विकास र युवाशक्ति

nima_wangel_lamaविश्वका जुनसुकै मुलुकमा पनि युवाशक्तिलाई राष्ट्रको विकास र परिवर्तनको मेरुदण्डको रूपमा लिने गरिन्छ । तर, जसलाई राष्ट्रको मेरुदण्ड भनिन्छ तिनै युवाशक्तिलाई नेपालमा भने किन बेवास्ता गरिन्छ ? निरंकुश भनिने राजतन्त्र फाल्न होस् या जहानियाँ भनिने राणा शासन हटाउन नेपाली युवाहरूले महत्त्वपूर्ण भूमिका खेलेको कुरा इतिहास साक्षी छ । तर, हाल आएर जसलाई राष्ट्रको मेरुदण्ड भनिन्छ उनैलाई किन राज्यले बेवास्ता गरिरहेको छ ? यो बुझ्न सकिएको छैन ।
आज मुलुक दिनानुदिन दयनीय र दर्दनाक अवस्थाबाट गुज्रिरहेको र भित्रभित्रै जरजर भइरहेको छ । मुलुक हाँक्ने जिम्मेवारी लिएका राजनीतिक दलको नेतृत्वका कारण आज मुलुक अन्धकारमय अवस्थामा पुगेको मात्र छैन त्यसभित्र बसोबास गर्ने जनता अँध्यारोमा मैनबत्ती र टुकीको उज्यालोमुनि बस्न र बाँच्न बाध्य छन् । आज नेपालले ओगटेको आकाश आकाश जस्तो छैन । चारैतिर हुस्सु र कुहिरोले उज्यालोलाई ढाकिदिएर अन्धाकारै अन्धकार बनाइदिएको भान हुन्छ । धर्ती धर्तीजस्तो छैन मानवले भरिएको मानव बस्ती वेदनाले भरिएको अँध्यारोले ढाकिएको जस्तो छ । आखिर मुलुकलाई अन्धकारमय अवस्थामा पुर्‍याउने र जनतालाई अँध्यारोमुनि बस्न कसले बाध्य पार्‍यो ? यसको नैतिक जिम्मेवारी कसले लिने ? को हुन् दोषी ? यी र यस्ता थुप्रै प्रश्नहरूको थुप्रो बोकेर नेपाली जनता भौँतारिरहेका छन्, र राज्यलाई सोधिरहेका छन्–कर तिर्ने जनतालाई सरकारले दिनुपर्ने सुविधाहरू के–के हुन् ? सम्पूर्ण युवाहरूले यस्ता अनेक प्रश्नहरू राज्यसँग गरिरहेका छन् । यसको जवाफ राज्यले दिन सक्नुपर्छ । राज्यबाट उचित जवाफ नपाएकाले नै आम नेपाली कमाउ उमेरका युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ ।
देशको उन्नति र प्रगतिको मार्गमा युवाशक्तिलाई सक्रिय सहभागिता गर्नुपर्ने बेला युवाशक्तिलाई राजनीतिक अभीष्टलाई पूरा गर्नका लागि दलीय नेतृत्वले उपयोग गर्ने र आफ्नो स्वार्थ पूरा भइसकेपछि तिनै युवाहरूलाई उपेक्षा गर्ने र काम नदिएर निष्कृय पार्ने काम भइरहेको छ । २१ औँ शताब्दीमा विज्ञान र प्रविधिले धेरै फड्को मारिसकेको भए पनि नेपाली युवा भने अझै पनि मैनबत्ती र टुकीको अँध्यारोमुनि बसेर आफ्नो भविष्य खोज्न बाध्य छन् । २१ औँ शताब्दीको नेपाली युवामा पनि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ जोस भरपुर भएर पनि नभए जस्तो हुनु परेको छ । यदि नेपाली युवामा नयाँ उत्साह र ऊर्जा नभएको भए विदेशी भूमिमा गएर न्यूनतम मानवीय मूल्यमान्यताभन्दा पनि तल झरेर निश्चित परिश्रम गर्न सक्षम हुने थिएनन् । आज जसरी जलस्रोतको भण्डार भएर पनि नेपाल लोडसेडिङको डरलाग्दो चपेटा खेप्न बाध्य भएको छ, त्यसरी नै नेपाली युवा जनशक्ति आफूभित्र निहित ऊर्जा शक्तिलाई स्वदेशको विकासमा लगानी गर्नुभन्दा रोजीरोटीका लागि विदेशी भूमिलाई आफ्नो रगत, पसिनाले सिञ्चित मात्र गर्न बाध्य छैनन् परदेशको विकासका लागि योगदान दिन बाध्य छन् ।
राजनीति गर्ने दलका नेताहरूको जीवनस्तरमा निकै परिवर्तन आएको छ । तर, विडम्बना गरी खाने, हुँदा खाने गरिब सर्वसाधारण जनताको जीवनस्तर आज पनि ज्यूँका त्यूँ नै छ । आज पनि टुकीको सहारामा उज्यालो खोज्दै बस्नु परेको छ, टाउको दुख्न हराउने सिटामोल खानसमेत नपाएर मृत्युलाई अंगाल्न पुगेको छ भने आधिपेट खाएर भोकै बाँच्नु परेको छ । बुद्धले आफ्नो जीवनकालको अन्तिम अवस्थामा आफ्ना चेलाहरूलाई भेला पारेर भनेका थिए, ‘म असी वर्षको वृद्ध बुद्ध भइसकेको छु, जसरी पुरानो औजार कार्यशालामा मर्मत गरेर चलाइन्छ त्यसरी नै मैले आफ्नो शरीर मनोबलद्वारा मर्मत गरी चलाइरहेको छु ।’ त्यसैले तिमीहरू आफ्नो भर आफैँ पर, आफ्नो मालिक आफैँ बन, अरूको सहारा लिने विषयमा नसोच  । बुद्धको यो वाणीलाई नेपाली युवाहरूले आफ्नो आदर्श बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।
यदि मुलुक हाँक्ने जिम्मेवारी लिएका राजनीतिक दलको नेतृत्वले बुद्धले भनेको कुरालाई आत्मसाथ गरेर मुलुकको नेतृत्व गर्ने जिम्मेवारी युवाशक्तिको काँधमा सुम्पिदिएको भए आज मुलुक र नेपाली जनताको मुहार परिवर्तन हुने थियो कि ?
