डेढ करोडको गाडी सुटुक्क फर्काए लोकमानले

Lokman-Shing-Karkiकाठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख लोकमानसिंह कार्कीले आफू चढ्न डेढ करोढ रुपियाँ पर्ने नेपाल विद्युत् प्राधिकरणको प्राडो गाडी झिकाएका थिए । तर, आयोगभित्रैबाट सो गाडी नचढ्न दबाब आएपछि एक रात राखेर सुटुक्क फिर्ता गरेका छन् ।
कार्की प्रमुखमा नियुक्त भएपछि आयोगले पाँच दिनअघि मात्रै प्राधिकरणको ट्रान्सफर्मर खरिदमा भएको अनियमिततामा संलग्नहरूसित बयान लिन थालेको थियो । त्यसको चार दिन नबित्दै बुधबार दिउँसो प्रमुख आयुक्त कार्कीले प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव चढ्ने बा ६ च १००९ नम्बरको प्राडो गाडी आफू चढ्न मगाएका थिए ।
सरकारी र संस्थानका गाडी दुरुपयोग भएमा सचेत गराउनुपर्ने आयोगका प्रमुख नै ‘अवैध ढंगले महँगो र सुविधा सम्पन्न गाडी चढ्नु राम्रो नहुने’ भन्दै कार्यालयभित्रैबाट विरोध भएपछि कार्कीले एक रात राखेर गाडी सुटुक्क फर्काएका हुन । आफ्नो गाडी अख्तियारका प्रमुखले चढ्न लगेपछि कार्यकारी निर्देशक यादव प्राधिकरणकै अर्को बा ६ च १०३१ नम्बरको गाडी चढेका थिए ।
कार्कीले बिहीबार दिउँसो प्राधिकरणको गाडी सुटुक्क फर्काएका थिए । ‘गाडी लगेको मात्र थाहा भयो तर बिहीबार त सुटुक्क
फर्काएछन्’– प्राधिकरणका एक अधिकारीले भने–‘अख्तियार प्रमुख नियुक्तिलाई लिएर विवाद र चर्चामा आएका कार्कीले प्राधिकरणको गाडी नचढ्नुपर्ने हो तर लगेर फर्काए । आलोचनाबाट जोगिए ।’
पहिला प्राधिकरणकै गाडी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाललगायतका विशिष्ठ नेताहरूले चढेका थिए । उनीहरूको सार्वजनिक रूपमा आलोचना भएपछि र स्वयं अख्तियारले समेत फर्काउन निर्देशन दिएपछि फर्काएका थिए । सत्तामा रहेका राजनीति दलका कार्यकर्ता र नेताहरूले प्राधिकरणका गाडी दुरुपयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि करिब दुई वर्ष अघिदेखि कसैले चढेका छैनन् ।
‘विगतमा पूर्वप्रधानमन्त्रीहरूले चढेको र व्यापक आलोचनापछि फिर्ता गरेको जानकारीसहित प्राधिकरणको गाडी नचढ्न भनेपछि कार्कीले फिर्ता गरेका हुन् ।’–अख्तियारका एक अधिकारीले भने– ‘अरूले दुरुपयोग गरे सचेत गराउनुपर्ने र फिर्ताका लागि निर्देशन दिँदै आएको र दिनुपर्ने निकायकै प्रमुख चढ्नु गलत भनेर भनेपछि कार्कीले वाध्य भएर फर्काएका हुन् ।’
अख्तियारका तत्कालीन कार्यवाहक प्रमुखआयुक्त ललितबहादुर लिम्बू र सचिव भगवती काफ्लेले पनि पटक–पटक प्राधिकरणको सुविधा सम्पन्न गाडी चढ्नका लागि प्रयास गरे पनि अख्तियारकै कर्मचारीहरूले नचढ्न सुझाव दिएपछि रोकिएको थियो । लिम्बूले त केही समय चढेका पनि थिए भने काफ्ले विरोधको कारणले चढ्न पाएनन् । ‘कार्कीले चढेको भए अरूलाई दुरुपयोग गरे भनेर निर्देशन दिने अख्तियारमाथि बारम्बार औंला उठ्थ्यो, फर्काएर राम्रो गरे’, ती अधिकारीले भने ।
अख्तियार प्रमुख कार्कीले प्राधिकरणका कार्यकारी निर्देशक यादवको गाडी लगेपछि बिहीबार दिनभर त्यसबारे चर्चा चलेको थियो । प्राधिकरणभित्रका युनियनहरूले समेत चासो राख्दै फिर्ता गर्नका लागि दबाब दिनेबारे छलफल गर्न थालेका थिए । तर, गाडी सुटुक्क फिर्ता भएपछि उनीहरू चुप भएका छन् ।

प्रतिक्रिया