‘भगौडा’ सुरक्षाकर्मीद्वारा राजनीतिक दल घोषणा

Surya-Bdr-Ghimire-Bhagaudaकाठमाडौं, ३१ वैशाख । माओवादी सशस्त्रद्वन्द्वका क्रममा जागिरी छाडेका नेपाली सेना र प्रहरीका ‘भगौडा’ सुरक्षाकर्मीले ‘नेपाल राष्ट्र सेवा दल’ घोषणा गरेका छन् ।
संविधानसभाको आगामी निर्वाचनमा दलीय रुपमा सहभागी हुने भन्दै ‘भगौडा’ सुरक्षाकर्मीले राजनीतिक दलको घोषणा गरेका हुन् । काठमाडौंको पुतलीसडकस्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कक्षमा मंगलबार पत्रकार सम्मेलन गरेर ‘भगौडा’ सुरक्षाकर्मीले दल घोषणा गरिएको हो ।
दलका संयोजक सूर्यबहादुर घिमिरेले आफूहरुले निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ देशभरि उम्मेदवारी दिने दाबी गरे । ‘दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन्छौं,’ उनले भने, ‘निर्वाचनमा हाम्रो दलले उल्लेख्य मत पाउने छ ।’
जागिरी छाडेर भागेका ‘भगौडा’ सुरक्षाकर्मीलाई भविष्यमा कुनै पनि पदमा योग्य वा अयोग्य ठहर्ने कानूनी व्यवस्था छ । कसुरको प्रकृति हेरेर सो कानून भगौडा सुरक्षाकर्मीको हकमा लागू हुन्छ ।
‘सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरी’का नाममा घिमिरे नेतृत्वको समूहले विगत केही वर्ष देखि क्षतिपूर्ति र पुन:स्थापनाको मागसहित आन्दोलन समेत गर्दै आएको छ ।
‘नेपाल राष्ट्र सेवक दल’लाई निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएर देशभरि संगठन विस्तार गर्ने संयोजक घिमिरेले योजना सुनाए ।
माओवादी द्वन्द्वका क्रममा ४६ हजार चार सय ९० सुरक्षाकर्मी भागेको  तथ्याङक पत्रकार सम्मेलनमा दिईएको थियो ।
सल्लाहकार प्रेमबहादुर बिष्टले आफूहरु चुनावको सम्पूर्ण तयारीमा जुटेको दाबी गरे ।
यसैबीच, भगौडा सुरक्षाकर्मीले राजनीतिक दल घोषणा गर्न लागेको थाहा पाएर पुगेको प्रहरीले हस्तक्षेप गरेको थियो । भगौडा प्रहरी र प्रहरीबीच पत्रकार सम्मेलनको विषयलाई लिएर केही समय तनाव भएको रिपोर्टर्स क्लवद्वारा जारी समाचारमा उल्लेख छ ।

प्रतिक्रिया