आम सर्वसाधारण नेपाली जनताको जीवनस्तरमा परिवर्तन आइदिएको भए पुरानो नेपालबाट साँच्चैको नयाँ नेपालका लागि ठूलो उपलब्धि हुने थियो । सबै नेपाली खुसीले गद्गद हुने थिए । आज ३६ लाखभन्दा बढी नेपाली युवाहरू विदेशी भूमिमा आफ्नो श्रम बेच्न बाध्य हुने थिएनन् । र, विदेशीको कठपुतली बन्नुपर्ने पनि थिएन ।
प्रकृतिले हाम्रो मुलुकलाई केचाहिँ दिएको छैन ? जलमा धनी, हिमालमा धनी । जलस्रोतमा विश्वै दोस्रो धनी मुलुक भएर पनि मुलुक अन्धकारमय अवस्थामा छ भने मुलुक भित्र बसोवास गर्ने जनता अँध्यारोमुनि बस्नु परिरहेको छ । सीप र क्षमता भएका युवाहरू विदेशिन बाध्य छन् । पढेलेखेका र जान्नेबुझ्ने युवाहरूलाई राज्यले किन लखेटिएको छ ?
राजनीतिक दलको नेतृत्वको अज्ञानताका कारण आज मुलुक दिनानुदिन दयनीय र दर्दनाक अवस्थामा पुगेको हो । मुलुकलाई यो अवस्थाबाट पार लगाउनका लागि अब समस्त युवा शक्ति एकजुट हुनु अपरिहार्य भएको छ । यदि राष्ट्रको परिवर्तनको मेरुदण्ड मान्ने हो भने युवाशक्तिलाई राज्यले महत्त्वकासाथ लिन आवश्यक छ । र, मुलुक हाँक्ने जिम्मेवारी युवाशक्तिको काँधमा सम्पिनुपर्ने देखिन्छ । युवाशक्ति मुलुको विकासका लागि गम्भीर हुनुपर्ने बेला आएको छ ।
भ्रष्टाचार, बेइमानी, हत्या, हिंसा र आतंकको भुँमरीबाट मुलुकलाई जोगाउनका लागि युवाशक्ति अगाडि बढ्नु अपरिहार्य छ । राणाशासन र राजतन्त्रको शासनकालमा बिपी कोइराला लोभ र लाभको ललिपपमा फसेको भए यो मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था आउने थिएन र नेपाली जनताले स्वतन्त्र भएर बाँच्न र बस्न पाउने थिएनन् । त्यति मात्र होइन जनताको छोरोले नेपालको राज्य सत्ताको कार्यकारी प्रमुख भएर नेतृत्व गर्न पाउने पनि थिएन ।
त्यस्तै यदि स्व. गिरिजाप्रसाद कोइराला ज्ञानेन्द्रको शासनकालमा चुपचाप बसेको र सशस्त्र द्वन्द्व गर्दै आएको एमाओवादीलाई राजनीतिक मूलधारमा नल्याएको भए मुलुकमा गणतन्त्र आउने थिएन । त्यसैले आजका युवाशक्ति राजनीतिक दलका नेतृत्वले दिएको लोभ र लाभको ललिपपमा भुलिरहने हो भने मुलुक र जनताको भविष्य त्यही टुकी र मैनबत्तीमुनि उज्यालो खोज्दै वर्षांै नबित्ला भन्न सकिन्न । राज्यको राजकीय शानशौकत प्राप्त गर्नु नै जीवनको सफलता ठान्ने वर्तमान राजनीतिक दलका नेतृत्वलाई पाठ सिकाउने बेला आएको छ ।
नेपालमा भएका सबै राजनीतिक दलका युवाशक्ति तथा अन्य युवाशक्तिहरू एकजुट भएर राष्ट्रको संकट समाधानका लागि एक ढिक्का हुनु अपरिहार्य छ । विश्व मानचित्रमा नेपाललाई शक्तिमान, समृद्धशाली, शान्तिक्षेत्र मुलुक बनाउने अभिभारा आएको छ । बर्सेनि सरकार बनाउने र भत्काउने खेललाई सदासदाका लागि बन्द गर्न युवाशक्ति अगाडि बढ्नु पर्छ । अरूलाई सुध्रिन अर्तीउपदेश दिनेले पहिला आफैँ सुध्रेर देखाउन सक्नुपर्छ ।  वर्तमान अवस्थामा युवाशक्तिले मुलुकको विकास र नेपाली जनताको जीवनस्तर परिवर्तन गरेर विश्वलाई पाठ सिकाउन सक्नुपर्छ ।
[email protected]

प्रतिक्रिया