३३ दलको नेपाल बन्दको कार्यक्रम फिर्ता

maobadiकाठमाडौं, २९ वैशाख । नेकपा–माओवादीसहितका ३३ दलले सोमबारका लागि आह्वान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।
काठमाडौंमा आइतबार बसेको ३३ दलको बैठकले नेपाल बन्दको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको नेता मणि थापाले जानकारी दिए । ‘नेवार समुदायको रातो मच्छिन्द्रनाथको जात्रा परेकाले नेपाल बन्दको कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ,’ उनले भने, ‘बन्दको कार्यक्रम स्थगित गरे पनि बाँकी आन्दोलनका कार्यक्रम शसक्त रुपमा अघि बढाउँछौं ।’
यद्यपि, लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय विरुद्ध ३३ दल सम्बद्ध जनवर्गीय संगठनहरुका तर्फबाट वैशाख–३१ गते अख्तियार कार्यालयमा विरोध प्रर्दशन निर्णय भएको नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
प्रदर्शन बिहान ९ देखि ११ बजेसम्म आयोगको कार्यालय अगाडि हुने छ ।
वर्तमान सरकार विघटन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्कीको नियुक्तको विरोध गर्दै आएका नेकपा–माओवादीसहितका ३३ दलले सोमबार नेपाल बन्दको कार्यक्रम राखेका थिए ।
त्यसै गरेर, जेष्ठ–१ गतेबाट सुरु हुने मेची–काली राष्ट्रिय स्वाधीनता अभियानको कार्यक्रमको समर्थनमा सबै जिल्ला सदरमुकामहरुमा पनि सोही दिन जनसभाको आयोजना गरी ऐक्यबद्धता प्रदर्शन गर्ने निणर्य गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
आप्रवासीहरुलाई नागरिकता नदिन मागसहित खबरदारी गर्ने निर्णय गरेका ३३ दलले सरकारी घुम्ती टोलीले हालै सुनसरी, बारा, सिरहालगायतका जिल्लाहरुमा भारतीयलाई नागरिकता दिईराखेको जनाएका छन् । ‘घुम्ती टोलीहरुलाई अविलम्ब फिर्ता गरी विदेशीलाई नागरिकता दिन बन्द गर्न माग गरेर सबै जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने निर्णय भएको छ,’ गुरुङले भनेक छन् ।

प्रतिक्रिया