अक्षम नेतृत्वबाट सिर्जित चुनौती

पार्टी सञ्चालन गर्ने प्रमुख कडी नीति हो । नीति मिल्नेहरू मिलेर पार्टी बनेको हुन्छ । कुन दर्शन अँगालेको पार्टीको नीति र लक्ष्य के हो भन्ने सत्यतथ्य कार्यकर्तालाई ज्ञान हुनु अनिवार्य छ । साधारण शुभचिन्तकलाई नभए पनि कार्यकर्तालाई आफ्नो दलले अँगालेको दर्शन, नीति, सिद्धान्त र कार्यशैलीबारे थाहा हुनुपर्छ । यसले पार्टीलाई सैद्धान्तिक रूपले तिख्खर, सांगठिनक हिसाबले मजबुत र विचारका हकमा स्पष्ट रहन मद्दत पुर्‍याउँछ । जबसम्म आफ्नो पार्टीको धारणा कार्यकर्ताले बुझ्दैनन् त्यो पार्टी दीर्घजीवी बन्न सक्तैन । र, नेताहरूमा नेतृत्व क्षमताको कमी हुन्छ । नेता पथभ्रष्ट हुन्छन् र कार्यकर्ता विचलित हुन्छन् । पार्टीलाई जनताको भावना बुझेर राष्ट्रको पहरेदारको रूपमा स्थापित गराउन नेतृत्वको अहं भूमिका हुन्छ । सही ढंगले ठोस् निर्णयसाथ अगाडि बढ्न नसक्ने नेतृत्वले पार्टीलाई कहिल्यै पनि गतिवान् बनाउन सक्तैन । र, अर्काले बनाइदिएको पार्टी पनि भताभुङ पार्छ । अहिले नेपालमा यहीखालका पार्टी धेरै छन् । नेताहरू नालायक, विचलित र स्वार्थी भएपछि नेपालका अधिकांश पार्टीका कार्यकर्तामा पनि विचलन आएको छ । सैद्धान्तिक बहस गर्ने र नीतिगत रूपमा तर्क गर्नेभन्दा पनि आफूसँग विचार नमिल्नेसँग भौतिक कारबाहीमा उत्रने प्रवृत्ति पार्टी क्षयीकरणको पहिलो खुट्किलो हो । नेपाली समाजमा जरा गाडेर बसेको बेथिति र गरिबी हटाउने सोचभन्दा लुटी खाने जमात नै कार्यकर्ता भएको पार्टी समाजको बोझ हुन्छ ।
अहिले नेपालमा दशौं दर्जन दलहरू खुलेका छन् । तराईका र पूर्वी पहाडका भूमिगत दलदेखि खुला रहेका ठूला दल कहलिएकाहरूमा पनि सैद्धान्तिक विचलन, इमान्दारीमा ह्रास, विचारमा विशृंखलता र अदूरदर्शी साथै अपरिपक्व निर्णय गर्ने प्रवृत्ति हाबी भएको छ । कुनै पनि दलमा अनुशासन छैन । पार्टीको सिद्धान्त के हो भन्ने नबुझी कार्यकर्ता बनेकाहरू सहज कमाइका लागि पार्टीको छाहारीमा आउने गरेका छन् । जसले गर्दा पार्टीपद्धति नै भद्रगोल अवस्थामा पुग्दै गएको छ । अर्थात् दलहरू अपराधी संरक्षण केन्द्रमा परिणत हुने सम्भावना बढ्दै गएको छ । अहिले ठूला भनिएका एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलमा सैद्धान्तिक, व्यावहारिक र नीतिगत विचलनले अप्ठ्यारो अवस्था बनाएको छ । पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल जस्ता सशक्त नेताले आफ्नै सहकर्मी नेता र कार्यकर्ताको विश्वास गुमाएका छन् । उनीहरू आफ्नो वचनमा पक्का छैनन्, अडानमा रहन सक्तैनन् र आफ्नै पार्टीको बैठकमा आफूले गरेको निर्णयको स्वामित्व लिन सक्तैनन् । एमाओवादी अध्यक्ष रहेका दाहालसँग जुन शक्ति थियो त्यो अब रहेन । उनलाई पहिला गरेका निर्मम गल्तीहरूले विस्तारै समाप्त पार्दै छ । सुरुङ युद्ध, राष्ट्रिय स्वाधिनताको युद्ध र १० वर्षे आतंकको युद्धको कालो भूतबाट उम्कन नसक्ने अवस्थामा दाहाल पुगेका छन् । सुशील कोइराला आफ्नै पार्टीका लागि काम नलाग्ने पात्रमा परिणत हँुदै छन् भने झलनाथ खनाल एमालेमा एक्लो बनेका छन् ।
नेपालको राजनीतिमा दल सशक्त हुनका लागि नेतृत्व पनि सक्षम र योग्य चाहिन्छ । किनभने यहाँ लोकतन्त्रले स्थायित्व पाइसकेको छैन । तर, अक्षम, अयोग्य, अल्प सोच र अडानरहित नेतृत्वका कारण दलहरूले सैद्धान्तिक र व्यावहारिक कठिनाइ भोग्नुपरेको छ । यो विडम्बनापूर्व अवस्थामा चुनाव हुन नसक्ने शंका गर्नु अस्वाभाविक होइन । साथै, वर्तमान अन्तरिम मन्त्रिपरिषद्को आयु लम्बिने र यही मन्त्रिपरिषद्ले राष्ट्रलाई दूरगामी असर पार्ने कार्य गर्न थाल्नेछ । दलीय व्यवस्थालाई दलकै नेताले थाम्न नसकेपछि स्वाभाविक रूपले अर्को शक्तिको निर्माण हुन्छ । अदूरदर्शी र अत्यन्तै अल्प सोच राख्नेहरू लामो समयसम्म नेतृत्वमा रहँदा पार्टीलाई मात्र होइन राष्ट्रलाई समेत नकारात्मक असर पुर्‍याउँछ । अहिले नेपालमा यही अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया