कमजोर नेता असफल मुलुक

लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रमुख बनाइएपछि नेपालमा निकै ठूलो हलचल पैदा भयो । कोही पक्षमा उभिए कोही विपक्षमा । चार दलीय चौकडीले पूर्ण सहमतिसाथ अख्तियारको प्रमुख बनाइएका लोकमानविरुद्ध खनिनेहरू चौकडीविरुद्ध भने खनिन सकेनन् । चुनावी सरकारका प्रमुख खिलराज रेग्मी र कार्कीको पुत्ला जलाउनेहरूले आफ्ना महान् नेतातर्फ औँला पनि ठड्याएनन् । गल्ती गर्ने एउटा सजाय पाउने अर्कै भनेजस्तो भयो । वास्तवमा लोकमान चार दलका शीर्ष नेताले जोड बल गरेर बनाइएका व्यक्ति हुन उनको विरोध गर्नुको कुनै तुक छैन । असफल, नालायक, कठपुतली नेतृत्वले संविधान बनाएन, दलकै नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गराउन सकेन, सुशासन र कानुनी राज्य बनाउनेतर्फ ध्यान दिएन भने एउटा व्यक्तिको विरोध गर्नुको कुनै तुक छैन । कार्कीको विरोध गर्ने सवालमा नेपाल बन्दको आह्वान गरेका विद्यार्थीले भने बन्द फिर्ता लिएर राम्रो गरे । उनीहरूले आन्दोलनका अन्य कार्यक्रमलाई भने निरन्तर जारी राख्ने घोषणा गरेको पाइयो । यो आन्दोलन आफ्नै नेतृत्वको आत्मा, विवेक र बुद्धि शुद्धीकरणका लागि केन्द्रित भए राम्रो हुनेछ । किनभने राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने लोकमान होइनन् यिनै नेताहरू हुन् । तसर्थ, विरोधका कार्यक्रम नेताहरूप्रति नै लक्षित हुनुपर्छ । अन्यथा आन्दोलनको सान्दर्भिकता र औचित्य रहँदैन ।
एमालेले लोकमानका हकमा विदेशीको दबाब रहेको ठहर गरेर नेताहरू विदेशीको दास भएको प्रमाणित गरिदियो । यदि नेपाली नेताले विदेशीकै इसारामा काम गर्ने हो भने उनीहरूले आफूहरू जनचाहना र राष्ट्रको आवश्कताअनुसार काम गर्न सक्तैनाँै भन्नुपर्छ । अन्यथा, रिमोर्ट कन्ट्रोलमा चल्नेहरूले देशको अस्तित्व समाप्त पार्न सक्छन् । यही कारणले गर्दा अब नेपाली जनताले आन्दोलनलाई आफ्नै नेता केन्द्रित बनाउन जरुरी छ । किनभने, खिलराज रेग्मी सरकारले निर्वाचन मिति घोषणा गर्न नसक्नुको कारण पनि यिनै नेता हुन । चौकडीको निर्देशन भएपछि मात्र निर्वाचनसम्बन्धी ऐन पारित हुने अवस्था छ । आफ्नो हातमा चाबी लिएर बस्ने अर्कालाई ताला खोलेन भनेर आरोप लगाउने काम अहिले भइरहेको छ । जतासुकै विवाद, अवरोध र बखेडा झिकेर राष्ट्र र जनतलाई दु:ख दिने काम नेताहरूले गरेका छन् । विदेशी चलखेल अत्यधिक बढाउने काम पनि यिनैले गरेका हुन् । यदि नेतृत्वले आफ्नो क्षमता र जनभावनामा विश्वास गथ्र्यो भने विदेशीले बोल्न पनि सक्ने थिएन । लाजसरम पचाएर ‘प्रभु’ सामु लम्पसार पर्ने हाम्रो नेतृत्व अब नालायक भयो, यसबाट राष्ट्रहित हुन सक्तैन भन्ने सबैले बुझ्नुपर्छ ।
जब राष्ट्र कमजोर हुन्छ स्वाभाविक रूपले त्यसबेला विदेशी चलखेल बढ्छ । जब दलीय नेतृत्व वा राष्ट्रका प्रमुख व्यक्तिहरू नालायक हुन्छन् त्यही समयमा राष्ट्रिय संकट आइलाग्छ । अहिले नेतृत्वकै कारण राष्ट्र नै खतरामा परेको आभाष हुँदै छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको केही दिन अघिको भनाइअनुसार विदेशीले सहयोग नगरे आफ्नो राष्ट्रवादको अर्थ नरहने आसय व्यक्त गरे । उनले आफूहरूले १० वर्ष घोकेको राष्ट्रवाद र लिएको ध्वंश नीति प्रयोजनहीन र ठूलो गल्ती भएको दाबी गरे । यता एमाले अध्यक्ष झलनाथ खनालले आफ्नै पार्टीको केन्द्रीय कमिटीको बैठकमा विदेशीको ठाडो हस्तक्षेप भएको र त्यसबाट मुक्त हुन सक्ने अवस्था नरहेको स्वीकार गरेर अर्को नालायकी प्रकट गरे । यो सबै किन, कसरी र कसका कारण भएको हो नेपाली युवा र जनताले बुझ्न जरुरी छ । अन्यथा, नेपालको अस्तित्व मेटिन सक्छ । राष्ट्र रहे मात्र सबै कुरा सम्भव छ । राष्ट्र नरहेमा केही पनि सम्भव छैन । यो बुझेर युवाहरू अगाडि बढ्नुपर्ने हुन्छ । होइन भने नेताहरूबाट मुलुकको संकट समाधान हुन्छ भन्न सकिँदैन ।

प्रतिक्रिया