‘स्वतन्त्र प्रेस र न्यायपालिकाविना लोकतन्त्र बलियो हुँदैन’

Damodar Prashad Sharmaकाठमाडौं, ३० वैशाख । कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेसको अस्तित्वविना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन् । प्रेस र न्यायापालिका एक अर्काका सहयोगी भए मात्र समाजले लोकतन्त्रको अनुभूति गर्नसक्ने बताउँदै उनले यी दुई निकायलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
पत्रकारको पेसागत र भौतिक सुरक्षामा न्यायपालिकाको भूमिका माग गर्दै प्रेस चौतारी नेपालले दिएको ज्ञापनपत्र बुझ्दै कामु प्रधानन्यायाधीश शर्माले लोकतन्त्र बलियो हुन अदालत र पत्रकारिता दुवैको रक्षा आवश्यक भएको बताए । ‘स्वतन्त्र प्रेस बलियो नभए अदालत बलियो हुँदैन,’ उनले भने, ‘अदालत बलियो नभए स्वतन्त्र प्रेसको रक्षा हुन सक्दैन ।’
यतिबेला स्वतन्त्र न्यायपालिकामा प्रेस जगत्बाटै प्रहार भएको कामु प्रधानन्यायाधीश शर्माले गुनासो गरे । ‘वास्तविकताभन्दा बाहिर गएर न्यायालयका विषयमा समाचारहरू आएका छन्, यसले न्यायालय मात्र कमजोर हुँदैन, प्रेस स्वतन्त्रतामा समेत गम्भीर आघात पुर्‍याउँछ,’ उनले भने । अदालतका विषयमा अहिले बाहिर आएका समाचारले न्यायसम्पादनमा समस्या पर्नसक्ने उनले बताए ।
प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न आवश्यक कानुनी सहजताको माग गर्दै कामु प्रधानन्यायाधीश शर्मालाई ज्ञापनपत्र बुझाएको थियो । शर्माले त्यसका लागि अदालतबाट हुनसक्ने कानुनी सहयता प्रधान गर्ने प्रतिबद्धता जनाए । ‘श्रमजीवीका सन्दर्भमा फैसला भएका छन् तर त्यो कार्यान्वयनमा आउन नसकेका कारण समस्या आएको छ, यसमा पनि मेरो पहल हुनेछ,’ उनले भने ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले कानुनी उपचारका लागि पर्याप्त प्रमाण नहुँदा अधिकांश श्रमजीवी पत्रकार कानुनी उपचारका लागि अदालतको ढोकामा आउन नसक्ने र आफ्नो सेवा सुविधाबाट पनि वञ्चित हुनुपरेको औँल्याउँदै वैकल्पिक प्रमाणलाई मान्यता दिन आग्रह गरे । जवाफमा कामु प्रधानन्यायाधीश शर्माले श्रमजीवीका समस्या सामधानका लागि टेलिभिजनमा पत्रकारले बनाएका रिपोर्ट र छापामा लेखिएका बाइलाइन समाचार पनि वैकल्पिक अदालती प्रमाणका रूपमा हुनसक्ने बताए ।

प्रतिक्रिया