बुढ्यौली सुरक्षित नदेखे चलचित्रक्षेत्र छाड्छु

Mahendra-Budathokiम कलाक्षेत्रमा आउनुपछाडिको कारण एउटै छ, पारिवारिक ब्याकग्राउन्ड । मेरा गुरु भनेकै दाइ रमेश बुढाथोकी हुनुहुन्छ । जन्मथलो विराटनगरमा छँदैदेखि उहाँ ड्रामाहरू गरिरहनुहुन्थ्यो । दाइसँगको संगतले ममा पनि कलामोह पलाउन थालेछ । जब दाइ काठमाडौँ आउनुभयो, टेलिसिरियलतिर लाग्नुभयो । त्यसपछि विराटनगरमा उहाँको ठाउँ मैले ओगटेँ ।
०५० तिर हो, दाइ काठमाडौँ छिर्नुभएको । यति बेला मेरो पनि नसानसामा कलामोह पसिसकेको थियो । त्यही क्षमताका बलमा विराटनगरमा दाइको अभाव महसुस हुन दिइनँ । उमेरले २२–२३ वर्षको ठिटो थिएँ, बेग्लै जोसजाँगर थियो । दाइले कोरेको पथलाई अझ राम्रोसँग अघि बढाएर आफ्नो नाम चम्काउने सोच थियो । सुरुमा अरुण प्रधानको निर्देशनमा पहिलो हरर ड्रामा ‘गुम्सिएको रहस्य’ मा काम गरेँ, अभिनयमार्फत । त्यो ड्रामा हेर्ने सबैबाट प्रशंसा पाएँ । सबैको प्रेरणा अनि लगातार एकमाथि अर्काे काम । के चाहियो ? यसैमा आफ्नो भविष्य चम्काउने सम्भावनाहरू देख्न थालेँ । अभिनयसँगै लेखनकार्य पनि अघि बढाएँ । तयार भयो, ‘प्रतिद्वन्द्वी’ नाटकको स्क्रिप्ट । शो गरियो, गतिलो रेस्पोन्स आयो । लगत्तै ‘सहयात्री’ नाटक गरेँ । लेखन र अभिनयसाथै निर्देशन पनि मेरै थियो । यसले मलाई सफलताको स्वाद चखायो । उत्साह यति बढेछ कि केही महिनाभित्रैमा म आधा दर्जन बढी नाटकमार्फत लेखन, निर्देशन र अभिनय तीनै विधामा चिनिएँ ।
दिन बित्दै थिए, उमेर पनि । कामको अनुभवले खारिँदै थिएँ । विराटनगरकै एक मित्र प्रकाश भट्टराई (भाग्यरेखा चलचित्रका निर्देेशक) सँग भेट भयो । अब कसरी अगाडि बढ्ने, हाम्रो दिनहुँ सल्लाह हुन्थ्यो । काठमाडौँ छिर्ने कि इन्डियातिर हानिने, द्विविधामा थियौँ । इन्डिया जाने तय गर्‍यौँ । तर, यो निर्णयलाई परिवारले अपरिपक्व माने । रमेश दाइलाई खबर गरे– ‘भाइहरू फिल्म लाइनमा लाग्न इन्डिया जाने भन्दै छन्, के गर्ने ?’ दाइले थर्काउँदै यतै (काठमाडौँ) आइज भनेर बोलाउनुभयो । ०५४–०५५ तिर ।
त्यसपछि केही नसोची म पनि काठमाडौं छिरे । जे परे नि बेहोर्ने दाइ भइहाल्नुहुन्थ्यो, सोचिरहनु पनि के पर्‍यो र ? दाइ ‘अनुराधा’ सिरियलको तयारीमा हुनुहुन्थ्यो । त्यसमा मैले पनि असिस्टेन्टका रूपमा काम गरेँ । सानो पर्दामा मेरो पहिलो पाइला । त्यसपछि केही समय काम भएन । विराटनगरै फर्किएँ । कलाक्षेत्रबाट केही समय टाढा रहेँ । पहिलो सिरियलमा मैले गरेको काम चित्त बुझेर होला, दाइले ‘छोरो’ चलचित्रका लागि बोलाउनुभयो । उति बेलाका चल्तीका नायक गणेश उप्रेतीले यसको निर्माण गर्न लागेका थिए । दाइले मलाई दोस्रो असिस्टेन्टका रूपमा क्ल्याप पड्काउने काम दिनुभयो । अब मेरा पाइला ठूलो पर्दामा पुगे ।
त्यसको काम सकिँदानसकिँदै म चिरञ्जीवी बस्नेत, नयनराज पाण्डेलगायतको नजरमा पर्न सफल भएछु । उहाँहरूले मलाई आफ्नो चलचित्रमा मुख्य सहायक निर्देशक बनाउनुभयो । बस्नेतको ‘चण्डाल’ मा निर्देशक अरुणकुमार शाहको मुख्य सहायक भएर काम गरेँ । नयनराज पाण्डेको ‘निर्मोही’ पछि अरू पनि केही निर्देशकको मुख्य सहायक भएँ । एक दर्जन हाराहारीका चलचित्र पुगिसकेका थिए ।
कामकै सिलसिलामा निर्माणनियन्त्रक मिलन सुवेदीसँग नियमित भेट हुन्थ्यो । उहाँले मेरो क्षमता नियालिरहनुभएको रहेछ । एउटा चलचित्र गर्नुपर्‍यो भन्दै उहाँले राजकुमार राईसँग भेट गराउनुभयो । राजकुमारजी दिदी बिरामी भएर नर्भिक अस्पतालमा हुनुहुन्थ्यो, त्यहीँ भेट गर्‍यौँ । ०५५–५६ तिरको कुरा हो । अस्पतालकै चौरमा बसेर कुरा फाइनल गर्‍यौँ । म आफँैले ‘संगम’ टाइटल जुराएर कन्सेप्ट बताएँ । उहाँले मन पराउनुभयो । त्यति बेला चलेका कलाकार रमेश उप्रेती, दिनेश शर्मा, बिपना थापा, मेलिना मानन्धरलाई लिएर चलचित्र बनायौँ । निर्माता राजकुमारजीको यो पहिलो चलचित्र हो । मेरो निर्देशनको पनि पहिलो । चलचित्रको पूरै काम सौहार्दपूर्ण तरिकाले सकियो तर जुन हिसाबले सफलता पाउनुपर्ने हो, पाएन । यद्यपि दर्शक र अग्रज चलचित्रकर्मीले सकारात्मक रेस्पोन्स गरे । नाफा नकमाए पनि लगानी भने उठाएकै थियो । फेरि राजकुमारजीकै निर्माणमा ‘त्रिवेणी’ चलचित्र निर्देशन गरेँ । यसले व्यवसाय राम्रो त गर्‍यो नै, सकारात्मक छाप पनि छाड्यो । त्यसपछि पवन मैनालीको ‘दिदीबहिनी’ गरेँ । यो चलचित्रको नब्बे प्रतिशत काम सकिए पनि निर्माताहरूका कारण अझै पूरा हुन सकेको छैन । त्यसपछि दिलकुमार प्यासीको ‘मैदान’ गरँे । यसले राम्रो लाभ दियो ।
जति चलचित्रमा काम गरेँ, सबैबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएपछि आफैँ चलचित्र निर्माण गर्ने सोच पलायो । एक त निर्माणको अनुभव हुने, थोरबहुत मुनाफा पनि कमाउन सकिन्छ कि भन्ने आश थियो । ‘ज्वालामुखी’ को निर्माण र निर्देशन दुवै आफैँले गरेँ । राम्रै भयो । त्यसपछि मौनता श्रेष्ठको ‘आँधीतुफान’ गरेँ ।
चलचित्र गरिरहँदा पनि मेरो ध्यान सानो पर्दाबाट कहिल्यै हटेन । यसमा दर्शकबाट तुरुस्तै रेस्पोन्स पाउन सकिन्थ्यो । अरू पक्षबारे पनि जानकार थिएँ नै । सानो पर्दामा केही गर्ने सोचले ‘करुणा’ टेलिशृंखला सुरु गरेँ । आफ्नै प्रोडक्सन हाउस भएकाले खर्च पनि त्यति लागेन । डमी बनाएर नेपाल टेलिभिजनमा दिए । टेलिभिजनमा कसैसँग चिनजान नभएकाले प्रसारण होला भन्ने आश उति धेरै थिएन । टेलिभिजनमा देखाउँदा हेर्नेहरूले राम्रो भनेछन् र टेलिभिजनकै पहलमा सिन्को मिडियामार्फत यसको प्रसारण भयो । दोस्रो भागबाट नै दर्शकको मन जित्न सफल भयो ।
सबैको अनुभव एउटै नहुन सक्छ । मेरो विचारमा चाहिँ सिरियल गर्न चलचित्रभन्दा गाह्रो छ । चलचित्र एउटा निर्माताको भरमा अडिएर गर्न सकिन्छ । सिरियलका लागि टेलिभिजनको समय, स्पोन्सर, स्पोन्सर गराउने एजेन्सीलगायत धेरै पक्ष ख्याल गर्नुुपर्छ । तर, रमाइलोचाहिँ बढी सिरियलमै हुन्छ । त्यसैले सिरियलमा भिजेको जो कोहीले चलचित्र र सिरियलमा रोज्नुपर्दा सिरियलै रोज्छ । बनाउन गाह्रो भए पनि दर्शकमा यसको लोकप्रियता चलचित्रको भन्दा दशौं गुना बढी हुन्छ । ‘करुणा’ एक सय चार भागसम्म नियमित प्रसारण भयो । केही बाधा पनि आए । त्यसपछि टेलिभिजनले धेरै लामो सिरियल नगर्ने भन्यो । सिन्को मिडियाले करुणाकै अर्को संस्करणका रूपमा प्रसारण गर्ने गरी कुरा मिलाएछ । करुणा भाग–२ बनाएर दिएँ । यसले पनि सफलता पायो । अहिले टेलिभिजनले यसलाई रिपिट पनि गरिरहेको छ ।
