सदभावनाको मधेस बन्दमा झडप

राजविराज, ३० वैशाख । मधेस बन्दका क्रममा यातायात अबरुद्ध गराउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा पुगेका सदभावना पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा नेपाल विद्यार्थी मञ्चका केन्द्रीय सह कोषाध्यक्ष किशोरकुमार यादवलगायत १ दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, सचिव हरेराम यादव, कोषाध्यक्ष शैलेसकुमार साह, यूवा नेता दिनेश यादव, दुर्गा इसर, रामचन्द्र यादव, लालबहादुर महतो, शम्भु यादव, धु्रवकुमार मण्डल, नागेश्वर साह, रामचन्द्र यादव, चन्द्रनारायण दास, जटेन यादवलगायतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सयौँको संख्यामा जम्मा भएका गाडी पास गराउन सहमति गर्न प्रयास गर्दा बेवास्ता गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सप्तरीका एसपी सञ्जयसिंह बस्नेतले बताए । उनीहरूलाई नियन्त्रणसँगै पश्चिमबाट आएर रोकिएका करिब डेढ सय र पूर्वबाट रोकिएका करिब ५० वटा सवारी साधन गन्तव्यतर्फ पठाइएको एसपी बस्नेतले बताए । यसैक्रममा प्रहरीको विरोध गर्दै पार्टीका कार्यकर्ताले करिब आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । ना ३ ख ५५४०, ना ३ ख ५८१९, स ४ ख ४८१७, ना ४ ख ५०९ र ना ४ ख ५८३० नं. को यात्रुबसमा तोडफोड गरी उनीहरूले क्षति पुर्‍याएका छन् । यद्यपि, प्रहरीले भने उक्त घटनाको पुष्टि गरेको छैन ।
यता पार्टीले आह्वान गरेको मधेस बन्दका कारण दिउँसो राजमार्गमा सवारी साधन चले पनि जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ । प्रहरीले स्कर्टिङ गरे बाहेक लामो तथा छोटा दूरीका अन्य सवारीका साधन चलेका छैनन् । त्यसैगरी राजविराजलगायत जिल्लाका मुख्य बजार बन्द रहेको स्थानीयले बताए ।
संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुन: निर्धारण, नागरिकता बाहेकका प्रमाणका आधारमा पनि मतदाता नामावली नाम संकलनलगायतका विभिन्न १५ बुँदे मागसहित राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले मधेस बन्दको आह्वान गरेको हो । यता पार्टीका केन्द्रीय प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवाराम यादव सोही मागलाई अघि सार्दै ११ दिनदेखि इनरुवामा आमरण अनसन बसेका छन् । उनीहरूको अवस्था गम्भीर देखिए पछि उपचारार्थ प्रहरीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गराएको छ ।

यात्रु बिचल्लीमा
सद्भावना पार्टीले गरेको मधेस बन्दका कारण आइतबार लहानमा यात्रुहरू बिचल्लीमा परेका छन् । काठमाडौंबाट विराटनगर, उदयपुर, राजविराज, धरानलगायतका ठाउँका लागि छुटेका रात्रि बसहरू लहानमा जाममा परेपछि यात्रुहरूको बिचल्ली भएको हो । बस मात्र दुई सय जति रहेकाले यात्रुको संख्या अत्यधिक भएकाले होटलमा खान र बस्न पनि समस्या भएको इलाम जाने क्रममा बन्दमा फसेका यात्रु सरोज दाहालले बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा बन्दमा फसेका करिब दुई सय बसलाई प्रहरीले अगुवाइ गरी लहानसम्म पुर्‍याएको छ । तर, बन्दकर्ताहरूले लहानबाट बसहरू पूर्व जान दिएका छैन् ।

प्रतिक्रिया