‘उग्रवामपन्थी विचारले देशलाई पछाडि’

सुन्दरीजल, २९ वैशाख । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले उग्रवामपन्थी विचारले देशलाई पछाडि धकेलेको बताएका छन् । नेपाली कांग्रेस जोरपाटी गाउँ कार्यसमितिद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले भने– ‘अरुण तेस्रो आउन नदिन भूमिका खेलेका एमाले उग्रवामपन्थलाई छाडेर आएको देखिए पनि एमाओवादी र नेकपा–माओवादीका नाममा अझै उग्रवामपन्थी गतिविधि गरेर जलस्रोत आयोजनालाई रोकिँदै छ ।’
कम्युनिस्टहरूले माओ र माक्र्सको सिद्धान्त पढेर नेपाल चलाउन खोज्नु बेवकुफी भएको पनि उनले बताए । बिपीको समयको नैतिक धरातल, न्याय र आदर्श नभएकैले नेपाली राजनीति जटिल मोडमा पुगेर खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार अस्तित्वमा आएको पनि उनेले बताए । लोकमानसिाह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गलत भए पनि त्यसलाई अब अदालतले मात्र निर्णय गर्न सक्ने तर्क उनको थियो ।
अर्का केन्द्रीय सदस्य धनराज गुरुङले साझा पहिचान र सामथ्र्यसहितको संघीयता र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रमात्र नेपाली कांग्रेसले स्वीकार्ने बताउनुभयो । काठमाडौं–३ का कांग्रेस क्षेत्रीय सभापति चक्रबहादुर ठकुरीले संविधान निर्माणका लागि आगामी संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसलाई दुईतिहाइ मत दिएर विजयी बनाउनुपर्छ भन्नुभयो । गाउँ कार्यसमिति सभापति लालबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्यद्वय परशुराम पोख्रेल र लोकेश ढकाललगायतका वक्ताले उग्रवामपन्थी भड्काउले यसअघि संविधान नबनेकाले आगामी निर्वाचनमा जनताले विवेक पुर्‍याउनुपर्ने बताउनुभएको थियो ।
त्यसैगरी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मंसिरभित्रै निर्वाचन हुनेमा शंका व्यक्त गरे ।  ‘दलहरू असक्षम बन्दै गएको र कतिपय दलहरू निर्वाचनकै विरोधमा लागेकाले मंसिरमै निर्वाचन हुनेमा आशंका उब्जेको छ’– सिंहले भने ।  प्रगतिशील पत्रकार संघ बागलुङले आज बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री सिंहले मुलुकलाई जतिसक्दो छिटो निर्वाचन चाहिएकोले देशको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए ।
‘दलहरू नै इमान्दार छैनन्, निर्वाचन हुन नदिने र पुन: आफँै सत्तामा आउने षड्यन्त्र बुनेजस्तो देखिछ’– सिंहले भने–‘सरकारले यथाशक्य वातावरण बनाएर निर्वाचनको मिति तोक्नुपर्छ ।’ वर्तमान सरकार निर्दलीय सरकार भएकाले आफूले विरोध गरे पनि यही सरकारले गर्ने निर्वाचनमा भने सहभागी हुने सिंहको भनाइ थियो । ‘दलका पछिल्ला गतिविधि हेर्दा निर्वाचन हुनेमा शंका छ’– सिंहले भने–‘त्यसमाथि पनि सरकार पनि त्यति इमान्दार भएजस्तो देखिँदैन ।’
निर्वाचन हुन नदिने र निर्वाचनमा पनि भाग लिन्नौँ भन्ने वैद्य माओवादीको भनाइ उग्रवामपन्थी संक्रमणवादी सोच भएको सिंहको भनाइ थियो । मसालको भूमिगत कार्यपद्धतिबारे पत्रकारले राखेको जिज्ञासामा सिंहले आफ्नो पार्टीले दीर्घकालीन र तत्कालीन कार्यनीतिअनुसार भूमिगत र खुला कार्यप्रणाली अपनाएको बताउनुभयो । सिंह अर्धभूमिगत रूपमा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । शनिबारै सिंहले बागलुङका कवि तथा लेखकहरूसँग भेटघाट पनि गरे ।
उता विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रिय सहमतिका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । असहमतिमा रहेकालाई पनि सहमतिको बाटोमा ल्याएर मुलुकलाई निकास दिन तत्काल सहमति गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
इलाम नगरपालिकामा नवनिर्मित सहिद बमप्रसाद वान्तवाको सालिक आज अनावरण गर्दै उनले अहिले आपसी झगडाभन्दा पनि सहमति गरेर अघि बढ्न दलहरूलाई आग्रह गरे ।  दलहरूबीच एकल कि बहुपहिचान भन्ने विषयमा मतभेद रहेको भन्दै मुलुकको साझा एजेन्डामा सबै एकढिक्का हुनुपर्नेमा उनको जोड थियो ।
सहिद बमप्रसाद वान्तवा र रत्नकुमार वान्तवाले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा उनले जोड दिऐ । सालिक स्थापनाका लागि इलाम नगरपालिका निवासी कुन्ती बस्नेतले करिब रु १० लाख मूल्य पर्ने एक आना जग्गा नि:शुल्क उपलब्ध गराएकी थिइन । विसं २०३६ वैशाख २८ गते बमप्रसाद वान्तवालाई तत्कालीन पञ्चायती सरकारले इलामको साँखेजुङ गाविसमा हत्या गरेको थियो । प्रतिष्ठानका अध्यक्ष अगमप्रसाद वान्तवाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष पूर्णप्रसाद गौतम, एमालेका उपाध्यक्ष राम राना, जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी र सहिद परिवारका तर्फबाट देउप्रकाश राईले सहिद वान्तवाको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया