रिया नपुर्‍याई भर्ना गरिएका डकुमेन्टसमेत जफत गरेका  छन् ।
नेविसंघका एकाइ अध्यक्ष चन्द्र रोकाले प्रक्रिया पूरा नगरी धमाधम भर्ना गर्न थालेपछि क्याम्पसमा ताला लगाइएको जानकारी गराए । ‘हामीले भर्ना गरेका केही फाराम हेर्दा चार/पाँचवटाको पूरा प्रमाणपत्र थिएन,’ उनले भने, ‘अन्य पनि प्रक्रिया नपुर्‍याई भर्ना गरिँदै थियो । भर्ना रोक्दै ताला लगाएका हौँ ।’
सहायक क्याम्पस प्रमुख रामहरि लम्सालले विद्यार्थी संगठनबीच भर्नाका विषयमा सहमति हुन नसक्दा नयाँ भर्ना रोकिएको जानकारी गराए । ‘ट्रान्सक्रिप्ट र क्याम्पसका सटिर्फिकेट भए भर्ना गरिन्छ,’ लम्सालले भने, ‘भर्ना गरिएका सबैको डकुमेन्ट पूरा छ ।’
एकीकृत माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी), एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेपाल विद्यार्थी संघले चुनाव जित्नका लागि शुक्रबारसम्म लाखाँै खर्च गरेर विद्यार्थी भर्ना गरेका छन् । राजधानीका त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, प्रदर्शनीमागतस्थित आरआर क्याम्पस, ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस, पाटनस्थित पाटन संयुक्त क्याम्पस, मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा लाखौँ खर्च गरेर भोटका लागि विद्यार्थी भर्ना गरेको पाइएको छ । स्ववियु चुनाव २३ जेठमा हुँदै छ ।

प्रतिक्रिया