३३ प्रतिशत महिला जिताउने दाहालको प्रतिवद्धता

prachandaकाठमाडौं, २ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधानसभा चुनावमा ३३ प्रतिशत महिला सहभागी गराउने प्रतिवद्धता जनाएका छन् ।
महिला अधिकारकर्मी तथा महिला पत्रकारसँगको भेटमा बुधबार अध्यक्ष दाहालले गत संविधानसभा चुनावमा आफ्नो पार्टीका तर्फबाट धेरै महिलाले जितेको उल्लेख गर्दै अब पनि कम्तीमा ३३ प्रतिशतलाई जिताएर ल्याउने प्रतिबद्धता जनाएका हुन् । महिला अधिकारकर्मी तथा महिला पत्रकारहरू दाहाललाई भेट्न एमाओवादी पार्टी मुख्यालय पेरिसडाँडा पुगेका थिए । उच्चस्तरीय राजनीतिक समितिको वैठकमा पनि सोही विषयमा छलफल भइरहेको जानकारी गराउँदै उनले भने, ‘निर्वाचन ऐनमै कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको र सबै दल त्यसप्रति गम्भीर देखिएका छन् ।’ उनले सम्पूर्ण राजनीतिक दलका नेताहरूलाई भेटेर सुझाव दिन पनि अधिकाकर्मीलाई आग्रह गरेका थिए ।
२४ वटा विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको संस्थाका तर्फबाट दाहाललाई दिइएको ज्ञापनपत्रमा १३ बुादे माग राखिएका छन् ।  दाहाललाई बुझाएको मागपत्रमा आगामी संविधानसभा चुनावमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता परिणाममै सुनिश्चित हुनुपर्ने, महिला हिंसामा संलग्न भएका व्यक्तिले उम्मेदवारी दिन नपाउने, कम्तीमा ३३ प्रतिशत महिला सहभागी नभएको दललाई उम्मेदवारी दिन नपाउने व्यवस्था गर्नुपर्नेलगायत माग समेटिएका छन् । दाहालसँगको भेटमा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले आगामी संविधासभा चुनावमा परिणममै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनुपर्ने बताएकी थिइन् । दिदीबहिनी संस्थाका अध्यक्ष सलोनी सिंले मागपत्र पढेर सुनाएकी थिइन् ।

प्रतिक्रिया