कलिङ सो छाड्दै भिजे

suraj-singh-thakuriकाठमाडौं, १ जेठ । देशमा बढ्दै गएका टेलिभिजन च्यानलहरू, त्यसमा प्रसारण हुने सामग्रीमा थुप्रै नयाँ तथा फरक खालका कार्यक्रमहरू सिर्जित भएका छन् । टेलिभिजनपिच्छे अनेकाँै कार्यक्रम छन् । जसले दर्शकलाई सूचना र मनोरञ्जन प्रदान गर्ने गरेका छन् । यी कार्यक्रम सञ्चालन गर्ने भिजेहरू पनि धेरै छन् । जो आफूलाई अरूभन्दा फरक देखाउँछन् । चलचित्रका स्टार, टेलिशृंखलाका स्टार भनेझँै भिजेमा पनि कति स्टार गनिएका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर, यो वास्तविकता हो । भिजेकर्मबाट कतिले क्यारियर बनाउँदै देशविदेशमा समेत आफ्नो नाम फैल्याएका छन् भने कतिले टेलिभिजन च्यानलसमेत चर्चित तुलइदिएका छन् ।
भिजेमा पनि ती व्यक्तिहरूको प्रसंग कोट्याउन चाहन्छु, जो टेलिभिजन च्यानलमा कलिङ सो (टेलिफोनबाट प्रत्यक्ष दशकसँग कुराकानी) गर्ने कार्यक्रम चलाएर टेलिभिजन र आफ्नो नाम अग्रपंक्तिमा ल्याउन सफल छन् । कलिङ सोका भिजेका कुरा गर्दा अग्रपंक्तिमा पर्छन् सरोज केसी ।
केसी त्यसै अग्रपंक्तिमा पर्न सफल भएका होइन् । उनले नै नेपालको टेलिभिजन इतिहासमा पहिलो कलिङ सो कार्यक्रम भित्र्याएका हुन् । ०५९ मा च्यानल नेपालमा प्रसारण सुरु भएको ‘हेलो’ कार्यक्रम नेपालका टेलिभिजहरूकै इतिहासमा पहिलो कलिङ सो हो । यसै कार्यक्रमका कारणले केसी निकै समय चर्चामा रहे । पहिलो दिन निकै कठिनाइको सामना गर्दै कार्यक्रम सञ्चालन गरेका केसीले दोस्रो दिनदेखि भने सहज तरिकाले सञ्चालन गरे । त्यतिबेला नेपालका एफएम रेडियोले मात्र सञ्चालन गर्ने कलिङ सो टेलिभिजनमा भित्र्याउन उनी सानोतिनो संघर्षले सफल भएका भने होइनन् । आफू काम गर्ने टेलिभिजनका कार्यक्रम प्रमुखकहाँ यसको प्रपोजल लिएर जाँदा कैयाँैपटक खप्की खानुपरेको थियो, उनले । यस्तो कार्यक्रम पनि हुन्छ, यो त रेडियोको कार्यक्रम भइहाल्यो नि † ‘प्रपोजल लिएर जाँदा कार्यक्रम प्रमुखले उनलाई दिने जवाफ हो यो । यस्तो कार्यक्रम कहीँ हँुदैन भनेर मलाई सुरुमा कार्यक्रम दिइएन’ केसीले भने । लगातारको प्रयासले अन्तत: कार्यक्रम ल्याउन सफल भए । पछि यो टेलिभिजनकै चर्चित कार्यक्रमसमेत बन्यो ।
पाँच वर्ष च्यानल नेपालमा यो कार्यक्रम चलाएका केसी अहिले कलिङ सोभन्दा पनि अन्य मनोरञ्जनात्मक कार्यक्रम र साना तथा ठूला पर्दाका चलचित्र अभिनयमा छन् । च्यानल नेपाल छोडेर न्युज टेलिभिजनमा काम गरेका कारण कलिङ सो आफूले नगरेको उनले बताए । हाल एफएम रेडियोमा दिनको दुई घन्टा कलिङ कार्यक्रम गर्ने गरेका केसी अहिले टेलिभिजनमा कलिङ सो गर्ने इच्छा नभएको बताउँछन् । उनी भन्छन्, ‘प्राविधिक रूपले मैले सुरु गरेको समयभन्दा अहिले निकै सजिलो छ तर मलाई अहिले मन छैन ।’ आफू अहिले अभिनय र एफएममै रमाउन चाहेको उनले सुनाए ।
टेलिभिजनमा कलिङ सोको सुरुआत केसीले गरे पनि यसलाई फैल्याउने काम भने सुरज सिंह ठकुरीले गरे । च्यानल नेपालमा सांगीतिक कार्यक्रम चलाउने गरेका सुरजले यो टेलिभिजन छाडेर कान्तिपुरमा ‘कल कान्तिपुर’ कलिङ सो चलाए । कान्तिपुर टेलिभिजनमा १० वर्ष लगातार यो कार्यक्रम चलाएका सुरज यसै कार्यक्रममार्फत बालकदेखि वृद्धसम्मको मन जित्न सफल भए ।
