आस्था र इन्दिराले छाडे, दुर्गाले गाइन्

Durgaगुन्यु चोली छाडेँ मैले मिनी स्कर्ट लाएँ
रोधी घर छाडेँ मैले डिस्को क्लब धाएँ

काठमाडौं : चलचित्र राहदानीका लागि चेतन सापकोटाले संगीत तयार गरेको यस गीत गायिका आस्था राउत र इन्दिरा जोशीले गाउन नमानेपछि दुर्गा खरेलले गायकी छन् ।
डब्बु क्षत्रीले लेखेको यो गीत गायिका दुर्गा खरेलको स्वरमा शुक्रबार काठमाडौंको पुतलीसडकस्थित आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।
‘आस्था र इन्दिराले आइटम गीत नगाएर के भो त † अब दुर्गा खरेलले गायिन्,’ संगीतकार सापकोटाले भने । गीत आफूले सोचेभन्दा निकै राम्रो भएको दुर्गाले बताइन् । उनले भनिन्, ‘अब आइटम गायनलाई निरन्तरता दिन्छु ।’
दुर्गाले गाएको यस गीत अश्लील भयो भन्दै जोशीले नगाउने घोषणा गरिन् । यो मात्र होइन, अब चलचित्रको आइटम गीतसमेत नगाउने जवाफ इन्दिराले दिएको संगीतकार चेतन सापकोटाले बताए । गीतलाई अश्लील भयो भन्दै गाउँदिन भन्दा आफूलाई अचम्म लागेको संगीतकार सापकोटाले बताए । रमाइलो प्रसंगचाहिँ के छ भने, उद्रेको चोली..आइटम गीत गाउनकै लागि उनी यतिबेला विदेश यात्रामा जाँदै छिन् ।
अर्की गायिका आस्था राउतले पनि आइटम गीत नगाउने बताइन् । संगीतकार सापकोटाका अनुसार आइटम गीत गाउँदा उनलाई घरबाट बा–आमाले निकालिदिन्छन् । सालको पात… रिमेक गाउँदासम्म गायनमा आस्थाको परिचय थिएन । करिब दर्जन सिनेमामा आइटम गीत गाएपछि उनी गायिकाका रूपमा परिचित भइन् ।
चलचित्र राहदानीको ६ जेठबाट मोफसलदेखि छायांकन सुरु हुँदै छ । प्रस्तुतकर्तामा लक्ष्मीप्रसाद ढकाल छन् । सिनेमाका तीनवटा गीत दुर्गा खरेल, निशा देशर र प्रमोद खरेलको स्वरमा सुन्न पाइनेछ । यी गीतमा चेतन सापकोटा, वसन्त सापकोटा र जुगल डंगोलले संगीत दिएका छन् । (सौर्य)

प्रतिक्रिया