विद्यालय खेलकुदको लोगो र मिति सार्वजनिक

junoir-sports-mainकाठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले ‘प्रथम राष्ट्रिय विद्यालय खेलकुद – २०७० (जुनियर च्याम्पियनसिप)’ को लोगो र मिति शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को तत्त्वावधान, विद्यालय खेलकुद विकास बोर्डको समन्वय तथा हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त आयोजनामा २७ देखि ३१ जेठसम्म ‘अनिवार्य खेलकुद हाम्रो अभियान’ भन्ने मूल नाराका साथ काठमाडौंमा भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले प्रेस सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा हिसानको व्यवस्थापनमा बास्केटबल, चेस, पौडी (खुला), टेबलटेनिस र भलिबलका खेल सञ्चालन हुनेछन् । प्याब्सनले बाघचाल (खुला), ब्याडमिन्टन (खुला), फुटबल, कराते र उसु तथा एनप्याब्सनको व्यवस्थापनमा एथलेटिक्स, क्रिकेट, कबड्डी, तेक्वान्दोका खेल सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि १२ देखि १६ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने र सोको प्रमाण पेस गर्नुपर्नेसमेत विज्ञप्तिमा जनाइएको छ ।
दर्ताका लागि ७ जेठसम्मको अवधि तोकिएको छ । नौदेखि १५ जेठसम्म जिल्लास्तरीय छनोट र १६ देखि २५ जेठसम्म क्षेत्रीय छनोट गर्ने जनाइएको छ ।

प्रतिक्रिया