जनजाति महासंघको नेतृत्वमा कुमाल

Nagendrakumar-kumalचितवन, ३१ वैशाख । नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित भएका छन् ।
सोमबार राति सम्पन्न निर्वाचनमा कुमालले निकटतम प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाई पराजित गरेका हुन् । निर्वाचनमा खसेको ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएका थिए ।
अध्यक्ष पदका अर्का प्रत्यासी नरेश ताम्राकारको पक्षमा तीनमत मात्रै परेको थियो ।
कुमाल कांग्रेस निकट नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत हुन् । महासंघमा आवद्ध जातीय संस्थाहरूबाट एक/एकजनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
नवनिर्वाचित अध्यक्ष कुमालले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफ्नो नेतृत्वका कार्यसमिति खरो रूपमा उत्रने बताए ।
महासचिवमा २२ मतसहित पेम्बा भोटे निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा महिलाबाट रोश्नी मेचे, हिमालबाट डन्डु शेर्पा, पहाडबाट सूर्यबहादुर माझी, भित्री तराइबाट चिनीलाल माझी, तराईबाट रामअवतार मण्डल विजयी भएका छन् ।
त्यसै गरी, सचिवहरूमा यशोधा चौधरी, गणेशलाल थकाली, यमबहादुर चेपाङ, चिनीमाया माझी, ध्यानी उराव निर्वाचित भएको जारी विज्ञप्तिमा उल्लेख छ । कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित भएका छन् ।
पहिचानसहितको सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीलगायतका सवाललाई संस्थागत गर्ने घोषणा पत्रमा उल्लेख छ । महासंघले विघटित संविधानसभा ३ महिनाका लागि पुन:स्थापना गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया