कृषि बजारीकरण गर्न पूर्वाधार निर्माण

म्याग्दी : जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणका लागि पूर्वाधार निर्माण गर्न थालिएको छ । अन्नबाली, तरकारी र फलफूल तथा पशुजन्य उत्पादनले बजार तथा उचित मूल्य पाउन नसकेपछि संकलन केन्द्र र हाटबजार सञ्चालन गरेर बजारीकरण गर्न थालिएको हो ।
म्याग्दीमा संकलन केन्द्रमार्फत सञ्जाल विस्तार गरी हाटबजारमार्फत कृषि उपज बजारीकरण गर्ने योजना कार्यान्वयन गर्न थालिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत वेदप्रकाश पौडेलले बताए । उनका अनुसार कृषि उपज बजारीकरणका लागि गत वर्षदेखि बाबियाचौरमा सञ्चालन भएको साप्ताहिक हाटबजारमा पूर्वाधार निर्माणका साथै कृषि उपज संकलन केन्द्रका लागि भवन निर्माण कार्य सुरु भएको छ ।
समुदायको २५ प्रतिशत जनसहभागिता रहने सो योजनाका लागि कार्यालयले १० लाख ५० हजार रुपियाँ लगानी गरेको छ ।     बाबियाचौरको हाटबजारमा टहरा निर्माण अन्तिम चरणमा पुगेको छ भने त्यहाँ यसै वर्ष कृषि उपज संकलन केन्द्र पनि निर्माण गरिनेछ ।
बेनीमा केही महिनाअघि सुरु भएको हाटबजार प्रभावकारी बन्दै गएकाले स्थानीय गाविस, उद्योग वाणिज्य संघलगायत संघसंस्था र निकायसँग समन्वय गरेर टहरा निर्माण गर्न पहल भइरहेको वरिष्ठ बागवानी विकास अधिकृत पौडेलले बताए ।
हाल प्रयोग गरिँदै आएको कृषि उपज बजारस्थल भवनको क्षमताले नभ्याएपछि आकासमुनि सञ्चालन हुँदै आएको बेनीको हाटबजारमा टहरा बनाएर व्यवस्थित बनाउन प्लान नेपालले दुई लाख उपलब्ध गराएको र बाँकी स्रोतको खोजी भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । यसका साथै घरमा पनि कृषि उपज संकलन केन्द्र निर्माण सुरु भएको छ । स्थानीय कृषकको नेतृत्वमा केन्द्र निर्माण गर्न कार्यालयले दुई लाख ५० हजार रुपियाँ अनुदान उपलब्ध गराएको छ ।
ग्रामीण क्षेत्रका कृषक व्यावसायिक रूपमा तरकारी तथा फलफूलखेतीमा संलग्न हुने क्रम बढेकाले बजारीकरणका लागि संकलन केन्द्रको अवधारणा ल्याइएको अधिकृत पौडेलले बताए । उनका अनुसार आगामी वर्ष जिल्लाका सबै भेगका कृषकलाई सुविधा पुग्ने गरी थप स्थानमा संकलन केन्द्र निर्माण गर्न १२ लाख रुपियाँ बजेट माग गरिएको छ ।

प्रतिक्रिया