भिक्षु जिन्दगी

Gurung-Sushantaभवानी भिक्षु । भिक्षु उनै व्यक्ति हुन्, जसले एउटै ‘आगत’ उपन्यास लेखेर मदन पुरस्कार र साझा पुरस्कार दुवै हात पारे । भिक्षु उनै हुन् जसले एउटै उपन्यासलाई अठार वर्षको आयु खर्च गरे । अविश्वसनीय लाग्ने घटनाहरूले भरिएका नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व अब मिथक बनिसकेका छन् । उनी हाम्रासामु छैनन्, तर पनि उनका गहकिला कृतिहरूले भिक्षुलाई हामीबीच जीवित राखेका छन् । होचो–होचो कद, अनुहारमा शीतलाको खत, मुखमा पान आदि उनलाई आकर्षक हुनबाट अलग्याउने तत्त्वहरू थिए, तर मिष्ठभाषी व्यवहार र भाषा साहित्यको साधना भिक्षुलाई सुन्दर बनाउने आधारभूत पक्ष थिए ।
आज पनि मूल धारको पहाडिया मानसिकताले मधेसीप्रति गर्ने व्यवहार कस्तो हुन्छ भन्ने धेरैलाई अवगत छ  । आजभन्दा एक शतकअघि जन्मिए भिक्षु तौलिहवामा – वि. सं. १९७१ जेठ २१ गते । अनि उनले नाम प्राप्त गरे – भवानीप्रसाद गुप्ता । शीतला देवीले भिक्षा स्वरूप जीवनदान दिएको विश्वासले नामको पछाडि झुन्डाइदियो – भिक्षु । उनै अवधी मातृभाषी भिक्षु समयसँगै नेपाली साहित्यबाट डिलिट गर्नै नमिल्ने नाम भएर अंकित छन् । भिक्षु समालोचक होइनन् , आख्यानकार र कवि हुन् । विरोधाभाष या रोचकता कहाँ देखिन्छ भने पहिलो रचना ‘आलोचक र आलोचना’ नामक निबन्धात्मक समालोचना शारदा (१९९३कार्तिक) मा प्रकाशित देखिन्छ । यद्यपि उनले पहिल्यै नै हिन्दी भाषामा लेखिसकेका थिए । उनको वैयक्तिक जीवनवृत्त नियाल्ने हो भने भन्न सकिन्छ – भिक्षु दुर्घटना र बेमेलहरूको पर्याय हुन् । बाल्यकालमै झन्डैझन्डै मृत्युवरण, पहिलो पत्नीसँग सम्बन्ध विच्छेद, दोस्रो पत्नीको पनि विवाहको एकाध वर्षमै मृत्यु , मुद्दामामिला, काठमाडौंको एक्लो संघर्ष, अनेक आरोप, क्यान्सरको आक्रमण, एक्लो मृत्यु, मृत्युपश्चात् पनि अपेक्षाकृत थोरै मलामी आदि आदि उनका बेमेलपूर्ण जिन्दगीका परिदृश्यहरू हुन् । तर, भिक्षु जति बाँचे – कविता बाँचे , साहित्य बाँचे । उनले नेपाली भाषामा सुरुसुरुमा कविता लेखे । किनकि भिक्षुलाई लागेको थियो – गद्य जस्तो गहन विषयमा लेख्न उनको भाषा बलियो भइसकेको छैन । तर, पछि गद्यपद्य दुवैमा समानान्तर रूपमा लेखनी घोटिरहे । मुद्दा लड्न काठमाडौं आएका भिक्षु साहित्य लेखनमै निरन्तर भिडिरहे । हिन्दीमा मात्र लेख्ने र काठमाडौं छाड्ने घुर्की दिइरहे पनि भिक्षु आजीवन नेपाली भाषामै समर्पित रहे । ‘मेरुदण्ड’ उपनामबाट पनि निबन्ध लेख्ने भिक्षुको बहुचर्चित कथा ‘त्यो फेरि
फर्कला ?’ लाई भारतीय कथाकार गुलेरीको ‘उसने कहा था’ बाट प्रभावित भएको भनेर समालोचकहरूले लगाइको आरोप उनले अस्वीकार गरे । उनको बोली व्यवहारले धेरैलाई आकर्षित गथ्र्याे । उनको बोलीमा
हुन्थ्यो – गाम्भीर्यता र व्यवहारमा हुन्थ्यो – आत्मीयता । उनको घरमा गएपछि कविता र चिया अस्वीकार गर्न मनाहीजस्तै थियो पाहुनाका लागि । कतिले त उनको चिया र कवितालाई जोडेर व्यंग्य पनि गर्थे । उनको नेपाली बोलीमा तराईको प्रभाव रहन्थ्यो । कतिपय व्यक्तिहरू भिक्षुप्रति ओठ लेब्य्राउँथे । प्रज्ञा प्रतिष्ठान र नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान गरेका भिक्षुलाई ‘ता मदिसे, नेपाली भाषाको साहित्यकार ?’ भनेर आहारिसेहरूले टुटुल्को उठ्ने गरी ढुंगामुढा पनि गरे तर उनी हारेनन् । मीठो खाना खुवाउन या पकाउन सौखिन भिक्षु आफ्ना सन्तान नभएकाले केशवराज पिंडालीको छोरोलाई आफ्नो शेषपछि घर दिन चाहन्थे तर पिंडालीले अस्वीकार गरे । आफूलाई सधैँ अविवाहितको रूपमा प्रस्तुत गर्ने भिक्षुको प्रमुख कमजोरी महिला थियो भनिन्छ । आफ्नै सहयोगी सावित्रीसँग पनि भिक्षुको नाम जोडेर निकै चर्चा हुन्थ्यो तर भिक्षुले त्यसलाई पनि स्वीकारेनन् । महिलासँगका अनेकौँ हल्लाहरूका आधारमा पनि उनको रसिकपन प्रस्ट हुन्छ । नेपाली साहित्यमा ‘शारदा’ पत्रिकाको योगदान ऐतिहासिक छ भन्दा गलत नठहरिएला । ‘शारदा’मा अधीक रचना छपाउनेमध्ये भिक्षु पनि एक हुन् । ऋद्धिबहादुर मल्ल र सिद्धिचरण श्रेष्ठको सरसंगतमा रमाएका भिक्षुले वासु शशीहरूलाई प्रेरित र प्रोत्साहित गरिरहे । कपिलवस्तुको गुप्ता परिवारदेखि नेपाली भाषा साहित्यको उच्च व्यक्तित्वसम्मको संघर्षमय जीवनका हरेक पाइलामा भिक्षु आफ्नै बलले हिँडे । कसैले उठाउने प्रयत्न नगरेको बरु गिराउने कोसिस गरेको भिक्षुलाई अनुभव थियो, तर शक्ति र पदमा भएको बेला अरूलाई सताउन भिक्षु पनि पछि पर्दैनथे भन्नेहरू भेटिन्छन् ।
छायाँवादी कविका रूपमा प्रख्यात भवानी भिक्षुले नेपाली साहित्यमा नवीन चेत भित्र्याए । त्यो हो – आञ्चलिकता, जुन आफँैमा ऐतिहासिक छ । शरदचन्द्रलाई मूल आदर्श मान्ने भिक्षुका प्रिय लेखकहरू हुन् – प्रेमचन्द, जैनेन्द्र, रवीन्द्रनाथ टैगोर, टाल्सटाय, चेखोब, शेक्सपियर । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल आउँदा उपहार दिने राम्रा पुस्तक पाएनन् भिक्षुले र भानुभक्तको रामायणलगायत केही पुस्तक दिए । अनि उनी तातिए – प्रज्ञा प्रतिष्ठानबाट स्तरीय पुस्तक प्रकाशन गर्नतर्फ । भनिन्छ, बाह्र वर्षमा बगेको खोलो पनि फर्कन्छ, तर भिक्षु भाषा साहित्यको सेवामा रमाएर निरन्तर बाह्र वर्ष प्रज्ञा प्रतिष्ठानको सदस्य भए अनि आजीवन सदस्य ।
भिक्षुमा आफू देहाती भएको हीनताबोध मात्रै थिएन, केही गरेर देखाउँछु भन्ने उच्चताबोध पनि उत्तिकै बलियो थियो । विश्वका उत्कृष्ट कृति पढेर भिक्षु मनमनै भन्थे – ‘तिमीहरू मात्रै यस्तो लेख्ने ? म पनि लेख्न थाल्छु ।’ तत्सम शब्दको अधीक प्रयोगका कारण भिक्षुका कृतिलाई धेरैले क्लिष्ट भने , थोरैले प्रशंसा गरे । जतिले प्रशंसा गरे – मनैबाट गरे । प्रशंसक थोरै हुनुमा कारण धेरै होलान् यद्यपि खासमा उनका कृति नेपाली साहित्यमै अब्बलता प्रस्तुत गर्न सफल छन् । उनका कथालाई विश्वेश्वरप्रसाद कोइराला, गोठाले, सम, पुस्करशमशेरका कथाहरूसँग तुलनात्मक अध्ययन गर्न सकिन्छ – यौन मनोविश्लेषणात्मक दृष्टिले । तर, ईश्वर बरालका विचारमा उनलाई विश्वका श्रेष्ठ कथाकारहरूसँग दाँज्न सकिनेछ । स्वयं भिक्षु गर्वका साथ भन्थे – ‘मेरा निबन्धहरू भावी पिँढीका लागि एक महत्त्वपूर्ण शोधकार्यको विषय हुन सक्छन् ।’ राम्री स्त्रीको भक्त तथा प्रेम विशेषज्ञका रूपमा परिचित भिक्षुलाई रतिरागका कथाकारका रूपमा पनि लिइन्छ ।

प्रतिक्रिया