चुनाव जित्न नक्कली विद्यार्थी भर्ना

TUकाठमाडौं , २ जेठ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न क्याम्पसमा लाखौँ खर्च गरेर नक्कली विद्यार्थीको भर्ना अभियान थालेका छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनहरूले नक्कली विद्यार्थी भर्ना गर्न थालेका हुन् ।
आगामी २३ जेठमा हुने स्ववियु चुनावका लागि आइतबारदेखि त्रिविका क्याम्पसहरूले एक हप्ताका लागि विद्यार्थी भर्ना खुला गरेको छ । शुक्रबारसम्म मात्र त्रिविले स्ववियु चुनावका लागि भर्ना गर्ने भनेपछि विद्यार्थी संगठनहरूले भर्ना अभियानलाई तीव्रता दिएका छन् ।
उनीहरूले भोटका लागि  स्नातक प्रथम वर्ष ५ हजार र स्नातकोत्तर प्रथम वर्षमा १० हजार भर्ना फि तिरेर फर्जी र पढाइ सकाइसकेका विद्यार्थी भर्ना गरिरहेका छन् । द्वितीय वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ भर्ना नपर्ने नियम बनाएपछि संगठनहरु नक्कली विद्यार्थी बनाएर स्नातक र स्नाकोत्तर प्रथम बर्षमा भर्ना गर्न थालेका हुन ।
मुख्यत: राजधानीका ठूला आंगिक क्याम्पस मानिने त्रिभुवन विश्वविद्यालय किर्तिपुर, रत्नराज्य क्याम्पस, अमृत साइन्स, सरस्वति क्याम्पस लैनचौर, पाटन सयुक्त क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचाल, पब्लिक युथ क्याम्पसमा विद्यार्थी संगठनहरुले लाखौं खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरिरहेका छन । अन्य क्याम्पसमा भने पहिलेदेखि आफ्नो बर्चस्व देखिएकोले उनीहरुले पैसा खर्च गरेर भर्ना गरेका छैनन् । ति क्याम्पसहरुमा फाट्टफुट्ट २०–३० जना भर्ना गरिरहेका छन् ।
विशेष गरि एकिकृत माओवादीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले नक्कली विद्यार्थी भर्नाकालागि लाखौं रुपिया खर्च गरिरहेका छन । नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी भने पैसा खर्च गरेर भर्ना अभियानमा लागेको देखिएको छैन ।
पार्टी फुटेसंगै संगठनपनि फुटेकोले अखिल क्रान्तिकारीलाई चुनाव जित्न हम्मे हम्मे पर्ने भएपछि उसले नक्कली विद्यार्थी भर्नामा खर्च गर्न थालेको हो । ११ विद्यार्थी संगठनसंग चुनावमा मोर्चाबन्दी गरेको अखिल क्रान्तिकारी पहिले आफूले जितेको क्याम्पसका गुम्ने हो कि भन्ने डरमा रहेको छ ।
अनेरास्ववियु क्रान्तिकारीले पहिले आफूले जितेका क्याम्पस बर्चस्व कायमै राख्न र केही नयाँ क्याम्पसमा जित्नका लागि नक्कली विद्यार्थी भर्ना अभियान थालेको हो । क्रान्तिकारीले त्रिविसंगै अमृत साइन्स क्याम्पस, आरआर क्याम्पस, महेन्द्ररत्न क्याम्पस र सरस्वति क्याम्पसमा चुनाव जित्नका लागि लाखौं खर्च गरिरहेको छ ।
त्यस्तै, नेपाल विद्यार्थी संघ त्रिवि, शंकरदेव, त्रिचन्द्र, पशुपति, पद्मकन्या, पशुपति क्याम्पस तथा अनेरास्ववियु त्रिवि, आरआर, सरस्वति, अमृतसाइन्स, पाटन, महेन्द्ररत्न, मिनभवन क्याम्पसमा आफ्नो बर्चस्वय कायम गर्ने अभियानमा जुटेको छ । ति क्याम्पसहरुमा उनीहरुले नक्कली विद्यार्थी भर्ना अभियान पनि बढाएका छन ।
त्रिवि केन्द्रीय क्याम्पसमा डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी उठ्ने भएकोले क्रान्तिकारी जसरी भएपनि चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको छ ।
स्रोतका अनुसार हिसिला यमीले नै आफ्नी छोरी उठ्ने भएपछि विद्यार्थी भर्नामा  लाखौ रुपिया खर्च भर्ने भएकी छन् । क्रान्तिकारीले अहिले त्रिविमा  दैनिक ५० जना विद्यार्थी गर्दै आइरहेको छ ।
स्रोतका अनुसार क्रान्तिकारी ३ सय नक्कली विद्यार्थी भर्ना गर्ने अभियानमा छ । एक जना विद्यार्थी भर्ना गर्न त्रिविमा १० हजार रुपियाँ लाग्ने गरेको छ । यसरी ३ सय विद्यार्थी भर्ना गर्न ३० लाख खर्च हुन्छ । २०६५ को चुनावमा अखिल क्रान्तिकारीले ५ सय विद्यार्थी भर्ना गरेको थियो ।
त्यस्तै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले पनि त्रिविमा सय जनाको हाराहारीमा नक्कली विद्यार्थी भर्ना  गर्ने अभियानमा जुटेका छन् । फाट्टफट्ट भर्ना गरिरहेका नेविसंघ र अखिलले शुक्रबारसम्म सय जना भर्ना गरिसक्ने योजना बनाएक छन । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना हुन थालेपछि  त्रिविमा शिक्षा र मानविकि संकायमा भर्ना रोकेका छन् ।
त्यस्तै आरआर क्याम्पसमा अखिल क्रान्तिकारी र अखिलबीच स्ववियु चुनाव जित्नका लागि विद्यार्थी भर्ना गर्ने होडबाजी नै चलेको छ । क्याम्पस प्रशासनका अनुसार आइतबार यता ४ दिनमा आरआर क्याम्पसमा ६ सय नयाँ विद्यार्थी भर्ना भएका छन् । अखिल क्रान्तिकारीले भर्नाका लागि १ सय ५० फारम लिइसकेको छ । आरआरमा स्नातक तहमा भर्ना गर्नका लागि ५ हजार र स्नाकोत्तर तहमा  १० हजार लाग्छ ।
अमृत साइन्स क्याम्पसमा विवाद हुदा अहिलेसम्म नयाँ विद्यार्थी भर्ना हुन सकेका छैनन् । क्रान्तिकारीले कोटामा  ५०/५० विद्यार्थी भर्ना गर्न माग गरेपछि
नेविसंघ, अखिल र अखिल क्रान्तिकारीले असहमति जनाएका छन । ‘अखिल क्रान्तिकारीले भागबण्डाको आधारमा  ५०/५० जना गरौं भनेको छ । त्यो हामी कुनै हालतमा मान्दैनौ’, स्ववियु सभापति कमल बस्नेतले भने–‘हामीले विद्यार्थी स्वयम उपस्थित भएर मात्र भर्ना गर्न भनेको छौ । त्यसैले भर्ना रोकिएको हो ।’
अखिल क्रान्तिकारी बाहेक अन्य संगठनले कोटामा नभई भर्ना हुन चाहने विद्यार्थी स्वयम उपस्थित भएर  विद्यार्थी नै उपस्थित हुनपर्ने अडानमा रहेका छन् ।  स्रोतका अनुसार नन्दकिशोर पुनका छोरा दिपेश पुन स्ववियुको अध्यक्षमा उम्मेदवारी दिने भनेपछि जित्नका लागि  अखिल क्रान्तिकारीले कोटा मागेको हो । अस्कल अखिलको पकडमा रहदै आएको छ ।
सरस्वति, महेन्द्ररत्न र पाटन क्याम्पसमा तीनै संगठनहरु नक्कली विद्यार्थी भर्ना गर्न तिर लागेका छन् । आइतवार यता सरस्वतिमा  २ सय नया विद्यार्थी भर्ना भइसकेका छन् ।  सरस्वतिमा तीनै संगठन सय सयको हाराहारीमा विद्यार्थी भर्ना गदैछन् । महेन्द्ररत्न ताहाचलमा अखिल क्रान्तिकारी १ सय ५०  जना विद्यार्थीको भर्नाका लागि फारम लिइसकेको छ भने अखिलले पनि आफ्नो पकड रहकोले सय पुर्‍याउने तयारी गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले अहिलेसम्म हाम्रो संगठन कुनै क्याम्पसमा नक्कली विद्यार्थी भर्ना नगरेको दाबी गरे । ‘हामी आफै स्ववियुलाई सुर्धाने प्रयासमा लागेका छौ’, उनले भने–‘त्यसैले नक्कली विद्यार्थी खडा गरेर हामी चुनाव जित्ने पक्षमा छैनौ ।’
नेविसंघका प्रवक्ता युपी लामिछानेले आफूहरुको लाखौ खर्च गरेर स्ववियु चुनाव जित्ने पक्षमा नरहेको बताए । अखिलका अध्यक्ष माधव ढुंगेलले भर्ना छुट भएका विद्यार्थीको भर्ना गरिएको जानकारी गराए । ‘भर्ना छुट भएका विद्यार्थीको भर्ना गरिएको हो’, उनले भने–‘तर संगठन पैसा खर्च गरेर चुनाव लड्ने पक्षमा छैन ।’
अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले आफूहरु नक्कली विद्यार्थी खडा गरेर चुनाव नलड्ने पक्षमा रहेको बताए । ‘हामी पैसा खर्च गरेर चुनाव लडदैनौ र त्यस्ताको विरोध पनि गर्दछौ ’उनले भने ।

प्रतिक्रिया