“मिति तोकिए नयाँ वातावरण बन्छ”

काठमाडौं, २९ वैशाख । एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानसभाको नयाँ चुनावको मिति तत्काल घोषणा गरिए देशमा नयाँ राजनीतिक माहोल तयार हुने बताएका छन । पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चुनावको मिति घोषणा भए जनतामा नयाँ आशाको सञ्चार हुने बताए ।
प्रमुख दलहरूबीच संविधानसभाको निर्वाचन पुरानै विधि र प्रक्रियाअनुसार गर्ने भन्ने विषयमा लगभग सहमति भएको जिकिर सापकोटाले गरे । सामान्य प्राविधिक विषयलाई तन्काएर केही दलले वातावरण बिगार्ने काम गरिरहेको उनको आरोप छ ।
संविधानसभाको चुनाव नियमित व्यवस्थापिका–संसदको चुनावजस्तो नभएको भन्दै उनले सबै वर्ग, तह र तप्काको उचित प्रतिनिधित्वका लागि ‘थ्रेसहोल्ड’ को व्यवस्था गर्न नहुने बताए । त्यसका लागि आफ्नो पार्टीले दलहरूको बैठकमा अडान लिइरहेको सापकोटाले बताए ।
‘निश्चित मत ल्याउने सबैलाई संविधानसभामा प्रतिनिधित्व गराउनुपर्छ, कुनै पनि छेकवार राखिनु हुँदैन, संविधानसभा भनेको राष्ट्रिय एकताको प्रतिनिधित्व गराउने ठाउँसमेत हो, त्यसलाई ख्याल गरिनुपर्छ भन्नेमा सबै दल प्रतिबद्ध हुनुपर्छ’, प्रवक्ता सापकोटाले भने । सडकमा कराएको भरमा वर्तमान सरकार नहटने प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया