थ्री–स्टारको सफलता राष्ट्रिय फुटबलको सफलता होइन

काठमाडौं, २८ वैशाख । स्टार र परिचित खेलाडीको जमघट हेर्दा हालसम्मकै सबैभन्दा बलियो नेपाली क्लबझैं लाग्ने अहिलेको थ्री–स्टार क्लबले शनिबार ताइबान पावर कम्पनीसँग एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताको अन्तिम चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । दुई खेलमा अग्रता कायम गरेको नेपाली टोलीका लागि अन्तिम खेलमा बराबरीको परिणाम मात्र पनि पर्याप्त हुनेछ । नेपालको खेलअघि हुने बंगलादेशको आबहानी लिमिटेड र मंगोलियाको इर्चिमबीचको खेलको परिणाम आफ्नो अनुकूल भए थ्री–स्टार अन्तिम खेल अगावै फाइनल चरणमा प्रवेश गर्नेछ । यस अर्थमा यो वर्ष थ्री–स्टार अन्तिम चरणमा प्रवेश गर्ने सम्भावना नै बलियो रहेको छ ।
थ्री–स्टारको जित या हार तथा अन्तिम चरणको प्रवेश वर्तमान नेपाली फुटबलका लागि तत्कालका लागि सबैभन्दा चासोको विषय हो । तर, यो क्लबको सफलता नै वर्तमान नेपाली फुटबलको सबैभन्दा महत्त्वपूर्ण र पूर्णसफलताको पाटो भने पक्कै होइन । त्योभन्दा ठूलो चुनौती भनेको आठ वर्षअघि काठमाडौंमा भएको प्रतियोगिताको पहिलो संस्करणमा गरेको प्रदर्शन र हालको थ्री–स्टारको स्तर हो । लिग च्याम्पियन भएलगत्तै थुप्रै स्टारसमेत भित्र्याएर राष्ट्रिय खेलाडीलाई समेत बेन्चमा राख्ने हैसियत बनाएको थ्री–स्टारको खेलस्तर भने अनुमान गरेभन्दा धेरै कमजोर देखिएको छ । आठ वर्षअघि सेमिफाइनलमा हारेर पनि नेपाली दर्शकको प्रिय बनेको थ्री–स्टार आठ वर्षपछि यसै प्रतियोगिताको छनोट चरणका खेलमा नीरस प्रदर्शन गर्दै आलोचनायोग्य बनिसकेको छ । ‘कहाँ त्यो थ्री–स्टार, कहाँ यो ?’ विगत सम्भँmदै दर्शकले भन्ने गरेका छन् ।
विगत केही वर्षयता नेपाली फुटबलका जानिफकारबाट थुप्रै आलोचनाको सिकार बनेको थ्री–स्टार क्लबले यो प्रतियोगिताको नतिजा जे भए पनि केही प्रश्नको जवाफ दिनै पर्छ । प्रतियोगिताको पूर्वसन्ध्यामा उब्जिएका यी प्रश्नको जवाफ नेपाली फुटबलका लागि आवश्यक पनि छ । ‘बेन्चमै बस्ने गरी स्टार खेलाडी थ्री–स्टारमै थुप्रन किन तयार भए ?’ ‘प्रेसिडेन्ट्स कप खेल्ने लोभमा या राष्ट्रिय टोलीमा पर्न थ्री–स्टारको जर्सी सहज हुने भन्ने चलेको हल्लाको आधारमा ?’ अन्य क्बलका थुप्रै शुभेच्छुकले खोज्ने जवाफ पनि हो यो । यसको जवाफ यस कारण पनि आवश्यक छ कि पछिल्ला लिगमा सुपर एटमा प्रवेश गरेको आठमध्ये राष्ट्रिय टोलीमा सबैभन्दा कम अवसर र प्राथमिकता पाएको एनआरटी नै नेपाली फुटबलबाट टाढा हुने निर्णय गरिसकेको छ । यस कारण यो प्रश्न र एनआरटीको फुटबल नखेल्ने निर्णय एक आपसमा सम्बन्धित पनि छन् । लिगमा एनआरटी पहिलो चरणमा थ्री–स्टारसँग १–० ले पराजित भएको थियो भने सुपर एटमा सात राष्ट्रिय खेलाडी सम्मिलित थ्री–स्टारलाई नै १–० ले हराएको थियो । एनआरटी क्लबसम्बद्ध राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर नरेन्द्र श्रेष्ठ भन्छन्, ‘राष्ट्रिय टोलीमा एनआरटीका खेलाडी नहुनु हाम्रो लबिङ कमजोर भएरै हो ।’ थ्री–स्टारका अधिकारी र खेलाडीले खुलेआम राष्ट्रिय टोलीको ढोका खोल्न थ्री–स्टार सहज क्लब हुने भन्दै खेलाडी भित्र्याउने गरेको आरोपमा पनि उनले सहमति व्यक्त गरे ।
छनोट चरणको अन्तिम खेल अगावै अन्य केही प्रश्न उब्जेका छन् । दोस्रो खेलमा इर्चिमसँग जित हात पार्दा विदेशी खेलाडीद्वय फेमी र डुडोजले गोल गरे । नेपाल यदि अन्तिम चरणमा प्रवेश गरे त्यो दुई गोलको भिन्न महत्त्व हुनेछ । यसअघि नेपालको घरेलु लिगमा विदेशी खेलाडीले नै जत्ति राम्रो खेले पनि राम्रो भन्न नसक्ने खेल भावनाकै विरुद्धमा फुटबल संघ र छनोट समिति रहेको थियो । नेपाली फुटबलले अन्तर्राष्ट्रिय सफलता नपाएको डेढ दशक नाघ्यो । क्लब फुटबल पनि त्यति सुखद छैन । प्रेसिडेन्ट्स कपको तेस्रो संस्करणमा फाइनल पुगेको पुलिस क्लब चौथोमा सेमिफाइनल पुग्यो । त्यसपछि नेपाली क्लबको प्रदर्शन गिरेको गिरेकै छ । यदि यी दुईका कारण नेपालको क्लबले नै एउटा खुड्किलो चढ्छ भने उनीहरूको स्तरीयतालाई स्वीकार गर्न राष्ट्रियताको नेपाली व्याख्याले छेक्छ कि छेक्दैन ? यो प्रश्न एन्फाका प्राविधिक विज्ञका लागि । स्मरणीय छ, यो वर्ष थ्री–स्टार क्लबले लिग जित्न, काठमाडौं बाहिर भएका दुई नकआउट फुटबलका उपाधि जित्न र प्रेसिडेन्ट्स कपमा पहिलो जित हात पार्न फेमीकै भूमिका सबैभन्दा महत्त्वपूर्ण छ ।
ललितपुर जिल्लामा ए डिभिजन क्लब तीनवटा छन् तर त्यहाँको सामाजिक क्षेत्र र आमनागरिकमा ललितपुरको ए डिभिजन क्लब एउटा मात्र भएको भान परेको छ । यो भान पर्नुमा कसको कति भूमिका छ, त्यो बहसको विषय हो । अन्य दुई क्लबको नेतृत्व असक्षमता पनि यसको प्रमुख कारण हुँदै हो । गत वर्षको सहिद स्मारक लिगमा तेस्रो र राष्ट्रिय लिगमा चौथो भएपछि जावलाखेल क्लबका तत्कालीन अध्यक्ष ठूलोभाइ केसी क्लबको नृतत्वमा रहिरहन सकेनन् । एन्फा नेतृत्वको सुनील शमशेर जबरा जावलाखेलको नेतत्वमा आए । थ्री–स्टार एन्फा नेतृत्वको निकट क्लब भन्ने हल्ला चल्नु, ठूलोभाइको नेतृत्व यथावत् नरहनु र ललितपुरवासीका माझ गलत सन्देश जानु सम्बन्धित विषय हो या होइन, वर्तमान फुटबलका लागि बहसको विषय हो । थप प्रसंग थ्री–स्टारले प्रेसिडेन्ट्स कपको टोली तयार गर्दा पनि अन्य क्बलको भन्दा बढी फ्रेन्ड्स क्लबकै खेलाडीलाई प्राथमिकता दिएको थियो ।
ललितपुर जिल्ला विकास समिति र ललितपुर नगरपालिकाले पनि तीन ए डिभिजन क्बलको बीचमा धेरै भेदभाव गर्ने गरेका छन् । अन्य क्लबको नेतृत्व कमजोर भए थ्री–स्टारलाई यी क्षेत्रबाट एकलौटी सहयोग पाउन अझ सहज हुने थुप्रै ललितपुरवासी बताउँछन् । ‘एन्फाका सुनील राणालाई सल्लाहकार भक्त राजकर्णिकारले व्यक्तिगत लेनदेनको आधारमा अध्यक्ष बनाएका हुन् । त्यसमा क्लबबाहिरका विभिन्न व्यक्तिको भूमिका त छँदै छ ।’ जावलाखेल क्लबका पूर्वमेनेजर समीर केसी बताउँछन् ।
प्रेसिडेन्ट्स कपमा थ्री–स्टार क्लब सफल भए धेरैलाई यो नेपाली फुटबलको सफलताको प्रतीक लाग्न सक्छ । तर, उसले दोस्रोपटक प्रेसिडेन्ट्स कप खेल्दासम्म एन्फाले गर्दै आएको अन्य क्लबमाथिको भेदभावको आरोप तथा देशकै पुरानो फुटबल क्लबले हाललाई फुटबल छाड्ने घोषणा र अन्य क्लबभित्र भएको बहसले नेपाली फुटबल हारिसकेको छ । र, यसको पूर्ति प्रेसिडेन्ट्स कपमा छनोट हुनु या नहुनले गर्न सक्दैन ।

प्रतिक्रिया