तेस्रो विश्वलाई हेर्ने शास्त्र र विचारधारा हामीसँग छैन

giri-pradeepराजनीतिक एवं दार्शनिक चिन्तकका रूपमा छवि स्थापित गरेका प्रदीप गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । गिरीसँग तेस्रो विश्वका गरिब मुलुकको समस्या समाधान गर्ने सन्दर्भ तथा वैचारिक रूपमा विश्वस्तरमै पार्टीहरूमा छलफल तथा चिन्तनको परिपाटी घट्दै गएको सन्दर्भमा लिइएको अन्तरवार्ताको सम्पादित अंश :

तपाईंले हिजोआज पार्टीहरूमा हुने वैचारिक छलफलको गतिलाई कसरी हेर्नुभएको छ ?
दुर्भाग्यवश सबै राजनीतिक पार्टीमा छलफलको क्रम पातलिँदै गएको छ । भारतका खास गरेर बुर्जुवा भन्ने गरिएका पार्टीमा त झनै त्यो परम्परा छँदै छैन । भारतमा राष्ट्रिय कांग्रेस अथवा लालु यादवको पार्टी, नीतिश कुमारको पार्टी, मुलायम सिंहको पार्टी, करुणा निधिको पार्टी, यिनीहरू सिद्धान्तको प्रश्नमा कहिल्यै गम्भीर भएर छलफल गर्दैनन् । भारतमा कम्युनिस्टहरूचाहिँ सिद्धान्त र कार्यक्रमलाई गम्भीरताका साथ लिन्छन् । भाजपा अर्कै खालको पार्टी छ भारतमा । यी दुवै प्रकारका पार्टी क्याडरबेस पार्टी हुन् । लगभग विश्वमै उस्तै अवस्था छ । कम्युनिस्ट पार्टीहरूमा पनि बहसको परम्परा कमजोर हँुदै गएको छ अथवा यसो भनाँै कम्युनिस्टहरू पनि सिद्धान्तका पक्षमा कमजोर हँदै छन् ।
आजभोलि सबैजसो राजनीतिक दलका प्रमुखलाई शक्तिशाली हुने इच्छा जागृत भएजस्तो देखिन्छ । त्यो नेपाली कांग्रेसमा पनि देखियो, यसलाई के भन्नुहुन्छ ?
यो व्यक्तिको स्वभाव हो । सत्ता, सम्पत्तिप्रति सबैको व्यक्तिगत इच्छा हुन्छ । यो मानिसको मनोविज्ञानको कुरा हो । त्यो महत्त्वपूर्ण कुरा होइन, यसलाई यसरी राख्नुभयो भनेचाहिँ महत्त्वपूर्ण हुन्छ । म फेरि पनि भन्दै छु, संसारमै र खास गरी तेस्रो विश्वमा राजनीतिक पार्टीहरू झन्झन् प्राधिकारवादी हुँदै छन् । यो वा त्यो पार्टी भन्ने छैन । पहिलो कुरा त सामान्यतया: दलहरू प्राधिकारवादी नै छन् । यो आजको कुरा पनि होइन, एक सय वर्षदेखि उठेको कुरा हो । भर्खरभर्खर पार्टीहरू राजनीतिको रङ्गमञ्चमा आएका थिए र अलिअलि गरेर बलियो हुँदै गएका थिए । यसमा पनि पश्चिम युरोपमा मजदुर आन्दोलनबाट निस्किएका पार्टीहरू विशेष चर्चामा आइरहेका थिए । खास गरी जर्मनीको सोसल डेमोक्रेटिक पार्टी चर्चामा आएको थियो । त्यस बेलाको जर्मनको त्यो पार्टीमा एकसेएक माक्र्सवादी चिन्तक थिए । जर्मनीको सोसल डेमोक्रेटिक पार्टीको अध्ययन गरेर उहिले एक जना मान्छेले किताब लेखेका थिए । उनले भनेका थिए, सबै राजनीतिक पार्टीहरू कुलीनतन्त्रको लौह नियमबाट चल्छन् (आइरन ल अफ अलिगार्की) ।
पार्टीहरूको लोकतन्त्र नाम मात्रैको हुन्छ, यो कठोर सत्यलाई तपाईं बुझ्नुस् । लामो समयदेखि यही चलिआएको छ । अहिले मात्र त्यसो भएको होइन, कम्युनिस्ट पार्टीको आफ्नै बेग्लै खाले परम्परा छ । जनवादी केन्द्रीयता भन्ने सिद्धान्त उनीहरूले ल्याएका छन् । पहिले के थियो, जान्दिनँ म । लेनिनको मृत्युपछि केन्द्रीयता बाँकी छ, जनवाद छैन । लेनिन आफ्ना विरोधीप्रति पनि सहिष्णु भएको देखिन्छ । तर, अहिले कम्युनिस्टहरू लेनिनको नाम लिन्छन्, जनवादको नाम लिन्छन् । तर, जनवाद कुनै कम्युनिस्ट पार्टीमा छैन, विश्वमै छैन । कम्युनिस्ट पार्टीको यस कुराको सर्वश्रेष्ठ उदाहरण उत्तर कोरिया हो, जहाँ तीन पुस्तादेखि घोषणा नगरिएको राजतन्त्र चलिरहेको छ । त्यसैकारण कम्युनिस्ट पार्टीहरूमा सत्ता परिवर्तन लेनिनको मृत्युपछि एक प्रकारको ‘कु’ द्वारा हुन्छ । रुस अथवा चीनको उदाहरण दिन सकिन्छ । चीनमा केही वर्षयता विधिसम्बद्ध ढंगबाट सत्ता हस्तान्तरण हुँदै छ । समग्रमा त्यहाँ तानाशाही नै छ । कांग्रेस पार्टी पनि त्यही हो । बुद्धिजीवी पत्रकार/पर्यवेक्षकहरूले राम्रोसँग बुझ्नुपर्छ, यी राजनीतिक दल लोकतन्त्रको नाम मात्रै
लिन्छन्, जसरी आममान्छे लोकतन्त्रको नाम मात्र लिन्छन् । २५/३० वर्षयता लोकतन्त्र झनै कमजोर भएको छ । पहिले पनि कमजोर नै थियो । पहिले आदर्श थियो र अहिले कमजोर भयो भन्ने होइन । अहिले आएर कमजोर हुनुमा पैसाले भूमिका खेलेको हो ।
भूमण्डलीकरणको राजनीतिले अन्तर्राष्ट्रियस्तरमा जसलाई ‘फाइनेन्स क्यापिटिलिजम’ भन्छन् निर्यातित पुँजीको महत्त्व बढाएको छ । यसले गर्दा भयंकर रूपले भ्रष्टाचारलाई बढावा दिएको छ । पहिले ११ लाख भ्रष्टाचार मानिन्थ्यो फेरि ११ लाख नभएर ११ करोड, करोड नभएर ११ सय करोडलाई भ्रष्टाचार मान्न थालिएको छ । यी मुलुकका नेताहरू गरिब मुलुकमा केन्द्रीकृत व्यवस्था चाहन्छन् । कोही पनि विकेन्द्रीकृत व्यवस्था चाहँदैनन् । उनीहरूलाई प्राकृतिक सम्पदा भएको गरिब देशको खानी, कोइला, बक्साइड, फलाम, अग्रख, पानी र कतै बाँकी छ भने जंगल आदि पनि चाहिएको छ । लोकतान्त्रिक तबरले जनतालाई त्यहाँ अधिकार सम्पन्न गरिदिने हो भने निर्णय उसको पक्षमा नहुन सक्छ । त्यसैले सिंगो संसारमा जनतालाई दमन गर्ने एउटा प्रवृत्ति चलेको छ । राजनीतिक दल तिनै प्रवृत्तिका बाहक हुन् । त्यसैले सबै दलमा विगत २५/३० वर्षमा भूमण्डलीकरणको बाढीका साथ दलको तानाशाही प्रवृत्ति झनै बढेको छ । धेरै कारणले लोकतन्त्रको नाममा अल्पतन्त्रको शासन चलेको छ । माथि मैले कुलीनतन्त्र भनँे । कुलीनतन्त्र शब्दभन्दा ‘अल्पतन्त्र’ धेरै राम्रो हुन्छ । अल्पतन्त्रलाई अंग्रेजीमा अलिगार्की भन्छन् । राजनीति विज्ञानमा दल भन्ने विषयको अध्ययन गर्नुभयो भने उहिले एक सय वर्ष पहिलेदेखि नै रोबर्ट मिसेल्सको कुलीनतन्त्रको लौह नियम भन्ने प्रचलित छ । नयाँ केही पनि छैन । अब विद्वान् कुशाग्रबुद्धि पर्यवेक्षक तथा तपाईंहरू जस्ता पत्रकार पनि कहिलेकाहीँ धोकामा पर्ने गर्छन् । ‘लोकतन्त्र, लोकतन्त्र’ भन्छन् र नभएको लोकतन्त्र खोज्छन् । राजनीतिक दलहरू लोकतन्त्रका सच्चा बाहक छैनन् ।
तपाईंले लोकतन्त्रको आवरणभित्र तानाशाही चल्दै छ भन्न खोज्नुभएको हो ?
लोकतन्त्र कहिल्यै निरपेक्ष धारणा होइन् न त तानाशाही नै निरपेक्ष धारणा हो । यी सापेक्ष धारणा हुन् । जंगबहादुरको तुलनामा त अहिलेको प्रचण्डको लोकतन्त्र बढी लोकतन्त्र हो । तर, जंगबहादुर पनि विदुर लोकतान्त्रिक थिए भन्ने थियो । तपाईंले त्यसबेलाको जनतन्त्रको कुरा बुझ्नुभयो भने वा लोकतन्त्रको कुरा गर्दा तपाईंले जंगबहादुरले बनाएको ऐनकानुन हेर्नुभयो भने अरू त अरू त्यही मुलुकी ऐनका बारेमा तपाईंले हेर्नुभयो भने थाहा पाउनुहुन्छ । ऐनको शासन नै लोकतन्त्र हो । केही नभएको ठाँउमा ऐन बनाउनु भनेको लोकतन्त्र ल्याउनु होइन । नेपोलियनले युरोपमा ‘कोड नेपोलियन’ बनायो, त्यसैले हामीले ती शब्दहरू प्रयोग गर्छांँ तर अपेक्षाकृत कम/बेसी भनेको हो त्यति सजिलो छैन । अहिले आएर लोकतन्त्र झनै कमजोर भएको छ । आज आएर झनै विस्तारित, विकसित हुनुपर्नेमा झनै साँघुरो भएको छ । नेतावाद र नेतातन्त्र चलेको छ लोकतन्त्रको नाउँमा अर्को पक्ष पनि छ । तर, यस स्थितिमा मधेसी जनजाति दलित, महिलाका आवाज उठ्न थालेका छन् । ती आवाज सुनिएको छैन तर आवाज उठ्नु पनि त लोकतन्त्रको दिशामा कदम हो नि त । त्यसैले मैले यसलाई निरपेक्ष कुरा पनि भन्न चाहन्नँ । आवाज एकपटक उठेपछि कति वर्ष उपेक्षा होला ? २०/३० वर्ष † सारा विश्वमा हिजो/आज विधिको शासन कमजोर भएको छ । भूमण्डलीकरणले गाँजेको छ, भूमण्डलीकरणले विधिको शासनलाई बढावा दिँदैन । अर्कोतर्फ त्यही भूमण्डलीकरणको प्रभावले सूचनाक्रान्तिका कारण मानिसले स्वतन्त्रताको महत्त्व बुझ्दै छन् । हिजोसम्म दमित, पीडित र शोषित भएर बसेकी एउटा दलितकी छोरी आज काठमाडौंको सडकमा टेम्पु हाँकेर हिँडेको देख्नुहुन्छ, यो सानो कुरा हो ? यस कुरामा नेकपा (माओवादी) लाई धन्यवाद दिनै पर्छ कि उनीहरूले जनयुद्धमा तिनीहरूलाई बन्धुक बोकाए र हाल आएर अहिले फेरि तिनीहरू हराएका छन् । माओवादीको नेतृत्वले तिनीहरूलाई राजनीतिको मूलधारमा ल्याउन सकेको छैन । अहिले मुलुकका राजनीतिक पार्टीका नेतृत्व तहमा सायद सबैभन्दा कम महिलाको सहभागिता माओवादीमा नै छ होला । आँखाले जोड दियो भने र प्रतिशत नै हेर्ने हो भने कांग्रेसमा बढी होला । यस्ता भ्रामक दृष्टि हुन्छन् भन्न खोजेको मैले ।
तपाईंहरू खुला बजार अर्थतन्त्रको पक्षमा हुनुहुन्छ ?
नेपाली कांग्रेस ‘उदार लोकतन्त्र’को पक्षमा छ भन्नु पनि ‘उदार लोकतन्त्र’ भन्ने शब्दको अपमान हुन्छ । एकातिर विदेशी पुँजीलाई भित्र्याउने प्रतिस्पर्धा कांग्रेस, एमाले, माओवादीबीच छ । त्यो पैसा भित्र्याउने प्रतिस्पर्धालाई उदार लोकतन्त्र भन्ने गरिएको छ । कुरा यत्ति न हो । त्यस किसिमको खुला अर्थतन्त्र विदेशी पुँजीको आगमनले संघीय राज्यलाई फेबर गर्दैन । त्यसैले पुँजीवादको एक प्रकारको गढ भएर बसेको चीनले पनि संघीयताका विषयमा नकारात्मक कुरा गर्दै छ भनिन्छ तर यहाँ संघीयता हुन्छ । नेपालमा संघीयता कुनै पनि नेताले रोक्न सक्दैन र हुनु पनि पर्छ । समय लाग्ला । संघीयता लोकतन्त्रको पूरक हो त्यसैले नेपालमा संघीयता रोक्न सकिँदैन । त्यसैले नेपाली कांग्रेस, एमाले, माओवादी कति उदार र भन्ने कुरा ढिलो चाँडो मात्र हुने हो । अहिले ‘उदार’ होइन कि ‘उधार’ कुरा चलेको छ । कोही पार्टी ‘उधार संघीयतावादी’ छन्, कोही ‘उधार लोकतन्त्रवादी’ छन् । उधारो मुखले संघीयता, संघीयता, लोकतन्त्र, लोकतन्त्र भन्छन् । सबैभन्दा धेरै संघीयताको कुरा गर्ने माओवादी पनि चीन भ्रमणपछि चीनले यस्तो भन्यो र त्यस्तो भन्यो भन्न थालेका छन् । यो के छ भने तेस्रो विश्वलाई हेर्ने जुन शास्त्र र विचारधारा हो त्यो हामीसँग छैन ।
हामीसँग नभएको अथवा पहिलो विश्वसँग नभएको भन्न खोज्नुभएको ?
पहिलो विश्व अर्थात् पश्चिमासँग यस मानेमा दृष्टिकोण छ कि उनीहरूले आफ्नो व्यवस्था बनाउन सकेका छन् । बेलायतमा विभिन्न कमी कमजोरीका कारण पनि लोकतन्त्र छ । हामी त्यसैलाई आदर्श संसदीय लोकतन्त्र मानेर चलाउँदै छौँ तर चलेको छैन । त्यसैले के भन्न खोजेको भने विदेशको व्यवस्था अर्को शब्दमा भन्ने हो भने अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत प्रमुख मुलुकमा चलिरहेको व्यवस्थाको म अपेक्षाकृत कडा आलोचक छु तर पनि आलोचनाका लागि त्यहाँ त्यति बलिया आधार छैनन् जति बलिया आधारहरू यहाँ छन् । तपाईंलाई सानो उदाहरण दिन्छु । हाम्रो सामाजिक संरचनाको महत्त्वपूर्ण तत्त्व हो जाति प्रथा । जाति प्रथाबारे माक्र्सले त केही पनि भनेका छैनन् । माक्र्सभन्दा ठूलो चिन्तक पश्चिमले जन्माएको पनि छैन । जाति प्रथाको कुरा अम्बेडकर, फुले र लोहियाले गर्नुपर्‍यो । पश्चिममा त कसैले पनि गरेन अनि त्यहाँको शास्त्र हब्स, लक, रुसो, लक, जन स्टुअर्ट मिल, २०औँ शताब्दीको उतराद्र्धमा चोम्स्कीदेखि लिएर हन्ना हारेनसम्मका नवमाक्र्सवादीहरू जसले माक्र्सवादलाई प्रशस्त अध्ययन गरेका छन् तर आफूलाई माक्र्सवादी भन्दैनन्, उनीहरूले पनि तेस्रो विश्वको जाति प्रथाबारे केही पनि भनेका छैनन् । यहाँ भने पश्चिमवादको भूत छ ।
तेस्रो विश्वको समस्या समाधान गर्न त यही विश्वले नै आफ्ना चिन्तकहरू उत्पादन गर्नुपर्ला नि होइन र ?
हो, यो कुरा ठीक हो ।
त्यसो भए यहाँको समस्यामा केन्द्रित हुने तपाईंहरू जस्ता चिन्तकले के गर्नुभयो त ? आखिर उनीहरूको दृष्टिकोणले यहाँको समस्या कसरी समाधान होला ?
विल्कुल ठीक हो । चिन्तन र संघर्ष एकाकार भएर अगाडि बढ्नुपर्छ । तर, कठोर सत्य के हो भने अहिलेसम्म पनि यहाँ पाश्चात्य समाज र चिन्तनको प्रभाव रह्यो । नेपाली कांग्रेसले पनि समाजवादलाई आफ्नो आदर्श सिद्धान्त मान्छ तर उसले युरोपको समाजवादलाई नै आफ्नो मुख्य विचारधारा मान्यो, समस्या यही हो । पश्चिम युरोपको सोसल डेमोक्रेसी यहाँ चल्ने र पच्ने छैन । २०औँ शताब्दीमा क्रान्तिको त विस्फोट भएको छ । जाति, भाषा, पहिचान, क्षेत्रीयता, इलाकावादका नाउँमा अनि एक प्रकारले धर्मका नाउँमा फन्डामेन्टलिजमका नाउँमा अब सबैले भन्नका लागि बाफरे बाफ † भन्ने तर बिन लादेन, तालिबानको आन्दोलनलाई तपाईंले के भन्नुहुन्छ ? त्यो त भयंकर ठूलो आन्दोलन हो नि । त्यसको सार ननिकाली हुँदैन । देखिँदा यो धार्मिक आवरणमा छ तर यो त प्रतिरोध आन्दोलन हो । विश्व इतिहासमा धेरै संघर्ष अन्य रूपमा भएका छन् । यो माक्र्सवादले नै उद्घाटन गरेको छ । विभिन्न आन्दोलनले विभिन्न नाम, भाषा, धर्मका रूपमा मानिसको उत्पीडनलाई अन्त्य गर्ने प्रयत्न गरेका छन् । त्यसमा विकृति पनि आएको होला, त्यो अर्कै कुरा हो । मैले अहिलेको इस्लामिक फन्डामेन्टालिजमलाई बडो सकारात्मक तबरले हेरेको छु । यो आन्दोलनको एक रूप हो । अब त्यहाँ उच्च प्रकारको विचार पुग्न सकेन, त के उनीहरूले आन्दोलन र संघर्ष नगर्ने ? सच्चा माक्र्सवादीे र समाजवादीले यसको रूपमा नगई निहितार्थ बुझ्नुपर्छ । को लड्दै छन् र किन लड्दै छन् ।
सबै आन्दोलनहरूको सन्दर्भमा ?
अमेरिकाले अथवा विश्व पुँजीवादले मिडिल इस्टमा तेल कब्जा गरेको छ र त्यसलाई टिकाइराख्न त्यहाँ प्रतिक्रियावादी व्यवस्थालाई समर्थन गरेको छ । सिंगो अरबी देशको त्यही अवस्था छ । इस्लामले राजा मान्दैन । तर, अमेरिकाले राजा बनाएर राखिदिएको छ र त्यसविरुद्ध नेता लड्दै छन् । लड्नलाई केहीको साथ नपाएर कुरान र धर्मको साहारा लिएका छन् । त्यो लडाइँलाई हेर्नुपर्‍यो, भाषा हेरेर हुँदैन । त्यस्तै, नेपालमा भइरहेको आदिवासी, जनजाति उत्पीडितहरूको तथा श्रीलंकामा हुने तमिलहरूको आन्दोलनलाई हेर्ने दृष्टिकोण हुनुपर्छ । त्यहाँ वर्गसंघर्ष छैन भनेर हुँदैन । त्यहाँ द्वन्द्वात्मक भौतिकवाद छैन भनेर हुँदैन । तिनको लडाइँको सारतत्त्व हेर्नुपर्छ, त्यसको स्वरूप हेर्नुहँुदैन भन्ने हो । नेपालमा ठूलो परिवर्तन ल्याउने माओवादी पनि यस कुरालाई बुझ्न असफल भएका छन् । यही हो आजको समस्या । यस समस्यालाई तपाईंले ‘विचारधाराको संकट’ भन्न सक्नुहुन्छ । हामी संकटको स्थितिबाट गुज्रिरहेका छौँ । माक्र्स आपैँm पश्चिमा थिए । गान्धी पश्चिमबाट प्रभावित भएका थिए तर म यसलाई पूर्व र पश्चिममा विभाजन गर्न चाहन्नँ ।

प्रस्तुति : नरेश ज्ञवाली
[email protected]

प्रतिक्रिया