प्रहरीमा ६ हजार दश दरबन्दी थपिने

nepal_policeकाठमाडौं, २ जेठ । नेपाल प्रहरीमा एक प्रहरी उपरिक्षक(एसपी) सहित ६ हजार दश प्रहरीको नयाँ दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधान कार्यालयले सुरक्षा व्यवस्थालाई थप मजवुत बनाउनु पर्ने भन्दै गृहमन्त्रालयमा नयाँ दरबन्दी माग प्रस्ताव गरेको छ ।
गृहले प्रहरी प्रधान कार्यालयको प्रस्ताव स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाइसकेको छ । स्रोतका अनुसार अर्थले गृहको उक्त प्रस्ताव स्वकृत गर्ने लगभग पक्का छ । प्रहरी प्रधान कार्यालयले गृह समक्ष प्रहरी उपरीक्षक सहित अधिकृत तहका मात्रै एक सय ६ जनाको नयाँ दरवन्दीको माग गरेको स्रोतले जनाएको छ ।
प्रधान कार्यालय स्रोतका एक प्रहरी उपरीक्षक, २९ प्रहरी नायव उपरीक्षक र ७६ प्रहरी निरीक्षक नयाँ भर्ना गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, १ हजार १ सय ३१ जुनियर अधिकृतकको नयाँ दरबन्दीको माग गरिएको छ । प्रधान कार्यालयले गृहमा पेश गरेको माग प्रस्ताव अनुसार प्रहरी नायव निरीक्षक चार सय २३ र प्रहरी सह निरीक्षक सात सय आठ रहेका छन् ।
प्रधान कार्यालयले गृहमा प्रहरी हवल्दार र जवान पनि ठुलो संख्यामा माग गरेको छ । स्रोतका अनुसार हवल्दार १२ सय ६७  र  जवान ३ हजार ३ सय ७० जना माग गरिएको छ । त्यस्तै एक सय २९ प्रहरी परिचर नयाँ दरवन्दी थपिनु पर्ने माग पनि प्रधान काार्यलयको छ । प्रहरीले यो प्रस्तावलाई  गोप्य राखेको थियो ।
गृह स्रोतका अनुसार प्रधान कार्यालयले माग गरे बमोजिमको नयाँ दरवन्दी कुनै फेर वदल नगरि अर्थ मन्त्रालयमा पेश गरि सकिएको छ । स्रोत भन्छ,‘अर्थले गृहको उक्त प्रस्ताव पास गर्ने लगभग पक्का छ । त्यसलगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृत गर्नेछ ।’
संविधानसभा चुनावमा सुरक्षा व्यवस्था चुस्त बनाउन थप शक्तिको आवश्यकता महसुश भएपछि प्रधान कार्यालयले गृह समक्ष नयाँ दरवन्दीको माग प्रस्ताव गरेको हो । प्रधान कार्यालय स्रोत भन्छ, ‘चुनावमा हुन सक्ने सुरक्षा थ्रेटलाई विश्लेषण गरि हामीले गृह समक्ष नयाँ दरवन्दीको माग गरेका हौं । लगभग यो प्रस्ताव पास पनि हुन्छ । किनकी हामीले माग प्रस्ताव बैज्ञानीक ढंगले तयार गरेका हौं ।’
प्रधान कार्यालयले केही साता अघि गृह समक्ष आठ सयको संख्यामा सवारी साधानको माग गरेको थियो । सो प्रस्ताव पुरा गर्न नेपाल सरकारले करिब तीन अर्व रुपैयाँ बराबर खर्च गर्नु पर्ने हुन्छ । राज्यकोषले त्यति खर्च धान्न नसक्ने भएपछि गृहले परराष्ट्र मन्त्रालय मार्फत नेपालस्थित भारतीय राजदुतावासमा सहयोगसहितको माग प्रस्ताव पेश गरिसकेको छ ।
सशस्त्र प्रहरीले पनि गृह समक्ष विभिन्न पदका गरि दुई हजार दुई सयको संख्यामा नयाँ दरबन्दीको माग गरिसकेको छ ।

प्रतिक्रिया