चलचित्र पत्रकारलाई शुभताराको सहुलियत

nepal-film-journalistकाठमाडौं : शुभतारा हस्पिटल एन्ड रिसर्च सेन्टरले चलचित्र पत्रकार संघका सदस्यलाई उपचारमा सहुलियत दिने भएको छ । ललितपुरको महालक्ष्मी स्थानस्थित सो सेन्टरले बुधबार अस्पताल प्रांगणमा पत्रकार सम्मेलनको आयोजना सुविधाको जानकारी गराएको हो । अस्पतालका सूचना तथा संस्कृति विभाग प्रमुख तथा हास्यकलाकार किरण केसी र चलचित्र पत्रकार संघका अध्यक्ष एवं अस्पतालका सूचना तथा संस्कृति विभाग सदस्य विदुर गिरीको पहलमा अस्पतालले सुविधा उपलब्ध गराउन लागेको हो ।
कार्यक्रममा कलाकार किरण केसीले अस्पतालमा कलाकारको पनि लगानी भएकाले कलासम्बन्धी समाचार लेख्ने पत्रकारलाई यो सेवा दिन लागेको बताए । उनले भने, ‘पत्रकारलाई दिने यो सेवा अस्पतालको समाज सेवा हो ।’ अस्पतालका कार्यकारी निर्देशक मेनराज दुलालले पत्रकारसँग हातेमालो गरेर अघि बढ्न पाएकोमा खुसी व्यक्त गदै यसले आममानिसमा सकारात्मक सन्देश जाने बताए । त्यस्तै, डा. गोविन्द गौतमले विभिन्न क्षेत्रबाट आउने असहायलाई विशेष छुटका साथमा उपचार गराउने गरेको जानकारी दिए ।
चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले अस्पतालले चलचित्र पत्रकारलाई दिइएको सहुलियत सहुलियतको रूपमा मात्र संघले नलिएर सम्मानका रूपमा लिएको बताए । उनले चलचित्र पत्रकार संघले आफ्ना सदस्यबारे अस्पताललाई जानकारी गराउने र त्यसकै आधारमा सहुलियत कार्ड उपलब्ध गराउन अनुरोध गरे ।
अस्पतालका अध्यक्ष ऋषिराम घिमिरेले संघका सदस्यलाई सदस्यता कार्डका आधारमा आफ्नो अस्पातलको मात्र होइन, आफ्नो प्राकृतिक अस्पतालले पनि यो सहुतिलयत प्रदान गर्ने जानकारी गराए । उनले भने, ‘संघको सदस्य पत्रकारको आर्थिक अवस्था हेरी संघको सिफारिसका आधारमा नि:शुल्क सेवासमेत प्रदान गर्न सक्नेछौ ।’
अस्पतालले उपचारका विभिन्न सेवामा ८ देखि २० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ । कार्यक्रममा भैँसेपाटीमा सञ्चालन गर्न लागेको मेडिकल कलेजमा संघको सिफारिसमा संघको सदस्य पत्रकारका जेहेनदार छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गर्ने जानकारी दिइयो ।
कार्यक्रममा सहभागी पत्रकारले आफ्नो शरीर चेकअफसमेत गरेका थिए । (सौस)

प्रतिक्रिया