खोजखबर

चरीको दूधले भरिएको–रित्तो दुनेरी

सौर्य अनलाइन २०७० जेठ ४ गते २:१३ मा प्रकाशित

Dutendra-Chamling-2बाँच्नुको नाउँमा हरेक बहाना दुहेर बाँचेजस्तो गर्नु वाह ! क्या बेजोड अभिनय
बहाना खाली बहाना मात्रै नभई सिलसिला जो बनिदिन्छ
र, मान्छे भन्ने जन्तुचाहिँ जे होस् बाँचिदिन्छ कमसेकम एउटा विकल्प रहेसम्म

दौडिँदै–बाँच्नुदेखि बाँच्नुसम्म एउटा डरलाग्दो ठूलो ब्लाक होल कटेर
सबै तेन्जिङ सबै हिलारी, बाँच्नु पनि सानो सगरमाथा हो र ? सानो उचाइ हो र ?
मान्छे यहाँ हिसाब खोज्छ बाँच्नुको, अहंको तीनकुने झन्डा फर्फराउनु मात्रै बाँच्नुको हिसाब हो त ?
फाइदा–बेफाइदा खोजेर बाँच्नुको, अंकगणितीय धारणामा के छ मजा ? के छ फाइदा ? के छ काइदा ?
कोही प्रश्न सोध्छ–‘ए ! मान्छे हो ! मलाई बताइदेऊ त,आफ्नो जीवनमा मान्छे कति प्रतिशत बाँच्छ ?’

एउटा मान्छेको बाँच्नुले तान्छ अर्को मान्छेको बाँच्नुलाई
बाँच्नु पूरै वैयक्तिक हुँदो हो त, आत्महत्याले हुन्थ्यो होला सबैभन्दा बढी मान्छेको मृत्यु
थाहा नभए पनि मान्छेलाई बाँच्नुको भूमिका
बाँच्नुलाई भने थाहा हुन्छ बाँच्नुको भूमिका

भन्नुपर्छ यहाँ एउटाको बारेमा कुरा हुन्छ, भन्नुपर्छ–
एउटा भनेको एउटा मान्छे याने कि कृष्ण काका
जो दसैँ–तिहार, हुइलुङ र छौवाजस्ता चाडबाडमा बाँकी नराखी मात्छ
र सम्झेर समाजले उसलाई गरेको निर्मम व्यवहार
र सम्झेर समाजले दिएको एउटा उत्तोलक समानको उसको हैसियत
रुँदै भन्छ सिकारी खोलातिर–
‘मसँग चरीको दूध छ, अरूसँग के छ ?’
म सोच्छु–के कृष्ण काका उसको जीवनमा सबै प्रतिशत बाँच्नु बाँचिरहेको छैन ?

रौनियार सरलाई दबाई खानलाई डाइट, मलाईचाहिँ ह्याबिङ र सेटअप गर्नलाई डाइट
‘कृष्ण काका ! यो शनिबारसम्ममा मलाई दुई माना मह चाहिएको छ है !’
उहाँ भन्नुहुन्छ–‘ए चरीको दूध साइँला ! ? भै’हाल्छ नि साइँला ! मसँग छ नि चरीको दूध साइँला !’
मलाई  यतिखेर कृष्ण काका केहीमा पनि तेन्जिङ र हिलारीभन्दा घटी लाग्दैन…!

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय