क्षयरोग नियन्त्रण गर्न तालिम

भक्तपुर, ३० वैशाख । भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण अभियानमा नेतृत्व विकास गर्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा भक्तपुर र वासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । शनिबार र आइतबार भएको उक्त तालिममा प्रशिक्षक रामेश्वर भुजुले प्रशिक्षण दिएका थिए ।
क्षयरोग नियन्त्रण अभियानका लागि नेतृत्वको विकास गर्नु नै तालिमको मुख्य उद्देश्य रहेको संस्थाका सचिव राम सिख्वले जानकारी दिए । ‘हामी पनि नेतृत्व लिन सक्छौँ’ भन्ने भावनाका साथ सुरु भएको उक्त तालिममा आठ वटा सामुदायिक विद्यालयका १६ विद्यार्थीहरूले भाग लिएका थिए । सहभागी प्रशिक्षार्थीहरूलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले प्रमाणपत्र वितरण गर्नुहुँदै भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रणका लागि रेडक्रस सबैसँग सहकार्य गर्न इच्छुक रहेको विचार व्यक्त गरे । कार्यक्रममा बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मणशरण जोशी, शाखाका सभापति बाबुकाजी श्रेष्ठ, प्रशिक्षक भुजु, संस्थाका सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका सचिव प्रदीप जोशी, प्रशिक्षार्थी शर्मिला कुटु र धर्मजित खड्काले तालिमको महत्त्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया