विदेशीलाई नागरिकता नदेऊ

सरकारले संविधानसभा निर्वाचनको पूर्व तयारीका सिलसिलामा नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्र र मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया तीव्र रूपले अगाडि बढाएको छ । नागरिकता नपाएका नेपालीले नागरिकता पाउने र मतदाता नामावलीमा नाम समावेश गर्न सहज बनाइदिने सरकारको यो कार्य आफैँमा उत्तम कार्य हो । तर, घुम्ती शिविर खडा गरेर नेपाली जनतालाई सहज सेवा दिने शिविरबाटै विदेशीले पनि वंशजका आधारमा नागरिकता प्राप्त गरेको रहस्य खुलेपछि भने यस्ता शिविरहरू विवादमा तानिएका छन् । तराईका अधिकांश जिल्लाबाट संप्रेसित खबरहरूमा भारतीय नागरिकले नेपाली नागरिकता लिएको रहस्योद्घाटन भएको छ । नेकपा माओवादीलगायत विभिन्न दलले भारतीयलाई नागरिकता दिन संविधानसमेत आदेशमा संशोधन गरेको आरोप लगाइरहेका अवस्थामा उनीहरूको आशंका सत्यमा परिणत हुनु दु:खद विषय हो । मधेस केन्द्रित दलका नेताहरू यस विषयमा बोल्दैनन् भने ठूला तीन दल पनि दक्षिण छिमेकी रिसाउँछ कि भनेर डराइरहेका छन् । अहिले शंका गर्न थालिएको छ कतै यो मुलुकलाई दूरगामी असर पार्ने राष्ट्रघाती कार्य गर्न अरूकै निर्देशन प्राप्त भएको त छैन ? किनकि, हाम्रा नेताहरू नेपाली जनताको विश्वास गर्दैनन् भने आफ्नो खुट्टामा पनि उभिन सक्तैनन् । अहिले सिमानामा रहेका भारतीय सहरहरूमा नेपालमा नागरिकता खुलेकाले सहज रूपमा घुम्ती शिविरबाट नगारिकता लिने योजना बनाउनेहरूको भीड लाग्ने गरेको छ । कतिपय भारतीयले आफ्नो ससुरा, मामा, फुपाजु, भिनाजुलगायतलाई आफ्नो बाबु बनाएर नागरिकता लिँदै छन् । यो निकै दु:खलाग्दो र राष्ट्र विरोधी गतिविधि हो । यसलाई तुरुन्त रोक्नुपर्छ ।
नेपालीले जुन जिल्लाको भए पनि नेपाली नागरिकता सहज र सरल रूपमा प्राप्त गर्न सक्नुपर्छ । चाहे त्यो तराईको होस्, चाहे त्यो हिमालको । नेपाली हो भने नागरिकताबाट वञ्चित हुनुहँुदैन । तर, भारतीय र चिनियाँले नेपाली नागरिकता प्राप्त गर्नसक्ने अवस्था पनि रहनुहुँदैन । अहिले तराईका जिल्लामा विभिन्न तरिकाले नेपालीको छोरो बनेर भारतीय व्यक्तिले नेपाली नागरिकता प्राप्त गर्ने कोसिस गरिरहेका छन् । कतिपय भारतीयहरू नेपाली नागरिकता लिन सफल भए भने केही व्यक्ति पक्राउसमेत परेका छन् । यता हिमाली र उपत्यकाका जिल्लाहरूमा भगौडा तिब्बतीहरू नागरिकता प्राप्त गर्न विभिन्न माध्यमहरू अपनाउँदै छन् । उत्तरी सीमाना भौगोलिक रूपले विकट भएको हुँदा हूलबाँधेर आएर नेपाली नागरिकता लिन सक्ने अवस्था छैन । तर, भारतसँग सीमाना जोडिएका जिल्लाहरूमा भने सहज आवत–जावत र समअवस्थाका कारण नागरिकता प्राप्त गर्ने अवस्था छ । यही कारणले तराईका सिमानामा किर्ते कागजात तयार गर्ने गिरोहनै सक्रिय भएका छन् । नक्कली कागजात पेस गर्नेहरूले पनि नागरिकता प्राप्त गरेका खबर आएका छन् । यस्ता गतिविधि पूर्णरूपले रोक्न नेपाल सरकार सफल हुनुपर्छ । अन्यथा नेपालीले भन्दा विदेशीले बढी नागरिकता पाउने सम्भावना रहन्छ ।
अहिले तराईका जिल्लाका प्रमुखजिल्ला अधिकारी, गाविस सचिव र सम्बन्धित पक्षले गैरकानुनी रूपमा नागरिकता लिनबाट विदेशीलाई रोक्न सकेनन् भने नेपालमा नेपाली नै अल्पमतमा पुग्ने अवस्था रहन सक्छ । सायद यसैलाई मध्यनजर राखेर होला गत आइतबार मात्र तराईका प्रमुखजिल्ला अधिकारीहरूलाई गृहमन्त्रालयले परिपत्र जारी गरेको छ । तर, परिपत्र जारी गर्नुलाई मात्र गृहमन्त्रालयले आफ्नो दायित्व ठान्नुहँुदैन । के गर्दा र कुन माध्यम अपनाउँदा विदेशीले नागरिकता पाउने बाटो बन्द हुन्छ त्यही गर्न जरुरी छ । अहिले सर्लाही जस्तो एउटै जिल्लाबाट किर्ते कागजात पेस गरी नागरिकता लिने १९ जना पक्राउ परेका छन् । यसको अर्थ हुन्छ पक्राउ पर्नेभन्दा नेपाली नागरिकता प्राप्त गर्ने पक्राउ नपरेका विदेशी धेरै छन् । पश्चिम धनगढीदेखि पूर्व झापासम्म रहेका तराईका जिल्लाबाट धेरै विदेशीले नागरिकता प्राप्त गरे । अब सरकारले कसरी छानविन गर्छ ? कारबाही गर्ने प्रक्रिया र दण्डसजाय गर्ने कानुन छ वा छैन । यी सबै पक्षमा ध्यान दिन जरुरी छ । जो शिविरमा आउँछ हचुवाका भरमा उसैलाई नागरिकता दिने हो भने नेपाल जस्तो सानो मुलुकको अवस्था के होला ? सोच्नुपर्ने बेला भएको छ  ।

प्रतिक्रिया