‘करुणा’ पछि घरायसी कारणले तीन–चार वर्ष ग्याप भयो । साथीहरू, आफन्त जो भेट्दा पनि चलचित्रबाहिरका कुरै हुँदैनथे । जहाँ जाँदा नि एउटै प्रश्न– ‘अहिले कुन चलचित्र गरिँदै छ त ?’ फेरि चलचित्रमै फर्किएँ । नशा लागेपछि छोड्न नसकिने । अहिले ‘स्टार’ चलचित्र बनाएँ, प्रदर्शनको तयारीमा छ । पहिलेजस्तो चलचित्रमा चलेकै टाउको खोज्नुपर्ने बेला अहिले छैन । त्यसैले नयाँ–पुराना दुवै कलाकार समेटेर कमर्सियल चलचित्र बनाएको छु । कलाक्षेत्रको आफ्नो लामो अनुभव उतारेको छु ।
केही वर्ष कलाक्षेत्रबाट टाढिँदा साथीभाइको गुनासो एउटै हुन्थ्यो– ‘नयाँ आएकाहरू धेरै अघि बढिसके, तपाईं यसरी सेलाएर बस्नु हुँदैन ।’ मलाई काम गर्न हौस्याउँथे । लामो रिफ्रेसमेन्टपछि बनाएको ‘स्टार’ले दर्शकको मन जित्ने विश्वास छ ।
तर, मैले अनुभव गरेको एउटा कुरा के भने यो क्षेत्रमा जति नै नाम कमाए पनि टाढा रहेका बेला साथीभाइबाहेक कसैले खोजी गर्दाे रहेनछ । हाम्रोमा त्यो संस्कार र परम्परा बनेकै छैन । यसको अर्थ त्यति बेला पनि चलचित्रका अफर नआएका भने होइनन् । केही चित्त नबुझेर र केही नभ्याएर गर्न सकिनँ ।
ख्यालख्यालैमा मेरो कलायात्रा दुई दशक बितिसकेछ । आर्थिक हिसाबले उस्तो केही गर्न सकिएको छैन । धेरैले चिन्छन् । तपाईं फलानो होइन, यो चलचित्र होइन, तपाईंको काम राम्रो छ भनिदिँदा पनि निकै आनन्द आउँछ । गर्व गर्न मन लाग्छ । त्यसैले सन्तुष्टि दिन्छ । यति मात्र हो । फेरि यसमा लागेर उस्तो गुमाएको पनि केही छैन । समय गुमाएँ भनुँ भने त्यसबाट केही सिकेको पनि त छु । त्यसैले बितेका ती पलहरूसँग कुनै गुनासो छैन । यो त मेरो सपनाको क्षेत्र हो, यसबाट सधैं सिकिरहेकै छु । सहायकदेखि अहिले निर्देशकको भूमिकासम्ममा पनि मेरो सिक्ने क्रम रोकिएको छैन । आफैँले गरेका कामले आफैँलाई सिकाइरहन्छन् । यो दृश्यलाई अझ यस्तो बनाउन पाएको भए हुन्थ्यो भन्ने लागिरहन्छ ।
चलचित्रक्षेत्रमा जति कर्म गरियो, धेरथोर फल पनि पाएकै छु । तर, कामअनुसारको पारिश्रमिक छैन । यो नहुँदा कहिलेकाहीँ दु:ख लाग्छ । तर, हाम्रो जस्तो सानो मुलुकको चलचित्रक्षेत्र अहिलेको अवस्थामा आइपुग्नु पनि ठूलै हो । यतिका समय बलिउड वा हलिउडमा बिताएको भए चार–पाँच पुस्तालाई आरामले जीवन गुजार्ने व्यवस्था हुन्थ्यो होला । हाम्रो देशमा त्यो नहुँदा अलि दु:ख लाग्छ । बजार सानो, देश सानो छ भन्यो, चित्त बुझायो । यत्ति हो सन्तोष लिने बाटो ।
यसैमा लागेर बुढ्यौली सुरक्षित हुन्छ भन्ने लाग्न छाडेको छ अचेल । चलचित्रक्षेत्र चामत्कारिक रूपमा सुध्रियो भने मात्रै, नत्र चलचित्रकर्मीको जीवन सुरक्षित हुने अवस्था छैन । नचाहेर पनि भोलिका दिनमा यो लाइनै त्याग्नुपर्ने हुन सक्छ । तर, सोच सकारात्मकै राख्नुपर्छ, भोलि राम्रै होला । बुढ्यौली सुरक्षित हुने अवस्था देखिनँ भने यो लाइनै चेन्ज गर्ने कि भन्ने पनि लाग्छ कहिलेकाहीँ । त्यस्तो अवस्था आइलागे म सजिलैसँग चेन्ज गर्छु, सोच पनि त्यही छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया