अपराजित नेपाल सेमिफाइनलमा युएइविरुद्ध भिड्ने

avinash-karnaकाठमाडौं, २६ वैशाख । घरेलु टोली मलेसियालाई बुधबार ७ विकेटले हराउँदै नेपाल जारी एसिसी यु–१९ एलिट कपमा अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’अन्तर्गत बहराइनलाई हराएपछि एक खेल खेल्न बाँकी रहँदै अन्तिम चारमा पुगेको चारपटकको विजेता तथा पछिल्लो संस्करणको उपविजेता नेपालले फाइनल प्रवेशका लागि शुक्रबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालसँग पराजित भएपछि उपविजेता बनेको मलेसियाले अर्को सेमिफाइनलमा साविक विजेता अफगानिस्तानको सामना गर्नेछ ।
नेपालको पछिल्लो जितमा फास्ट बलर अविनाश कर्णको सानदार प्रदर्शन कायम रह्यो । कर्णले ६ विकेट लिएपछि मलेसिया पहिलो ब्याटिङ गर्ने क्रममा ६९ रनमा समेटिएको थियो । नेपालले २४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । हरिशंकर शाहले नटआउट २८ रन जोडे । विभस्तु थापाले १७ र अमित श्रेष्ठले १० रन जोडे भने प्रारम्भिक ब्याट्सम्यान निश्चल पाण्डे सात रनमै पवेलियन फर्किए । यसअघि अविनाशको सानदार बलिङसामु मलेसिया पूर्णरूपमा निरीह बन्यो । अविनाशले आठ ओभर बलिङ गरी ३१ रन खर्चिएका थिए । बहराइनविरुद्ध ह्याट्रिकसहित आठ विकेट लिएका अविनाश कुल १९ विकेटसहित जारी प्रतियोगितामा सर्वाधिक विकेटकर्ता छन् । उनीभन्दा पछि रहेका कुबेतका अब्दुल जबरले १३ विकेट लिएका छन् । स्मरणीय छ, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको राष्ट्रिय कीर्तिमान २१ विकेटसहित राहुल कुमार विश्वकर्मा र वसन्त रेग्मीको नाममा रहेको छ । अविनाशले जारी प्रतियोगितामा कुल २९.४ ओभर बलिङ गरेर १०४ रन मात्र खर्चिएका छन् । नेपालसँग भिड्नुअघि अपराजित रहेको मलेसियाका दुई ब्याट्सम्यान मात्र  समूहको आफ्नो अन्तिम खेलमा दोहोरो अंक छुन सके । अविनाशका अतिरिक्त कप्तान कार्कीले पनि दुई विकेट लिए । यता अपराजित रहँदै अफगानिस्तान समूह ‘ए’को विजेता बनेको हो । अफगानिस्तानसँग पराजित भएको युएई उपविजेता बन्यो ।

प्रतिक्रिया