गाउँमा सरकार

Deukhuriदाङको बेला गाविसमा गतहप्ता दुर्लभ दृश्य देखियो । मुस्किलले भेटिने गाविस सचिव कार्यालयमै छन् । यति मात्रै होइन, नागरिकता दिने इलाका प्रशासन कार्यालय लमहीका प्रमुख पनि त्यहीँ छन् । अनि, त्यहीँ छन् डाक्टर, कृषि तथा पशुविशेषज्ञ र अपांगता परिचयपत्रका लागि निवेदन संकलन गर्ने व्यक्ति पनि । मानौँ, सरकार सदरमुकामबाट आज गाउँ झरेको छ । जनतालाई प्रशासनिक सेवा दिन अल्पकालीन शिविर खडा गरेको छ ।
जिल्लाका महत्त्वपूर्ण कार्यालयको सेवा बिनाझन्झट गाउँमै उपभोग गर्न पाउँदा दंग देखिन्थे बेला–७ का घनश्याम यादव । बेला–३ बरुवा नाकाकी विरमला सुनार दुई दिन हिँडेर सरकारी शिविर भएको स्थानमा आइपुगिन् । १५ वर्ष भयो, पतिले उनलाई छाडेको । दुई छोरी छन्– एउटी २३ र अर्की १८ वर्षकी । न आमा विरमलाको नागरिकता छ न त छोरीहरूको नै । ‘नागरिकता नहुँदा निकै समस्या भयो, अझैसम्म छोरीहरूको जन्मदर्ता गराएको छैन, पढ्न पनि पाएका छैनन्,’ उनले बह पोखिन्, ‘नेपालको स्कुलमा पढाउन जन्मदर्ता चाहिन्छ, श्रीमान्ले छाडेर गइहाले, न विवाह दर्ता छ न नागरिकता ।’ जन्मदर्ताको अभावमा नेपाली विद्यालयले भर्ना नलिने भएकाले छोरीहरू भारतीय विद्यालयमा पढ्छन् । ‘नागरिकता, जन्मदर्ता भए यहीँको स्कुलमा पढाउँथे,’ उनले भनिन्, ‘हाम्रो दु:ख कसले देख्ने ।’
बेला–८ की २२ वर्षीया सोनी यादव झडापखालाले पीडित छन्, अनि शिविर आइपुगेकी छन् । डाक्टरले उनलाई नियमित पानी पिउन र सरसफाइमा ध्यान दिन सुझाए । अनि, जीवनजल र अन्य औषधि दिए । ‘पेट दुखेको दुख्यै थियो, पखालाले सतायो अनि गाउँमै चलेको शिविरमा आएँ,’ यादवले भनिन्, ‘अस्पतालसम्म पुग्न गाह्रो थियो ।’ उनले शिविरबाट नागरिकता पनि बनाइन् । यसअघि दुईचोटि लमही धाउँदा पनि नागरिकता लिन नपाएपछि उनी पिरोलिएकी थिइन् । खुसी सुनाउँछिन्, ‘अहिले गाउँमै आएको शिविरले बनाइदियो, खुसी लाग्यो ।’
घनश्याम यादवका गोठमा ४५ वटा भैँसी छन् । तीमध्ये ११ वटा भैँसी बाली गएका छैनन् । भैँसी बाली नजाँदा बाँझो हुने पीर उनलाई रहेछ । ‘कसरी भैँसीलाई बाली लगाउन सकिन्छ भन्ने विषयमा सोध्न आएको,’ उनले आउनुको कारण स्पष्ट पारे । शिविरमा जिल्ला पशुसेवा कार्यालय दाङले परामर्श तथा उपचार उपलब्ध गराएको थियो । पशुसेवा केन्द्र लमहीमा कार्यरत कृष्ण न्यौपानेले यादवलाई औषधि र परामर्श दिए । धर्मराज यादवलाई धानबालीमा लाग्ने गभारो रोगको चिन्ता छ । ‘धानको सिजन आइराखेको छ, धानका बालामा कालो पोका पर्ने समस्याले सताउने गर्छ,’ कृषि सेवा केन्द्र लमहीका मनोज मण्डलसमक्ष उनको जिज्ञासा– ‘यसको समाधान कसरी गर्न सकिन्छ ।’
जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा पहिलोपल्ट बेला गाविसमा आयोजित घुम्ती शिविरमा दक्षिणमा भारतसँग सीमा जोडिएका नाका क्षेत्रबाट उल्लेख्य नागरिक सेवा लिन आएका थिए । नेकपा–माओवादीले घुम्ती शिविर सञ्चालनमा रोक लगाउने चेतावनी दिए पनि गत बुधबारदेखि कडा सुरक्षाबीच शिविर सुरु गरिएको थियो । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी, प्रहरी चौकी, सशस्त्र प्रहरीका जवानहरू खटेका थिए । नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका ३२ जवान शिविर सञ्चालन गरिएका प्रत्येक कोठा, ढोका र बाहिरी भागमा पहरा दिइरहेका थिए । गाउँमै पुगेर नागरिकता, सिफारिस, व्यक्तिगत घटना दर्ता, फोटोसहितको मतदाता नामावली संकलन, कृषि र पशु स्वास्थ्यबारे परामर्श र उपचारसेवा, अपांगता भएका व्यक्तिलाई परिचयपत्र, निवेदन संकलनलगायत सेवा एकैसाथ प्रदान गरिएको थियो ।
बेला गाविसमा बिहीबारसम्म शिविर चलेको थियो । विकट र दूरदराजका नागरिकलाई एकै साथ सेवा पुर्‍याउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । केन्द्रीय नीतिअनुसार जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा शिविरको आयोजना गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । ‘केन्द्रीय निर्देशनअनुसार एकीकृत घुम्ती शिविर चलाइएको हो,’ पन्थले भने, ‘नागरिकको उत्साह निकै पायौँ ।’ शिविरस्थलमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, जनस्वास्थ्य अधिकृत केशवराज पण्डित, जिल्ला निर्वाचन कार्यालय प्रमुख शेषमणि गौतम, जिल्ला प्रहरी कार्यालयका डिएसपी अरुणकुमार शाह, इलाका प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपाललगायत सहभागी थिए ।

प्रतिक्रिया