लगभगा तीन महिना भयो होला सुरजले यो कार्यक्रम छोडेको । धेरै यो कार्यक्रम चलाएँ । अब पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न छोडेको हँु सुरजले भने । म्युजिक भिडियो निर्देशन, नयाँ टेलिभिजन कार्यक्रम निर्माणलगायत कामका नयाँ जिम्मेवारी बढेकाले यसलाई हस्तान्तरण गरेँ । घरपरिवारलाई समय दिन नपाउनु, बोलाएको कार्यक्रममा सहभागी हुन नपाउनु कार्यक्रम छाड्नुको अर्काे कारण  सुरजले खुलाए । १० वर्ष लगातार कलिङ सो गर्दा कहिलेकाहीँ रिसर्च गर्ने गरेका उनले योबाहेक अन्य केही कठिनाइ आफूलाई नपरेको सुनाए ।
हुन त टेलिभिजनका कलिङ सोका कुरा गर्दा आसिफ शाहको योगदान पनि कम छैन । इमेज टेलिभिजनमा पाँच वर्ष लगातार ‘म्युजिक अफ योर च्वाइस’ नामक कलिङ सो चलाएका शाहको कार्यक्रमको लोकप्रियताले अन्य टेलिभिजनमा पनि सोही प्रकृतिका कार्यक्रमले प्राथमिकता पाए । तर, आसिफ पनि अहिले कलिङ सोमा छैनन् । उमेरका कारणले उनले यो छाडेका हुन् । बुढ्यौली उमेर लाग्दै गएका कारणले कलिङ सो छोडे शाहले ।  यो सो छाडे पनि टेलिभिजनबाट भने म टाढा रहेको छैन । मैले बनाएका म्युजिक भिडियो तथा विज्ञापन टेलिभिजनका च्यानलहरूमा प्रसारण भइरहेका छन् । एक सयभन्दा बढी म्युजिक भिडियो र त्योभन्दा बढी विज्ञापन, चलचित्र निर्माण गरेका शाहले पछिल्लो समय ‘कर्कस’ नामक चलचित्र निर्देशन गरेका छन् । अब टेलिभिजनको कलिङ सोभन्दा चलचित्र, म्युजिक भिडियोमै रमाउन चाहन्छु शाहले आफ्नो सोच सुनाए ।
हुन त इमेज टेलिभिजनको कलिङ सोको कुरा गर्ने हो भने विवेक सिंहको नाम पनि अग्रपंक्तिमा आउँछ । उनले म्युजिक अफ योर च्वायस विगत आठ वर्षदेखि लगातार चलाइरहेका छन् । हप्ताको दुई दिन । रेडियोमा पनि यस्तै कार्यक्रम छ, टेभिजनको सो पनि चलाइरहेको छु विवेकले भने । सोको अलावा अन्य केही काम गरिरहेको छु । टेलिभिजनमा कलिङ सो पहिलो इमेज च्यानलले भित्र्याएको समेत विवेकले दाबी गरे । ‘इमेजले सुरु गरेको कलिङ सो अहिले प्राय: टेलिभिजनमा छन्’ उनले थपे ।
कलिङ सोको कुरा गर्नुपर्दा किरण खनालको नाम पनि छुटाउन मिल्दैन । उनी निकै पछाडि कलिङ सोमा देखिएका हुन् तरपनि उनी आफ्नो छुट्टै स्थान बनाउन सफल छन् । ०६७ देखि ६९ सम्म माउन्टेन टेलिभिजनमा खनालले ‘म्युजिक अन डाइल’ कलिङ सो चलाएका थिए । उनको कार्यक्रमको विशेषता गीत/संगीतप्रेमीमाझ निकै लोकप्रिय थियो । ‘अरूका कुरा सिक्न र आफ्ना कुरा सिकाउन यस्ता कार्यक्रमको महत्त्वपूर्ण हँुदोरहेछ’, किरणले भने । अन्य कार्यक्रमभन्दा यस्ता कार्यक्रममा दर्शक धेरै पाएँ । कार्यक्रम हरेक दिन हुने भएकाले बिदा लिन नपाइने, बिरामी हँुदा पनि कार्यक्रम गर्नुपर्ने लगायतका समस्या कलिङ सो सञ्चालन गर्दा झेल्नुपर्ने उनले खुलाए । किरणको यो सो अहिले छैन । तैपनि, उनी यसै सोका कारण अहिले पनि चिनिन्छन् । उनी अहिले माउन्टेन टेलिभिजनमा चलचित्रसम्बन्धी मनोरञ्जनात्मक कार्यक्रम चलाउ छन् भने केही समयपछि सेलिब्रेटीसम्बन्धी टक सो ल्याउने तयारीमा लागेका छन् । उनीसँगैका साथी चलचित्रमा हिरो भएका छन् । यसले उनको ध्यान चलचित्र तथा म्युजिक भिडियोतिर तानिएको छ । ‘समय आएपछि यी क्षेत्रमा पनि लाग्छु होला’ उनले आफ्नो सोच बताए ।

प्रतिक्रिया