गलैचा निकासीकर्ताद्वारा पर्यटन क्षेत्रसरह सुविधा माग

काठमाडौं : नेपाल गलैँचा निकासीकर्ता संघले गलैँचा क्षेत्रलाई पर्यटन क्षे त्रले पाएको सुविधाअनुरूप भन्साररहित आयात सुविधा दिन सरकारसँग माग गरेको छ । संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई शुक्रबार अर्थ मन्त्रालयमा भेट गरी ३३ लाख वर्गमिटरको निकासी खस्किएर ५ लाख वर्गमिटरको हाराहारीमा सीमित भएको भन्दै गलैँचा उद्योगलाई राष्ट्रिय प्राथमिकता क्षेत्रमा राख्न आग्रह गरेको छ ।
संघका अध्यक्ष अनुपबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गलैँचा उद्योगको पुनरुत्थानका लागि सरकारले ४ प्रतिशतको ब्याजदरमा सºट लोनको घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गर्‍यो । देशको युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न २ हजार जनशक्तिलाई गलैँचा बुनाई, कार्डिङ, डाइङ र डिजाइनको तालिम आयोजना गर्न संघले बजेटको मागसमेत गरेको छ ।
सो अवसरमा अर्थमन्त्री कोइरालाले सम्भव भएसम्म व्यवसायीको माग सम्बोधन गरिने आश्वासन दिँदै सरकार र व्यवसायीको समान प्रयासबाट मात्र समस्या समाधान हुने भएकाले उपयुक्त सुझाव ल्याउन आग्रह गरे । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले अर्थमन्त्री कोइरालालाई भेटी एनआरएनले संस्थागत रूपमा हाइड्रोपावर क्षेत्रमा लगानी गरेको बताए ।

प्रतिक्रिया